Tuesday, September 19, 2017

संविधानको ‘प्यान्डोराज बक्स’

प्रकाशित मिति: 2015/12/06

मुलुक अहिले ठूलो सकसपूर्ण घडीबाट गुज्रिरहेको छ । संविधानसभामार्फत संविधान जारी हुनुको पूर्वसन्ध्याहबाट सुरु भएको आन्दोलन र अशान्तिले हालसम्म झण्डै चार दर्जनको ज्यान लिईसकेको छ, बेहिसाव कैयौँ घाईते भएका छन् । सय दिनभन्दा लामो समयदेखि मधेशमा जारी आन्दोलन हालसम्म थामिन सकेको छैन । दैनिकजसो तनाव जारी रहँदा आन्दोलनकारी र प्रहरीहरु मर्ने/मारिने क्रम अझै रोकिएको छैन् । नाकाबन्दीका कारण इन्धन, औषधीलगायतका अत्यावश्यकीय सामग्रीको अभाव÷कमीका कारण आमजनजिविका इतिहासकै सबैभन्दा बढी संकटमा फसेको छ । 
ग्रिक एउटा मिथक छ –‘प्यान्डोराज बक्स’ । उक्त मिथकमा यपिमिथिअस र प्रमिथिअस नाम गरेका दुई दाजुभाई छन् । प्रमिथिअसले एक दिन राज्यमा प्रतिवन्धित आगो कुनै धातुको काम गर्नेकोमा गएर चोरेर ल्याउँछ, जिअसको अनुमतीबिना ।  यसले देवताहरुको सबैभन्दा शक्तिशाली देवता जिअसलाई चिडिन्छन् । जिअसले  दुई दाजुभाईलाई कठोर सजाय दिने योजनाअनुरुप आगोलगायतका विभिन्न देउताको सहायताले माटोबाट एउटा सुन्दर युवती तयार गर्छ । र, ‘प्यान्डोरा’ नाम गरेकी ति युवती यपिमिथिअसलाई कोसेली पठाउँछ । जिअसले पठाएको उक्त कोसेली लिन प्रमिथिअस इन्कार गर्छ, तर युवती निकै सुन्दरी भएकाले कुनै खतरा नहुने, यस्तै विश्वासमा यपिमिथिअस विवाह गर्न राजी हुन्छ । 
जिअस आफ्नो जुक्तिले काम गर्नेमा मख्ख हुन्छ । ति युवतीलाई एउटा बाकस खेलौना (पासो) दिन्छ यपिमिथिअस बाहिर कतै गएको बेला अबोध र उत्सुक प्यान्डोराले उक्त खेलौनजस्तो बाकस खोल्छिन र केही नदेखेपछि बन्द गर्छिन । तर, बाकसभित्र त रोगव्याधि, भय, त्रास र दुःखमात्र थियो, बाकस खोल्नासाथ ति बाहिर निस्किए । सारा राज्यभरी दु ःख र त्रास व्यापक हुन्छ । यस्तो स्थिति यपिमिथिअसले देखेपछि बाकस खोलिन्छ र सबै दुः ख अन्त हुन्छ । राज्यमा पुनः साविककै अवस्थाको अमनचयन कायम हुन्छ । 
हाल नेपालको स्थिति उल्लेखित मिथकसँग धेरै हद्सम्म मिल्न जान्छ । खासमा लामो समयको प्रतिक्षापश्चात नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएका थियौँ, कसैको अनुमती र आदेशबिना । नेपालीले आफ्नो अपनत्व महसुस गर्ने संविधान जारी हुँदा यसले आफ्ना सवालहरु सम्बोधन नगरेको भन्दै विरोधका स्वरहरु मधेशी जनताहरुबाट भलै निस्किएका थिए, यो हाम्रो आन्तरिक समस्या थियो, नेपाल समाधान गर्न सक्षम थियो । तर, तिनै विरोधका माझ आफूलाई नटेरेको निहुँमा भारतले ‘धमिलो पानीमा माछा मार्न’ खोज्दा समस्या अतिरञ्जित भयो । जिअसकै शैलिमा भारत चिढिएर विभिन्न भूमिका खेलिरहेको अद्यापि छ । एउटा सार्वभौम मुलुकमाथि विभिन्न नाममा युद्वरत नाकाबन्दी लगाएर, जनतालाई उचालेर आन्दोलनका उभार सृजना गरेर तड्पाउने कुकृत्य गरिएको छ । 
तीनतिरबाट भारतबाट घेरिएको नेपाल भौगोलिक रुपमा जति ‘ट्रयाप’ मा परेको छ, आर्थिक रुपमा त्योभन्दा बढी थुनिएको छ । उसो त हाम्रा अधिकांश सामाजिक– सांस्कृतिक, आर्थिक, राजनीतिक परिपाटीहरु भारतसँग मिल्दा र कतिपय रुपमा ‘सेयर’ समेत हुन्छन् । भारत –नेपाल सम्बन्धलाई रोटीबेटीको साईनो रहेको कुरामा दुवै मुलुक जानकार छन् । आमजनताको तहमा पनि निकै सघन सम्बन्धले यी दुई देशबीचको सम्बन्धको विशिष्ट आयामहरु स्पस्ट पार्छन् । उत्तरी छिमेकी चीनसँगको नेपाली सम्बन्ध बरु त्यति घनिष्ट छैन् । हाम्रो भौगोलिक, सामाजिक –सांस्कृतिक, वर्ण, उसका आफ्नै राष्ट्रिय स्वभावलगायतका अनेकन् हिसावले पनि उससँगको सान्निध्य बलियो कायम हुन नसकेको परिपेक्ष्यमा दक्षिणी छिमेकीसँग नेपाली सम्बन्ध पारिवारीक देखिन्छ । 
तर, भारतसँगको पारिवारीक सम्बन्ध एक ऐतिहासिक परिस्थितिमा आएर सर्वाधिक धुमिल भएको छ । दशकौँदेखिको सपनाको फलको रुपमा नेपालमा संविधान जारी हुनु हाम्रो राष्ट्रिय जिवनका लागि कम महत्व राख्ने कुरा थिएन । नेपालको राजनीतिक जिवनबारे लामो समयदेखि जानकार र कतिपय रुपमा परिवर्तनलाई समर्थन मात्र होईन प्रत्यक्ष÷परोक्ष सहयोग गरेको एक लोकतान्कि मुलुक भारतले सानो छिमेकी मुलुकको खुसीमा भिज्न नचाहनु बरु उल्टै अनेक बहानामा खेल्न खोज्नु ताजुवलाग्दो छ । 
नेपाल इतिहासकै एक संगिन क्षणमा उभिएको बखत भारतले ‘नुनचुक छर्कन खोज्नु’ ले हालसम्मको द्विदेशिय सम्बन्धका पाटाहरुको गम्भिर सिंहावलोकनको माग गर्छ । अधिकांशतः ऐतिहासिक राजनीतिक परिवर्तनको सारथी भए पनि भारतीय अभिष्ट ‘मन नपरेको’ सत्तालाई च्यूत गराएर आफ्नो बस अनुसार चल्ने कठपुतली कायम गर्ने भएको पनि कुनै नौलो कुरा होईन । जे भए पनि यसअघि समान तहमा ठूलो रुपमा अन्तर्घात भएको थिएन । यसपटकको उसको व्यवहारले हालसम्मकै सौहार्द सम्बन्धलाई रसातलमा पु¥याएको छ । 
यसअघि भारतीय हस्तक्षेपका विरुद्व कैयौँ पटक राजनीतिक, सामाजिक, कुटनीतिक तथा आमजनताको तहमा आवाजहरु उठेका पनि छन् । राजनीतिक तहमा नेपाल भारतको अर्धऔपनिवेशिक, औपनिवेशीक मुलुक भएको अझै कतिपयले भन्दै आएका छन् । जे भए पनि कुनै मुलुक भुपरिवेश्ठित हुनु भनेको आफैँमा पूर्ण सक्षम हुन सक्दैन् । यहि अर्थमा नेपाल पूर्ण स्वावलम्बी हुन सक्दैन्, कम्तीमा आर्थिक रुपमा । यति भन्दैमा भूपरिवेश्ठित राष्ट्रका पनि अधिकारहरु हुन्छन्, उसले छिमेकी मुलुकबाट पारवहनलगायतका सुविधा प्राप्त गर्न पाउनुपर्छ । यो खालि द्विदेशिय भावनात्मक सम्बन्धमात्र नभएर अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुन पनि हो । 
तर, यहि भूपरिवेश्टित र कमजोरीपनको फाईदामा भारतले लामो समयदेखि खेल्दै आएको छ । वैदेशिक सहायता, व्यापरिक आदानप्रदानको विषयको पृष्ठभूमिमा नेपालमाथि उसले कुदृष्टि लगाएको छ । 
भारत नेपालको आन्तरिक मामिलामा ‘बिग ब्रदर’ को रुपमा उपस्थित भएको छ, घटनाक्रम यस्तै देखिन्छन् । 
यद्यपी, यसबीचमा हामीले आफ्नो कमजोरी किमार्थ विर्सनु हुँदैन । भारतीय हस्तक्षेपको निम्ता त हामी स्वयंले पनि दिएका छौँ । खासगरी राज्य र राजनीतिक तह यसमा बढी जिम्मेवार छ । सत्ता स्वार्थका लागि भारतीय आर्शिवाद लिन किञ्चित पछि नहट्ने राजनीतिक नेतृत्व र राज्यलाई आत्मनिर्भर बनाउनुको साटो भएका स्रोत÷साधन सुम्पन तयार रहने राज्य र राज्यसम्यन्त्र यसको मूल कारण हो । एक्काईसौँ शताव्दीको युगमा घरघरमा ग्याँसको प्रवन्ध मिलाउनुपर्ने सरकार दाउरा बाँडि हिँडेको छ, जनता हजार काम छोडेर आधा शिलिन्डर ग्याँस र त्यो पनि नपाएपछि दाउराको लाईनमा बस्न बाध्य छन् । यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ ? दुई महिना अर्कोको सहाराबिना बाँच्न नसक्ने नेपालीले आफैँतिर फर्केर कहिले हेर्ने हो ! भारतले नाकाबन्दी गरे लालटीन बाल्ने,साईकल चढेर हिँडने जस्ता राष्ट्रियताको डिङ हाँक्नेले खै आत्मनिर्भरतातिर लान सकेको मुलुकलाई ?
खासमा हालको नेपालमा देखिएको सम्पूर्ण संकटको कारणसँग हाम्रो परनिर्भरता र भारतको बलमिच्याइँ अन्तरघुलित छन् । 
नेपालमा संविधान जारी हुनु र जससँग भारतीय स्वार्थ टकराउनु एउटा संयोगपूर्ण तर अवश्यंभावी परिणती हो । किनकी यसका धेरै लामा श्रखलाहरु छन् । भारतको दृष्टिमा नेपालले संविधान जारी गरेर एउटा ठूलो गल्ती ग¥यो, जसरी प्रमिथसले जिअसको अनुमतीबेगर कुनै धातुमजदुरकोमा गएर आगो ल्यायो । र, नेपालले भोगेको परिणतीलाई जिअसले कुनै कठपुतली पठाएर यपिमिथिअसलाई फसाएर दुःख दिए जसरी दुः ख दिएको छ । यसको हामी समाधान पनि हामी सबै मिलेर गर्नुपर्छ । उल्लेखित मिथकको जसरी सुखद अन्त्य भएको छ, यस्तै सम्भाव्यता नेपालमा पनि नभएको होईन खालि सरकार, राजनीतिक दल र आमजनताले पनि दीर्घकालिन चिन्तनकोमात्र खाँचो छ । 
अब क्रन्दन गरेरमात्र बस्ने बेला होईन । एउटा निकास मुलुकलाई तत्कालै चाहिएको छ । उर्लँदो भेलले निकास नपाउँदा जस्तो परिणती हुन्छ । यदि समस्याको समयमै ‘सेफ ल्यान्डिङ’ गर्न सकिएन भने यो संकटले आगामी दिनमा ठूलो खतराको संकेत गरेको छ । 

 

तपाईंको बिचार