Saturday, November 18, 2017

पूरा होलान सीईओ जोशीका महत्वकांक्षी योजना ?

प्रकाशित मिति: 2015/12/23

सुवास भट्ट/पौष ८।

नेतृत्वबिहीनताको लामो संक्रमण झेलेको नेपाल पर्यटन बोर्डले भर्खरै नयाँ सीईओ पाएको छ । ठूलो रस्साकस्सीकाबीच चार वर्षपछि गत बिहीबार बोर्डले दीपकराज जोशीलाई सीईओमा छनोट गर्‍यो । सीईओ पाएलगत्तै बोर्डले अब नयाँ दिशा लिने अपेक्षा गरिएको छ । 
सार्वजनिक –निजी साझेदारीको एक उत्कृष्ठ नमूना मानिएको र मुलुकको पर्यटन प्रवद्र्वनको एक हिस्सेदारी निकायको रुपमा लिईएको बोर्डमा नयाँ सीईओको नियुक्तीसँगै पर्यटनमा नौलो उत्साह छाएको छ । विनासकारी भूकम्प तथा पछिल्लो समयको लामो नाकाबन्दीले थिल्थिलो बनाएको क्षणमा बोर्डले नयाँ नेतृत्व पाउनुलाई ‘कालो बादलमा चाँदीको घेरा’ को रुपमासमेत अथ्याईएको छ । 
जोशी आगामी चार वर्षका लागि बोर्डको पर्यटन बोर्डको सीईओमा नियुक्त भएका छन् । 
बाणिज्यशाष्त्र र समाजशाष्त्रमा स्नातकोत्तर तथा लामो प्रशासनिक अनुभव संगालिईसकेका जोशी एक सक्षम व्यक्तित्व हुन् । पर्यटन बोर्डमै रहेर डेढ दशक लामो समय व्यतित गरिसकेका छन्, उनले । भलै उनको मूल्याङ्कन आगामी दिनमा उनी स्वयंले गर्ने कार्यकलापहरुका आधारमा होला, तर हालसम्मको उनको व्यक्तिगत उचाई हेर्दा ‘राइट म्यान इन द राइट प्लेस’ अर्थात सही स्थानमा सही मान्छे अर्थात पर्यटन बोर्डको सीईओमा जोशी नियुक्त भएका छन् । 
मध्यपश्चिमको बर्दियाबाट राजधानी छिरेको दुई दशकमै उनी पर्यटन बोर्डको सीईओ बन्न सफल भए । व्यक्तिगत रुपमा महत्वकांक्षीझैँ लाग्ने जोशीको सीईओ बन्ने अभिलाषा थियो या थिएन, त्यो उनी आफैँले जान्ने कुरा हो, तर उनी सीईओ नियुक्त भईसकेका छन् । सीईओ नियुक्त भएलगत्तै उनले निकै महत्वकांक्षी योजना सार्वजनिक गरीसकेका छन् । 
आफ्नो चारवर्षे कार्यकाललाई ‘फोर टार्गेट, फोर अचिभमेन्ट फोर अप्रोच’ मा विभाजन गर्दै चार वर्षमा कम्तिमा १५ लाख पर्यटक भित्र्याउने जोशीको महत्वकांक्षी योजना छ । हाल पर्यटन क्षेत्रबाट पाँच लाखले प्रत्यक्ष रोजगारी पाइरहेकोमा चारै वर्षमा सो संख्यालाई बढाएर आठ लाख पुर्‍याउने पनि उनको लक्ष्य छ । राम्रो गन्तव्यको छवि भएको नेपाललाई ८/१० प्वाईन्ट माथि उकास्ने र देशको सिंगो राजश्वमा कम्तिमा २० प्रतिशतले बृद्धि गराउनेलगायतका योजनाहरु उनीसँग छन् । 
सन् २०१४ मा आठ लाख पर्यटक भित्र्याउन सफल भएको नेपालको यो पर्यटक आगमन संख्या हालसम्मकै उच्च हो । जोशीकै अनुसार विनासकारी भूकम्प तथा नाकाबन्दीका कारण आधाभन्दा बढी प्रतिशतले खुम्चिएर त्यो संख्या अहिले झण्डै तीन/साढे तीन लाखको हाराहारीमा पुगेको छ । 
आगामी चार वर्षमा यो आँकडालाई झण्डै पाँचगुना बढोत्तरी गर्न कत्तिको सम्भव देखिन्छ ? 
भूकम्प तथा नाकाबन्दीका कारण स्वात्तै घटेको पर्यटक आगमन चारवर्षे छोटो अवधिमा नै ‘डबल डिजीट’मा पुर्‍याउने कुरा अलि काल्पनिक हुन, कम्तीमा नेपालको सन्दर्भमा । यसको मतलब कुराहरुको आलोचना गर्न खोजिएको पटक्कै होईन । करोडौँ पर्यटक भित्र्याउन सकिने हदमा हामीसँग भएका अथाह सम्भावनालाई वेवास्ता गर्न खोजिएको पनि होईन । तर, सामान्य अवस्थामा पनि लाजमर्दो स्थितिमा रहेको पर्यटक आगमन आगामी केही वर्षमै कुन ‘जादुको छडी’ ले पातालको आकाश पुर्‍याउन सकिन्छ ?
‘इन्डस्ट्री एण्ड मिनिस्ट्री’सँग तथा एनआरएनलगायतका सम्बद्ध निकायहरुसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई थप दीर्घकालिन रुपमा प्रभावकारी ढंगले अघि बढाउने उनको योजना आकर्षक हुन्, यसमा शंकै छैन् । नेपालको स्थापित संस्कृति र नियम, कानुनले त्यो हदसम्म कायाकल्प गर्न कति समय लाग्ने हुन्, यो हेक्का राख्नुपर्ने सन्दर्भ हो । पहिलो त बोर्डभित्रकै धमिलो सङ्गल्याउन पनि नवनियुक्त सीईओलाई कति समय लाग्ने हो ! 
तसर्थ नवनियुक्त सीईओलाई अहिले निकै गह्रौँ पल्लाभारीले थिचेको छ । यद्यपी, उनले भनेकै छन्, ‘यसलाई मैले उपलब्धि भन्दा पनि ठूलो जिम्मेवारी र चुनौतीको रुपमा लिएकोे छु ।’ ‘व्यक्तिगत लोप लालच र बृद्धिविकासको सम्झौता केही पनि नहेरिकन पर्यटनलाई राष्ट्रको पहिलो प्राथमिकतामा पार्नको लागि हरकोशिस गर्नेछु ।’ सीईओ दीपकराज जोशीलाई शुभकामना !

तपाईंको बिचार