Tuesday, September 19, 2017

TIMS को उद्देश्य आर्थिक पक्ष तथा कार्यविधि

प्रकाशित मिति: 2016/03/06
अन्जन थापा (कुमार) -युवा पर्यटन व्यवसायी, (पूर्व कोषाध्यक्ष, टान)
अन्जन थापा (कुमार) -युवा पर्यटन व्यवसायी, (पूर्व कोषाध्यक्ष, टान)

Trekking information management system (TIMS)  लाई ‘टिम्स’ कार्ड भनिन्छ । निलो रंगको टिम्स गाईड वा पोर्टर (Group) प्रयोग गर्ने पर्यटकहरुका लागि यो कार्ड प्रयोग गरिन्छ भने हरियो रंगको टिम्स आफै ट्रेकिङ जाने (FIT) अथवा गाईड वा पोर्टर विना ट्रेकिङ जाने पर्यटकहरुले प्रयोग गर्ने व्यवस्था रहेको छ । नेपालमा आएका पर्यटक मध्ये कुन–कुन देशका नागरिक कति संख्यामा कुन–कुन रुटमा ट्रेकिङ गए, कुन पद यात्रा क्षेत्रमा पर्यटक कति संख्यामा ट्रेकिङ जान्छन् तथा पर्यटक कहाँबाट प्रवेश गरी कहाँबाट बारिहिन्छन् । दिन गन्ति हिसाबले पर्यटक कुन ठाउँमा हिडिरहेका छन् भन्ने अनुमान लगाउन, कुनै प्राकृतिक प्रकोप वा आपत–विपत परेका बेला पर्यटकको खोज तथा उद्वार गर्न सजिलो होस भन्ने हेतुले अग्रज पर्यटन व्यवसायीहरुको पहलमा ‘टिम्सकार्ड’ टानबाट लागु हुने गरी प्रयोगमा आएको थियो ।

टिम्सबाट उठ्ने रकम मुल्य अभिवृद्धि करसहित FIT बाट प्रति पर्यटक रु. २ हजार र ग्रुपबाट प्रति पर्यटक रु. १ हजार तथा सार्क मुलकबाट आउने पर्यटकहरुको हकमा ग्रुपबाट प्रति पर्यटक रु. ३ सय तथा FIT रु. ६ सय, पर्यटन बोर्ड र टानले संयुक्त रुपमा अवधारणा पत्र बनाई उठेको रकमबाट ३३.३३% नेपाल पर्यटन बोर्डलाई होलोग्राम र छपाई बापत नेपाल पर्यटन बोर्डले खर्च गर्न पाउने प्रावधान रहेको छ । तथापी होलोग्राम र छपाई गर्ने बेला टानको प्रतिनिधि सहभागिता हुँदैन जसले गर्दा कति प्रति छापिन्छ भन्ने टानलाई नै जानकारी छैन् । ‘टिम्स’बाट उठेको अर्को ३३.३३% टानलाई ‘टिम्स’ काउन्टरको भाडा तिर्न, कर्मचारीको तलब, ‘टिम्स’ चेक पोष्ट व्यवस्थापन तथा पर्यटकसँग जाने गाईड अथवा सहयोगीको उद्धार, औषधी उपचार तथा मृत्यु भएमा उनिहरुको परिवारलाई टानले निश्चित रकम उपलब्ध गराउने सम्झौता भएको छ । साथै पद यात्रा क्षेत्रको निर्माण, नयाँ गन्तव्यको पहिचान, त्यसको प्रवद्र्धन र विकास गर्ने सुन्दर पक्ष समेटिएको छ । बाँकी ३३.३३% टान र पर्यटन बोर्डको सामुहिक खातामा राखिएको छ । जुन रकम टानको सिफारिसमा विभिन्न शिर्षकहरुमा जस्तै गन्तव्य पहिचान, बजारिकरण अन्य पर्यटनसँग सम्बन्धित गतिविधिहरुमा खर्च गर्ने उल्लेख रहेको छ ।

वार्षिक रुपमा करिब १ लाख ५० हजारदेखि २ लाख पर्यटकहरुले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पद यात्रा गरेको ‘टिम्स’को तथ्याङकमा उल्लेख छ । त्यसबाट करिब २२ करोडदेखि ३० करोड रुपैयाँ वार्षिक उठ्ने गरेको छ । जसबाट उठ्ने रकम रकमान्तरण गरी ३३.३३% बोर्डले आफै खर्च गर्ने, ३३.३३% टानलाई पहिले नै अग्रीम रुपमा भुक्तानीको समयमा कट्टा गरी टिम्स दिने र ३३.३३% संयुक्त खातामा रहेको टान र पर्यटन बोर्डको सहमतिमा खर्च गर्ने प्रावधान थियो । कतिपय विषयमा पर्यटन बोर्ड टानको सामाज्यतामा कमि तथा आर्थिक रुपमा अनावश्यक विवादमा अल्झिएको भान भएको छ । आर्थिक पारदर्शिता तथा पर्यटनसँग सम्बन्धित शिर्षक बाहिर गरिएका अनावश्यक खर्च छन् भने त्यसलाई तुरुन्त छानविन गरी दोषीलाई कारवाहि तथा सत्य तथ्य वाहिर आउनु पर्छ । आर्थिक अनिमियततामा मुछिएको पर्यटन बोर्ड र खर्चको शिर्षक तथा बेरुजु रहेको भन्नमा सुनिएकोले टान आर्थिक रुपमा पारदर्शी हुन जरुरी छ । पर्यटन बोर्ड र टानको अनावश्यक किचलोले गर्दा हुदहुद आँधी तथा अन्य क्षेत्रमा पद यात्रा गर्दा मृत्यु भएका तथा औषधी उपचार गरिरहेका मजदुरले पाउने रकममा अनावश्यक ढिलाई तथा झमेला भएको मृतकका परिवारलाई रतिभर सैह्य हुँदैन । टिम्स अन्र्तगत कार्यरत कर्मचारीको तलब भत्ता सयममा दिन नसक्नु पनि लाचारीपनको पराकाष्ठा हुन्छ । त्यसैले पर्यटन बोर्ड र टानले तत्काल व्यवधान फुकाई अनावश्यक झमेलाबाट मुक्त हुनुपर्छ ।

बैशाख १२ मा गएको भूकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पन तथा अघोषीत भारतिय नाकाबन्दीले पर्यटन क्षेत्र शिथिल बनेको छ । यसबाट सबैभन्दा पीडित पर्यटन व्यवसायी र त्यससँग सम्बन्धित पेशाकर्मि र आश्रित परिवारलाई बढि पिडा महशुस भएको छ । ट्रेकिङ एजेन्सिज मार्फत पर्यटकबाट उठाउने टिम्सको रकम व्यवसायीहरुको हकहितमा खर्च भएको पाईदैन । पर्यटन प्रबद्र्धन र विकास गर्न त्यो रकम प्रत्यक्ष व्यवसायीले महशुस गर्ने गरी खर्च गर्नु पर्ने आजको आवश्यकता छ । भएको खर्चको पारदर्शीता टान र पर्यटन बोर्ड दुबैले गर्नु पर्दछ । बेरुजु फच्र्याैट तथा विभिन्न शिर्षक बाहिर खर्च भएको भए त्यसको छानबिन अगाडी बढाउन रत्तिभर विलम्ब गर्नु हुँदैन । नत्र भने अनावश्यक रुपमा पदयात्रा व्यवसायी, टिम्ससँग सम्बन्धित कर्मचारीको तलब भत्ता समेत रोक्का हुने गरी टिम्स कार्डनै उपलब्ध नहुने वातावरण सिर्जना हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यसको गरिमा र कार्यशैलीमा नकारात्मक सन्देश जान्छ । त्यसैले पर्यटन बोर्ड र टानले गहन छलफल गरी समस्याको समाधान गर्न लागि परोस अन्यथा व्यवसायी, मजदुर र तिनका परिवारले टुलुटुलु हेरेर बस्ने छैनन् ।

तपाईंको बिचार