Wednesday, August 23, 2017

कसरि गरिन्छ कृत्रिम गर्भधान ?

प्रकाशित मिति: 2016/03/18

चैत्र ५, काठमाडौं । वकसित देशहरूमै पनि कृत्रिम गर्भाधान प्रविधिको सफलता दर ३० देखि ४० प्रतिशतसम्म मात्र भएकोले हाम्रो जस्तो मुलुकका धेरैजसो निःसन्तान दम्पतीले सम्भावित असफलताबाट हच्केर यसको प्रयोग नगरेको बुझिन्छ।

कृत्रिम गर्भाधानका विभिन्न उपायमध्ये टेष्टट्युब बेबी एक हो। त्यसो त, ‘टेष्टट्युब बेबी’ शब्दावली आफैंमा गलत छ, कृत्रिम गर्भाधानको यो जटिल प्रविधि प्रयोग ठ्याक्कै टेष्टट्युबमा नगरिने भएकोले। तर, शब्दावली भन्दा यो प्रविधिबाट हुने सन्तानलाभ र त्यसबाट मिल्ने सुखानुभूति महत्वपूर्ण छ।

यो प्रविधिबाट सर्वप्रथम २५ जुलाई १९७८ मा बेलायतमा लुइस जोए ब्राउनको जन्म भएको थियो। गाइनेकोलोजिस्ट प्याट्रिक स्टेपटोई र फिजियोलोजिस्ट डा. रोबर्ट एडवार्डस्को संयुक्त प्रयासबाट यो चमत्कार सम्भव भएको हो।

हाम्रै काठमाडौंमा पनि यो प्रविधि आइपुगेको डेढ दशक हुन लाग्यो, तर नेपालका निःसन्तान दम्पतीहरूले यसबाट उठाउन सक्ने जति फाइदा उठाएका छैनन्, एक त पर्याप्त सूचनारजानकारीको अभाव र अर्को आर्थिक कारणले। यो प्रविधिबाट सन्तानलाभ गर्न एक पटकमा डेढदेखि साढे दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। त्यो लगानी खेर जाने सम्भावना भने ६० प्रतिशतसम्म हुन्छ।

पटक पटकको स्त्री जननेन्द्रिय संक्रमण, कतिपय परिवार नियोजनका साधनको प्रयोग, पाठेघर बाहिर नलीमा गर्भ रहँदा शल्यक्रिया गरिएको, इन्डोमेट्रिओसिसको प्रभाव (महीनावारीको रगत तल्लो पेटमा जम्ने समस्या), जन्मजात खराबीले महिलाको दुवैतिरको डिम्बवाहिनी नली बन्द भएको अवस्थामा सन्तान प्राप्तिका लागि टेष्टट्युब बेबी प्रविधि अपनाइन्छ।

त्यसबाहेक पुरुषको वीर्यमा शुक्रकीटको संख्या निकै कम भए, कृत्रिम गर्भाधानका अन्य उपायहरू असफल भए, पति–पत्नी दुवैमा स्वस्थ शुक्रकीट र डिम्ब बाँकी नरहेको अवस्थामा पनि यो प्रविधि उपयोगी हुन्छ। पति (पुरुष) को वीर्यमा एउटै पनि शुक्रकीट छैन भने दम्पतीबीचको आपसी सल्लाहमा अर्कै पुरुषको शुक्रकीटले पनि पत्नी (महिला) को डिम्ब निषेचित गराउन सकिन्छ।

टेष्टट्युब बेबी प्रविधिका लागि दम्पती दुवैको शारीरिक जाँचको अलावा ल्याब टेष्टहरू गर्नुपर्ने हुन्छ। सबै कुरा ठीक छ भने महिलाले मासिक स्राव भएको २१औं दिनबाट हर्मोन उत्पादन हुने प्रक्रिया निष्त्र्किय पार्न सुई लिनुपर्छ।

त्यसपछिको महीनावारीमा हर्मोनको आधारभूत जाँच एवं अल्ट्रासाउण्ड गरिन्छ। अर्को महीनावारीको पहिलो दिनबाट नियन्त्रित तवरले आवश्यक हर्मोन उत्पादन हुने गरी तथा डिम्बाशयबाट धेरै अण्डा उत्पादन हुने गरी दैनिक औषधि दिइन्छ।

उपयुक्त आकार र संख्यामा डिम्ब उत्पादन भएपछि महिलालाई एनेस्थेसिया दिएर विशेष तरीकाबाट अल्ट्रासाउण्डको सहयोगमा डिम्ब निकालिन्छ।

डिम्ब निकालिएकै समयमा पति (पुरुष) बाट पनि वीर्य संकलन गरेर विशेष तरीकाबाट प्रशोधित गरिन्छ। त्यसपछि उपयुक्त वातावरणमा डिम्ब र प्रशोधित शुक्रकीट निषेचनका लागि ल्याबमा राखिन्छ।

यसरी प्राकृतिक तवरले निषेचनका लागि ल्याबमा राख्दा टेष्टट्युबमा नभई फराकिलो गोलो डिस्क उपकरणमा राखिन्छ। त्यसरी राखिएको डिम्ब शुक्रकीटबाट निषेचित भयो, भएन भनेर ४८ घण्टापछि जाँच गरिन्छ। र, निषेचित भएको डिम्बलाई क्याथेटर (विशेषखालको पाइप) बाट महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ।

पति (पुरुष पार्टनर) को वीर्यमा पर्याप्त शुक्रकीट छ भने प्राकृतिक तवरले डिम्बसँग निषेचित हुन ल्याबमा छोडिन्छ। शुक्रकीट संख्या न्यून छ भने विशेष प्रकारको सूक्ष्मदर्शक यन्त्रको सहायताले एउटा शुक्रकीटलाई विशेष खालको सुईमा राखेर महिलाबाट संकलित एउटा डिम्बमा प्रत्यारोपित गरिन्छ।

यस विधिमा एउटा डिम्बमा एउटा शुक्रकीट छिराएर आवश्यक संख्या वृद्धि भएपछि त्यसको विकासका लागि उपयुक्त वातावरणमा ल्याबमा राखिन्छ। यो प्रक्रियालाई मेडिकल भाषामा इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्शन (इक्सी) भनिन्छ।

निषेचित डिम्बलाई पाठेघरले ग्रहण गर्छ वा गर्दैन भन्ने कुरामा गर्भको सफलता वा असफलता निर्भर हुन्छ। पाठेघरले निषेचित डिम्ब ग्रहण गर्ने वा नगर्ने कुरा मानिस अर्थात् चिकित्सकको नियन्त्रणमा नहुने भएकाले कृत्रिम गर्भाधानको यो जटिल प्रविधिको सफलता ३० प्रतिशतदेखि ४० प्रतिशत भन्दा माथि पुग्न सकेको छैन।

मेडिकल भाषामा ईन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) पनि भनिने यो प्रविधि सफल भएको अवस्थामा जुम्ल्याहा वा त्योभन्दा बढी बच्चा बन्ने सम्भावना पनि हुन्छ। त्यसरी जन्मेको र प्राकृतिक रूपमा जन्मेको बच्चामा केही फरक हुँदैन। भविष्यमा देखा पर्ने वा नपर्ने स्वास्थ्य समस्या पनि दुवैको समान हुन्छ।

 

तपाईंको बिचार