Monday, May 1, 2017  |    

किन गरिन्छ विमान अपहरण ?

प्रकाशित मिति: 2016/04/03

चैत्र २१,काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उडानसेवा सहज रूपमा उपलब्ध हुन थालेको धेरै समय बित्न नपाउँदै विमान अपहरणका घटनाहरु हुन थालेक थिए । तर, त्यतिबेला विमान अपहरणकारीहरूले राजनीतिकभन्दा पनि व्यक्तिगत आकांक्षा पूर्तिका लागि हाइज्याक गर्ने गर्थे । कहिलेकाहीँ आपराधिक मनोवृत्तिको वशमा परेर हाइज्याक गर्ने पनि भेटिन्थे । राजनीतिक ध्येयबाट प्रेरित भएर हाइज्याक हुने गरेको भने हम्मेसि भेटिँदैनथ्यो ।

उदाहरणका रूपमा सन् १९५३ मा चेकोस्लोभाकियाको एउटा विमान हाइज्याक भएको घटनालाई लिन सकिन्छ । चेकोस्लोभाकियाको एउटा व्यावसायिक एयरलाइन्सका पाइलट मिरा स्लोभाकले उडाइरहेको २५ यात्रुसवार डीसी–३ विमानलाई मोडेर फ्य्रांकफर्ट पु¥याएका थिए । चेकोस्लोभाकियाको कम्युनिस्ट सत्ताको पञ्जाबाट मुक्त हुन उनी विमान हाइज्याक गरी फ्य्रांकफट पु¥याएर त्यहाँको सरकारसमक्ष शरणागत भएका थिए । उनको साहसी कदमबाट प्रेरित भएर सन् १९६० र ७० को दशकमा दर्जनौँ ठाउँमा प्लेन हाइज्याक भए । अमेरिकाबाट प्लेन हाइज्याक गरी क्युबा पु¥याएर त्यहाँ शरण लिनेहरू पनि थुप्रै थिए ।

०००

विमान अपहरणलाई अपराधीहरूले कानुनको पञ्जाबाट उम्किने मौकाका रूपमा प्रयोग गर्ने क्रम पछि सुरु भयो । आपराधिक ध्येयबाट विमान अपहरण गर्नेहरूले विमान र यसमा सवार प्यासेन्जरलाई देखाएर फिरौतीका निम्ति मोलमोलाइ गर्ने क्रम सुरु भयो ।

आपराधिक ध्येयबाट विमान अपहरण गरिएको एउटा चर्चित घटना सन् १९७१ मा भएको थियो । डिसी कोपर नाम गरेका एक व्यक्तिले अमेरिकी शहर पोर्टल्यान्डबाट एउटा विमान हाइज्याक गरेका थिए । हाइज्याकमा परेको विमानलाई उनले अमेरिकी शहर सियाटलमा जबर्जस्ती अवतरण गराए । विमानमा सवार यात्रुहरूलाई रिहा गरिदिने शर्तमा उनले राज्यसँग फिरौतीस्वरूप दुई लाख अमेरिकी डलर र एउटा प्यारासुट मागे । यात्रु र फिरौतीको हेराफेरी भइसकेपछि उनले पाइलटलाई विमान उडाउन लगाए । विमान माथि आकाशमा पुगेपछि फिरौतीस्वरूप प्राप्त भएको पैसा लादिएको ब्याग बोकेर प्यारासुटको सहयोगमा फाल हाने । त्यसपछि उनी कहाँ पुगे भन्ने आजसम्म पत्तो लागेको छैन ।

०००

सन् १९७० को दशकको मध्यतिर अमेरिकामा मात्रै कम्तीमा १ सय ५० वटा विमान हाइज्याक भएका थिए । त्यसपछि मध्यपूर्वका चरमपन्थीहरू विमान हाइज्याकतर्फ आकर्षित हुन थाले । आफूहरूले उठाएका सवालप्रति संसारको ध्यान खिच्न उनीहरूले प्लेन हाइज्याकलाई माध्यम बनाउन थाले ।

सन् १९६८ मा केही अपरहणकारीले इटालीको राजधानी रोमबाट इजरायलको राजधानी तेल अविवर्फ उडेको एउटा विमान हाइज्याक गरे । सो विमानलाई उनीहरूले अल्जेरियाको राजधानी अल्जियर्समा जबर्जस्ती अवतरण गर्न लगाए । विमानमा सवार २२ जनालाई अपहरणकारीले बन्दी बनाए । एक महिनाभन्दा बढी समयपछि अपहरणकारीले अन्तिम १२ जना बन्दीलाई रिहा गरे । बन्दी रिहा हुने वातावरण सिर्जना गर्न अन्तर्रा्ष्ट्रिय उडान भर्ने पाइलटहरूले प्लेन नउडाउने घोषणा गरेर दबाब सिर्जना गर्नुपरेको थियो ।

सन् १९७० मा प्यालेस्टाइनको अर्को लडाकू समूहका सदस्यले पाँचवटा विमान हाइज्याक गरे । यसरी अपहरण गरिएका विमानमध्ये चारवटा अमेरिकी शहर न्युयोर्कतर्फ उडिरहेका थिए । बाँकी एउटा बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको थियो । इजरायलले बन्दी बनाएका प्यालेस्टाइनी अभियन्ताको रिहाइ माग गर्दै उनीहरूले विमान हाइज्याक गरेका थिए । हाइज्याक गरिएका तीनवटा विमानलाई जोर्डनस्थित बेलायती वायुसेनाको एयर बेसमा अवतरण गराइयो । चौथोलाई इजिप्टमा अवतरण गर्न लगाइयो । नेदरल्यान्ड्सको राजधानी आम्सटर्डमबाट न्युयोर्कतर्फ उडेको विमान चाहिँ अपहरणकारीलाई चक्मा दिँदै लन्डनमा आपत्कालीन अवतरण भयो ।

’सञ्चारमाध्यमको ध्यान खिच्न सफल भएको त्यो नै विमान अपरहणको पहिलो प्रमुख घटना थियो, जुन आतंकवादीहरूले आफ्नो ध्येय पूर्तिका लागि गरेका थिए,’ लन्डनको हिथ्रो विमानस्थलका परामर्शदाता तथा पूर्वव्यवस्थापक नोर्मन शांक्सले भने, ’त्यतिखेर अपहरणकारीहरूले मानिस मार्ने ध्येय बनाएका थिएनन् । चर्चा हासिल गर्ने सरल उपायका रूपमा उनीहरूले प्लेन हाइज्याक गरेका थिए ।’

जोर्डनस्थित बेलायती वायुसेनाको एयर बेसमा अपहरित विमान अवतरण गराएपछि मात्रै अन्तर्रा्ष्ट्रिय उडान भर्न सहकार्य गर्ने विभिन्न देशका निकायले प्लेन हाइज्याकिङ रोक्न एकीकृत प्रयास सुरु गरेका थिए । तर, पनि सन् १९७० को दशकको अन्त्यतिर मात्रै राष्ट्रसंघीय निकाय ’इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन’ले यात्रुहरूलाई मेटल डिटेक्टरमार्फत चेकजाँच गर्नुपर्ने तथा बोर्डिङपूर्व यात्रुहरूको लगेज एक्स–रे गर्नुपर्ने नियम बसालेको थियो । विमानसम्म कुनै पनि व्यक्तिले बन्दुक, छुरी अथवा ग्रिनेडजस्ता धातुनिर्मित हतियार लैजान नपाउन भनेर यस्तो नियम लागू गरिएको शांक्सले बताए । ’यो तरिकाले चेकजाँच गरेकै भरमा बमसमेत पत्ता लगाउन सकिन्छ भन्ने विश्वास त्यतिबेला धेरैमा थियो, जुन सत्य थिएन,’ उनले भने । सन् १९८८ मा बम विष्फोटमार्फत स्कटल्यान्डको लकर्बीमा पान एएम फ्लाइट १०३ विमान खसालिएपछि विमानस्थलमा विष्फोटक सामग्री पत्ता लगाउने अतिरिक्त ’स्क्रिनिङ सिस्टम’ जडान गर्न थालिएको जानकारी उनले दिए ।

०००

सुरक्षाका यस्ता प्रबन्धले विमान अपहरणका घटनालाई उल्लेख्य रूपमा घटाएको छ । तर, पनि विमान अपहरणमा पर्ने जोखिम पूर्ण रूपमा निर्मूल भइसकेको छैन । धेरै देशमा अहिले पनि यस्ता बृहत् सुरक्षा प्रबन्ध अन्तर्रा्ष्ट्रिय उडानमा मात्र लागू गर्ने गरिएको छ । यसले गर्दा विमान अपहरणकारीहरूको तारोमा आन्तरिक उडान पर्ने जोखिम टर्न सकेको छैन ।

आन्तरिक उडानमा अपनाइएको यस्तै खालको कमजोरीलाई सन् २००१ को सेप्टेम्बर ११ मा अल–कायदाका सदस्यहरूले दुरुपयोग गरेर चारवटा विमान अपहरण गरेका थिए । उनीहरूले वेल्डिङ गर्दा प्रयोग गरिने बक्स कटर (धातु काट्न प्रयोग गरिने हेक्साब्लेडजस्तो हाते उपकरण) विमानभित्र छिराएर विमान अपहरण गरेका थिए । त्यतिबेला अमेरिकाभित्र हुने उडानमा त्यस्तो उपकरण लिएर विमान चढ्नमाथि प्रतिबन्ध लगाइएको थिएन ।

त्यसपछि अमेरिकाभरिका विमानस्थलको सुरक्षा प्रबन्धलाई केन्द्रीकृत गरियो र यसको लगाम अमेरिकाको सरकारी सुरक्षा निकाय ’डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’लाई सुम्पिइयो । व्यावसायिक एयरलाइन्सले मातहतका विमान कर्मचारीलाई हिंस्रक अथवा उपद्रो मच्चाउने खालका यात्रुप्रति अतिरिक्त चनाखो हुन तालिम दिन थाले । साथै, विमान हाइज्याक भएको अवस्थामा कसरी काम गर्ने भन्नेबारे विमान परिचारक÷परिचारिका तथा पाइलटलाई तालिम दिन सुरु गरियो ।

’विगत १५ वर्षयता विमान हाइज्याक गर्नु ज्यादै जोखिमपूर्ण प्रयास सिद्ध भएको छ,’ लन्डनस्थित विमान सुरक्षासम्बन्धी परामर्श दिने निकाय ’ग्रिन लाइट’का व्यवस्थापकीय निर्देशक तथा ’हिस्ट्री अफ एयरक्य्राफ्ट हाइज्याकिङ एन्ड बम्बिङ’ किताबका लेखक फिलिप बाउमले भने । अपहरणकारीहरूको मनस्थिति पनि अहिले परिवर्तन भएको उनले बताए । ’सेप्टेम्बर ११ को घटनापछि विमान हाइज्याक गरेमा विमानभित्रका कर्मचारी र यात्रुहरूबाट आक्रामक रूपमा प्रतिरोध हुन्छ भन्ने महसुस अपहरणकारीले गर्न थालेका छन्,’ उनले भने ।

०००

यति हुँदाहुँदै पनि अझै यदाकदा विमान हाइज्याक हुने गरेका छन् । यात्रुको भेषमा विमान छिरेका अपहरणकारीबाट मात्रै विमान अपहरण हुने गरेको भने छैन । सन् २००० मा लन्डनबाट साउदी अरेबियाको जिद्दातर्फ उडिरहेको साउदी अरेबियन एयरलाइन्सको विमानलाई विमानस्थलका दुई सुरक्षागार्डले हाइज्याक गरेका थिए । ती दुवैजना साउदी नागरिक थिए । विमानका पाइलटलाई उनीहरूले साउदी अरेबियाको सट्टा बग्दादतर्फ विमान मोड्न बाध्य गराएका थिए । त्यस्तै सन् २०१४ मा इथियोपियन एयरलाइन्सका को–पाइलटले क्याप्टेनलाई ककपिटबाट बाहिर निकाली इथियोपियाको राजधानीबाट रोमतर्फ उडिरहेको विमानलाई जेनेभातर्फ मोडेका थिए । जेनेभा पुगेर उनले त्यहीँ आश्रय मागेका थिए ।

प्रभावकारी ’स्क्रिनिङ सिस्टम’ भए पनि कतिपय विमानस्थलको सुरक्षाप्रबन्ध पूर्ण रूपमा ढुक्क हुने खालको अझै नरहेको विज्ञहरूको भनाइ छ । ती विमानस्थलमा हतियारबिनै छिरेर पनि हाइज्याकरले विमान अपहरण गर्न सक्दैनन् भन्नेमा निश्चिन्त हुने अवस्था अझै नरहेको उनीहरू बताउँछन् ।
साभार न्युयोर्क टाइम्स,शुक्रबार 

तपाईंको बिचार