Monday, October 23, 2017

नेपालमा फुड पर्यटनको अथाह सम्भावना छ ।

प्रकाशित मिति: 2016/05/05

गिरीराज सेढाईं ।
वैशाख २३,काठमाडौं । जर्मनी र अमेरिकाका विभिन्न ठाँउका होटलहरुमा सेफका रुपमा काम गरें । त्यसअघि नेपालमा नै काम गर्थें । विदेशबाट फर्केको झण्डै पाँच वर्ष भयो । विदेश १५ वर्ष जति बसें । एउटै क्षेत्रमा लामो समय काम गरेपनि रमाइलो नै थियो ।
लामो समय विदेशमा बसेपछि आफ्नो पहिचान नहुने रहेछ । त्यै भएर नेपाल फर्केको हुँ । नेपाल नबनेसम्म नेपाली जातीको पहिचान बन्दैन । विदेशमा सम्भावना धेरै थिए । तिनलाई त्यागेर नेपाल फर्किएँ ।
नेपालमा जातीय विविधता छ । खानामा पनि विविधता छ । ती खानालाई बजारिकरण गर्न सकिएको छैन ।
नेपाल खानाका लागि पनि गन्तव्य हो भनेर चिनाउन सकिन्छ । नेपालमा आउने पर्यटकहरु हिमाल चढ्छन् । र्या्फ्टिङ गर्छन् । ट्रेकिङ गर्छन् । तर उनीहरुले खाना चाहिँ कन्टिनेण्टल, मेक्सिकन, इटालियन, इण्डियन नै खानुपर्ने बाध्यता छ ।
हामीले गुरुङ जातीको खाना, चेपाङको खाना, माझीको खाना, राई लिम्बूको खाना वा नेवारी खानाको प्रवद्र्धन किन नगर्ने ? ती जातजातीका थातथलोमा पर्यटक लैजाने वातावरण तयार पार्न सकिन्छ ।
पर्यटकले ती ठाँउमा खाना खाने वातावरण बनाउन सकियो भने आयआर्जन गर्ने मेलो पनि हुन्छ । स्थानीयलाई रोजगारी पनि भयो । विदेशीले स्थानीय खाना खाएपछि त्यो स्वादका बारेमा आफन्तलाई पक्कै पनि भन्नेछन् ।
नेपालका प्रायः होटलहरुका सेवा सुविधा र खाना अन्तर्रा्ष्ट्रिय स्तरको हुन सकेको छैन । मेशिनरीको प्रयोग गरेर कुकिङ गर्ने चलन कम छ । मेनु त हुन्छ तर अन्तर्रा्ष्ट्रिय स्तरको चिज प्रयोग गरिएको हुँदैन । हिजोआज सुधार हुन थालेको छ ।
विदेशीहरुले स्थानीय चिजलाई नामै किटेर यो खाना यी सामग्री प्रयोग गरेर तयार पारिएको हो भनेर मेनुमै उल्लेख गर्छन् । गुणस्तरको बारेमा ग्राहकलाई जानकारी दिन्छन् ।
हामीले मनाङ मुस्ताङको भेडा च्याङ्ग्राको मासु विक्रि गर्छौं । तर त्यसबारेमा पर्यटकलाई जानकारी दिँदैनौं । जडीबुटी खाएको जनावरको मासु हो भनेर उनीहरुलाई बुझाउन सकेनौं । खर्कहरुबाट ल्याइएको चौंरीको दूध, पनिर, दही, घिउ प्रयोगबाट बनेको खानाका बारेमा बुझाउन सकियो भने हामीलाई नै फाइदा हुन्छ ।
सरकारले दिने व्यावसायिक तालिम नाम मात्रैको भएको छ । लामो समय विदेशमा सेफका रुपमा काम गरेर फर्केकाहरुलाई कुकको प्रशिक्षकमा नियुक्त गर्न सके राम्रो हुन्छ । पर्यटकलाई नेपाल खानाका लागि उपयुक्त र सुरक्षित गन्तव्य हो भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ ।
 

 

तपाईंको बिचार