Saturday, March 25, 2017  |    

फेसबुक डिजिटल भूतहरुको संग्रह बन्ने खतरा

प्रकाशित मिति: 2016/05/17
जेठ ४,काठमाडौं । मेरी काकीको निधन भएको दिन मैले विलियम सेक्सपियरका रचनाहरूको संकलनको पहिलो पृष्ठमा उहाँले मेरा लागि लेखेको प्रेमपूर्ण वाक्य फेला पारेँ– ’लिपिबद्ध शब्द तिम्रा लागि कति महत्वका हुन्छन् भन्ने मलाई थाहा छ। तिम्रा लागि भनेर मैले जोहो गरिदिएको उपहार यही हो। उही तिम्री काकी ज्याकी।’ मेरा निम्ति उनले छोडेको अन्तिम सन्देश पढेपछि भावुक हुँदै मैले ल्यापटप खोलेँ र उनको फेसबुक पेज हेरेँ। फेसबुक पेजमा उनका तस्बिर र ठट्यौला पोस्ट देखेर थोरै भए पनि राहत महसुस भयो। फेसबुक फिडको माथिपट्टि मेरो एकजना भाइ पर्नेले पोस्ट गरेको जलक्रीडा गरिरहेका दुइटा हात्तीको भिडियो थियो। मेरी काकीलाई हात्ती खूब मन पर्थ्यो। त्यसको तल उनका विद्यार्थीले व्यक्त गरेका समवेदनाका शब्द र उनकी बुहारीले उनका नाममा लेखेको समवेदना सन्देश थियो। माउस माथितिर स्क्रोल गरेर हेर्दा फेसबुक पेजमा यस्तो आशयको सन्देश थियो– ज्याकीले फ्रोस्टबर्ग स्टेट युनिभर्सि्टिमा पढेकी हुन्, उनले बाल्टिमोर स्कुलको अंग्रेजी विभाग प्रमुख भएर काम गरेको अनुभव बटुलिसकेकी छिन् र उनी अहिले बाल्टिमोरमा बस्छिन्।’ के उनी अझै पनि बाल्टिमोरमै बस्छिन् त? यो हरफ पढेपछि म टक्क रोकिएँ। होइन। उनी कतै पनि बस्दिनन्। उनले यो धर्ती सदाका निम्ति छोडिसकिन्, तर पनि फेसबुकमा उनी जीवितै छिन्। काकी ज्याकीले जीवन त्यागेको क्षण मैले सम्भ्किएँ। उनको शरीरका ठाउँठाउँमा तार जोडिएका थिए। ती तार मेसिनमा जडान गरिएका थिए। वरिपरि हामी उभिएका थियौँ। त्यत्तिकैमा उनी बितिन्। मानिसको अन्तिम क्षणको साक्षी बन्दाको अनुभूति अचम्मको हुँदो रहेछ। केही क्षणअघि आफूसँग बोलिरहेको, मुठी कसिरहेको, आफूलाई भेट्न आएकोमा आभार व्यक्त गरिरहेको व्यक्ति क्षणभरमै नरहेको देख्नु अचम्मको कुरा रहेछ। हेर्दाहेर्दै छेउको मेसिनको स्त्र्किनका बांगाटिंगा रेखा सीधा रेखामा परिणत भए। मेसिनले उनको मृत्यु भएको प्रमाणित गरिदियो, तर अर्को मेसिनले उनलाई अझै पनि बचाइरहेको छ। त्यो मेसिन हो– फेसबुक। यो सत्य हो– मृत्युपछि मानिस डिजिटल प्रविधिमा सशरीर उपस्थित हुँदैन, तर पनि अन्य मानिसलाई मृतक अझै जीवितै रहेको आभास चाहिँ हुन्छ। डिजिटल स्पेसले गर्दा हाम्रो मृत्यु हुने तरिका र मृत्यु भएपछि मानिसले हामीप्रति शोक व्यक्त गर्ने तरिका पनि बदलिन पुगेको छ। ००० फेसबुकमा मृतकहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। सन् २०१२ मा फेसबुक प्रयोगमा आएको आठ वर्ष पूरा हुँदा तीन करोड फेसबुक प्रयोगकर्ताको मृत्यु भइसकेको थियो। यो संख्या त्यसयता अझ बढ्न पुगेको छ। अहिले प्रतिदिन आठ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने अनुमान गरिएको छ। यही क्रम जारी रहने हो भने यस्तो दिन पनि आउनेछ जब जीवित फेसबुक प्रयोगकर्ताभन्दा मृतक प्रयोगकर्ताको संख्या बढी हुनेछ। निरन्तर फैलिएको डिजिटल चिहानका रूपमा फेसबुकको विकास भइरहेको छ। फेसबुक प्रयोगकर्ताको निधनपछि अधिकांशको प्रोफाइलमा मृत्युसम्बन्धी जानकारी राखिन्छन्। प्रोफाइलमा ’रिमेम्बरिङ’ शब्द देखा पर्छ। ’पिपल यू मे नो’ अथवा ’बर्थडे रिमाइन्डर’जस्ता संकेत ती एकाउन्टबाट आउन रोकिन्छ। ००० निधन भएका सबै फेसबुक प्रयोगकर्ताको प्रोफाइल यसरी परिवर्तन गरिँदैन। क्याम्पसको मेरो साथी केरीले केही वर्षअघि आत्महत्या गरे। उनकी पत्नी, परिवारका अन्य सदस्य र साथीभाइले उनको फेसबुक पेजमा अझैसम्म पोस्ट अपडेट गर्ने गरेका छन्। यसरी अपडेट गर्दा मेरो फेसबुक फिडमा उनका गतिविधि अझै आउने गर्छन्। केरी र मेरी काकीको फेसबुक प्रोफाइलमा उनीहरूको मृत्यु भएको जनाउ दिइएको छैन। त्यही भएर फेसबुकले उनीहरू अझै जीवितै छन् भन्ने मानेको छ। उनीहरूको डिजिटल पहिचान अझैसम्म अक्षुण्ण छ। सामाजिक सञ्जालले क्षणभरमा संसारभरिका मानिसलाई एकै ठाउँ ल्याइदिएको छ। अब फेसबुकले हामीलाईृ अमर पनि गराउने भएको छ भन्ने कुरा मनन गर्नुपर्ने भएको छ। यसअघि गिनेचुनेका मानिसमात्र मृत्युपछि अमर हुन सक्थे। डिजिटल प्रविधिले यसमा परिवर्तन ल्याइदिएको छ। अहिले तपाईं–हामी हरेक साता १२ घण्टाभन्दा बढी समय आत्मवृत्तान्त लेखिरहेका हुन्छौँ। अर्थात्, एउटा व्यक्तिले सातामा १२ घण्टाभन्दा बढी फेसबुकमा आफ्नाबारे उल्लेख गर्ने गरेको एउटा सर्वेक्षणले देखाएको छ। फेसबुकमा हामीले लेख्ने स्ट्याटस, हामीले अपलोड गर्ने तस्बिर, हामीले गर्ने लाइक र कमेन्ट्सले हाम्रो जीवनलाई डिजिटल स्पेसमा लिपिबद्ध गरिरहेका हुन्छन्। ००० आमासँग कुराकानी हुँदा म भन्ने गर्छु– ’तपाईंको पनाति पुस्ताले तपाईंको फेसबुक पेज हेरेर तपाईंबारे, तपाईंको जीवनका महत्वपूर्ण क्षणबारे थाहा पाउनेछ। यतिमात्र होइन, तपाईंको जीवनका स–साना कुरा पनि उनीहरूले थाहा पाउनेछन्। कुन कुराले तपाईंलाई बेस्कन हाँस उठेको थियो, कुन भाइरल फोटो तपाईंले सेयर गर्नुभएको थियो जस्ता झिना–मसिना कुराबारे पनि उनीहरू जानकार हुनेछन्। सामाजिक सञ्जाल एक किसिमको डिजिटल आत्माका रूपमा विकास भएको छ। यसले तपाईंको आस्था, राजनीतिक विचारधारा, जीवनसाथीप्रतिको तपाईंको प्रेम, पुस्तक रुचि आदिबारे जम्मै बताउँछ। हाम्रो मृत्युपछि पनि हाम्रो डिजिटल आत्मा अमर भइरहन्छ। केही समययता प्रविधिसम्बन्धी काम गर्ने विभिन्न कम्पनीले डिजिटल आत्मामाथि काम गरिरहेका छन्। सन् २०१४ मा सार्वजनिक भएको वेबसाइट इटर्नी डटमीले मृत्युपछि पनि हाम्रो डिजिटल संस्करणलाई बचाइराख्ने लक्ष्य राखेको छ। ’मृत्यु अवश्यम्भावी छ, तर डिजिटल अवतार लिएर तपाईं सदाका निम्ति बाँचिरहन पाउनुहुन्छ। भविष्यका मानिसले तपाईंका स्मृति, तपाईंका कथा, तपाईंका विचार आदिसँग निरन्तर अन्तरक्रिया गर्नेछन्,’ वेबसाइटले लेखेको छ। जीवित छँदै व्यक्तिले भावी सन्ततिका सम्भावित प्रश्नको जवाफ लेख्न र नाति–पनाति पुस्ताले पछि आफूसँग कुराकानी गर्न चाहे गर्न सक्ने व्यवस्था पनि यसमा मिलाइएको छ। डिजिटल आत्माको विकास अझ परसम्म पुग्ने अनुमान भविष्यवेत्ताहरूको छ। मार्टिन रोथब्लाट नाम गरेका एक व्यवसायीले बिना ४८ नाम गरेको रोबोटको जोहो गरेका थिए। रोबोटको शारीरिक बनोट ठ्याक्कै मार्टिनकी मृतक पत्नीको जस्तो थियो। यसभित्र मार्टिन पत्नीको स्वर र मेमोरी सम्मिलित डाटाबेस जडान गरिएको थियो। ’भर्चुअल ह्युमन’का लेखकसमेत रहेका मार्टिन निकट भविष्यमा ’माइन्ड क्लोन सफ्टवेयर’को सहयोगले डिजिटल संसारमा मृतकलाई पुनः अस्तित्वमा ल्याउन सकिनेमा आशावादी छन्। मृतकको यस्तो डिजिटल अवतारले मानिसले जस्तै सोच्न र प्रतिक्रिया जनाउन सक्ने उनी बताउँछन्। ००० यदि हाम्रा प्रियजन यसरी चिरकालसम्म ’जीवित’ रहे भने यसले शोक मनाउने हाम्रो ढाँचामा कस्तो परिवर्तन ल्याउला त? ’अन डेथ एन्ड डाइङ’ किताबका लेखक डा. एलिसाबेथ कुब्लर–रोसले सन् १९६९ ताका मानिसले पाँच चरणमा शोक मनाउने धारणा राखेकी थिइन्। प्रियजनको मृत्युपछि सुरुमा उसले यो तथ्यलाई अस्वीकार गर्छ (डिनायल), त्यसपछि आक्रोश व्यक्त गर्छ (एङ्गर), सौदाबाजी गर्छ (बार्गे्निङ), चरम निराश हुन्छ (डिप्रेसन) र अन्त्यमा प्रियजनको मृत्युलाई स्वीकार गर्छ (एसेप्टेन्स)। यो सिद्धान्त विकास भएपछि यसका आलोचकले यसको मूल विचारमै असहमति जनाउँदै सफल शोककर्ताले प्रियजनको मृत्युपछिको विषादबाट आफूलाई मुक्त गरेर जीवनको पांग्रा अघि बढाउँछ भनेका थिए। यद्यपि, आज थुप्रै परामर्शदाता कुनै न कुनै स्वरूपमा शोककर्ताले मृतकलाई आफूछेउ निरन्तर महसुस गर्ने गरेको बताउँछन्। मृतकसँगको व्यक्तिको सम्बन्ध निश्चय पनि बदलिन्छ, तर पनि कुनै न कुनै रूपमा सम्बन्ध चाहिँ रहन्छ भन्ने उनीहरूको धारणा छ। मृतक कुनै समय आफूसँग थियो भन्ने याद गर्न र अहिले ऊ आफूसँग छैन भन्ने चाहिँ स्वीकार गर्न आवश्यक छ। यसका लागि डिजिटल डाटाले हामीलाई सहयोग गर्ने भएको छ। यसले मृतकको स्मृतिलाई ताजा बनाइरहन्छ। ००० मृतकलाई सम्झाइरहने डिजिटल स्पेसको अर्को पाटोबारे औँल्याउनेहरू पनि छन्। ’डिलिटः द भर्च्यू अफ फर्गे्टिङ इन द डिजिटल एज’ किताबका लेखक भिक्टर मायर–सोनबर्जर मानवीय अवस्थाको जग बिर्सिन सक्ने उसको क्षमताले निर्धारण गरिदिएको बताउँछन्। ’बिर्सिने क्षमताले हामीलाई विगतको बन्धनबाट मुक्त गरी सही समयमा आवश्यक कर्म गर्न सक्षम बनाउँछ। बिर्सिने क्षमताले हामीलाई वर्तमानमा बाँच्न र कर्ममा लाग्न सहयोग गर्छ,’ उनी भन्छन्। किताबमा मायरले ’द मेमोरियस’ कथाको पात्र फ्युन्सबारे उल्लेख गरेका छन्। सडक दुर्घटनामा परेपछि फ्युन्समा बिर्सन सक्ने क्षमता हराएर जान्छ। पढेका किताबका हरेक प्रसंग र दिनभरि आफूले देखेभोगेका स–साना कुरा प्रस्टसँग सम्भ्किन सक्ने क्षमता उसमा विकास हुन्छ। बिर्सिन नसक्ने अद्भुत क्षमता अन्त्यमा उसका लागि श्रापसिद्ध भएको चर्चा कथामा छ। अन्त्यमा फ्युन्स आफ्नो दिमागमा थुप्रिएको स्मृतिको खातलाई ’कुडा–कर्कटको राश’सँग तुलना गर्ने अवस्थामा पुग्छ। किताबमा मायरले फ्युन्सको मानसिक अवस्थालाई डिजिटल सञ्जालमा थुप्रिएका अथाह सूचनासँग तुलना गरेका छन्। किताबको सारांशमा उनले भनेका छन्, ’पुराना कुरा सम्भ्किरहनमा ’पर्फेक्सन’ हासिल गर्नु भनेको स्मृतिको बन्दी भइरहनु र विगतबाट मुक्त हुन नसक्नु हो।’ डिजिटल प्रविधिले हामीलाई मृतकलाई निरन्तर सम्भ्किरहन बाध्य बनाउँछ। समाजशास्त्री जिन बाउड्रिलार्डका अनुसार यो आफ्नो अनुपस्थितिमा पनि जीवितलाई निरन्तर तर्साउने गरी मृतकले हामीसँग लिएको बदला हो। ००० हिजोका दिनमा मृतकलाई सम्भ्किनुपर्यो् भने हामीले भौतिक वस्तुको सहारा लिनुपर्थ्यो। यसका लागि हामीलाई चिहान, मन्दिर अथवा स्मृति स्मारकसम्म धाउनुपर्थ्यो। अथवा, एल्बम खोलेर तस्बिर हेर्ने अथवा पत्रिकामा छापिएका समवेदना पल्टाउनुपर्थ्यो। मृतकलाई सम्भ्किन र ऊसँगको आफ्नो सम्बन्धलाई फर्केर हेर्न हामीले केही समय खर्चिनुपर्थ्यो। तर, फेसबुकमा समय खर्च नगरीकन मृतकको स्मृतिलाई क्षणभरमै ताजा बनाउन सकिन्छ। मजस्तै गरी मेरी काकी ज्याकी पनि फेसबुकमा हुनुहुन्छ। त्यही भएर हामी फेसबुक प्रयोगकर्ताले काकी अथवा उहाँजस्तै लाखौँ मृतकलाई छोडेर नभई सँगसँगै लिएर अघि बढ्नु परिरहेको छ। यस्तो अवस्थाबाट रमाउने पनि छन्। तर, मृतकसँग सम्बन्धित डिजिटल डाटालाई अवाञ्छित मान्दै यसलाई ’डिजिटल आत्मा’को सट्टा निरन्तर तर्साइरहने ’डिजिटल भूत’ मान्नेहरूको पनि अभाव छैन। (बिबिसी डट कममा प्रकाशीत)

तपाईंको बिचार