Wednesday, August 23, 2017

प्राचीन कपिलवस्तुः सक्कलीको नक्कली तर्क

प्रकाशित मिति: 2016/05/21

भारतले  श्रावस्ती जिल्लास्थित पिप्रहवामा  बौद्ध स्थलमा ‘नक्कली लुम्बिनी’  निमार्ण गरेको चर्चा चारैतिर छ । अहिले पनि ‘नक्कली लुम्बिनी’ भन्दै पिप्रहवाको तस्वीर देखाइन्छ। ‘नक्कली लुम्बिनी’ वा ‘नक्कली कपिलवस्तु’ हेर्न जाने र भारतविरुद्ध द्वेषभाव राख्नेहरूको संख्या पनि ठूलै छ।

वास्तवमा पिप्रहवाको अध्ययन–अनुसन्धान वा निर्माण लुम्बिनीको नाममा भइरहेको छैन। यसलाई भारतले प्राचीन राज्य ‘कपिलवस्तु’ मान्दै आएको छ र नेपालका विषयविज्ञहरू त्यसैमा बेखुस भइरहेका छन्। २५ सय वर्षअघिको कपिलवस्तु राज्य अहिलेको नेपाल र भारतमा फैलिएको तथ्य नबुझ्नु नै समस्या बनेको छ। खासमा, जर्मन पुरातत्वविद् डा. ए. फुहररले सन् १८९५ मा निग्लिहवामा अशोकस्तम्भ भेटेको घटनालाई प्राचीन कपिलवस्तुको पहिलो प्राप्ति मान्नुपर्छ। त्यसअघि आ–आफ्नो सुविधा अनुसार विभिन्न स्थललाई कपिलवस्तु मानिंदै आएको थियो।

कपिलवस्तु प्राप्तिपछि त्यसको पूर्व दिशामा लुम्बिनी पर्ने निश्चित भएअनुसार खोज्ने क्रममा अर्को वर्ष १८९६ मा लुम्बिनी भेटियो। त्यसपछिका वर्षहरूमा थप प्रमाण भेटिंदै गए। डा. फुहररले नेपालमा उत्खनन् गरिरहेकै वेला भारतको पिप्रहवामा विलियम पेपेले महत्वपूर्ण सामग्रीहरू भेटे। पिप्रहवा र त्यसको एक किलोमिटर दक्षिण गनवरियामा पटक–पटकको उत्खनन्मा पाइएका तीन वटा अभिलेखमा ‘कपिलवस्तु’ उल्लेख थियो।

त्यस आधारमा त्यो क्षेत्रलाई मात्र प्राचीन कपिलवस्तुको रूपमा व्याख्या गरिंदा नेपाली क्षुब्ध बन्नपुगे। गौतम बुद्ध हुर्केको कपिलवस्तुलाई ‘बुद्धको जन्मस्थल’ भनिएकोले नेपाली पक्षले पिप्रहवा क्षेत्रलाई ‘नक्कली लुम्बिनी’ भनेर बुझे। यसरी रुष्ट हुनेहरूले भारतको आधिकारिक निकायले नेपालको लुम्बिनीबाहेक अन्य ठाउँलाई लुम्बिनीको रूपमा प्रस्तुत नगरेको तथ्यतर्फ ध्यानै दिएका छैनन्। त्यसकै परिणाम हो– ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानदेखि फिल्म निर्माणसम्मको दुःख।

पिप्रहवा–गनवरिया क्षेत्रमा ठूलो स्तूप, केही बिहार र नगरका अवशेष फेला परेका छन्। यता नेपालतिर तिलौराकोटमा भवनको अवशेषका अतिरिक्त चिनियाँ यात्रीहरूले उल्लेख गरेका कनकमुनि बुद्ध, क्रकुच्छन्द बुद्ध र लुम्बिनीमा अशोकस्तम्भ भेटिए। यसले स्वाभाविक रूपमा गौतम बुद्ध सम्बन्धी नेपालको दाबीलाई दरिलो बनाएको छ। तर, राजप्रासाद वा मुख्य प्रशासनिक भवनलाई मात्र कपिलवस्तुको मानक ठान्दा पुरातत्वविद्हरू नै अलमलिन पुगे, अनि विवाद चुलिंदै गयो। प्राचीन कपिलवस्तु आफ्नो देशमा रहेको भन्ने नेपाल र भारतको दाबीको कडी यही हो।

प्राचीन कपिलवस्तु विभिन्न नगर मिलेर बनेको शाक्य गणराज्य थियो। आजभोलि कपिलवस्तु भन्दै नेपाल र भारतले प्रस्तुत गर्ने अवशेषहरू प्राचीन कपिलवस्तुको कुनै हिस्सा मात्र भएको बुझ्न गाह्रो छैन। नेपालले कपिलवस्तु भनेर तिलौराकोट अनि भारतले पिप्रहवा–गनवरिया क्षेत्रलाई देखाउने गरेको छ। यो भनेको हनुमानढोका वा स्वयम्भूमध्ये कुन चाहिं काठमाडौं हो भनेर झगडा गर्नु जस्तै हो। त्यस्तै, बुद्धको जन्म नेपालमा भएको भन्दैमा ‘नक्कली लुम्बिनी’ वा ‘नक्कली कपिलवस्तु’ भन्दै पिप्रहवाको पुरातात्विक महत्तालाई नमान्नु अज्ञानता हो। कम्तीमा स्तूपलगायतका स्मारकहरूको वन्दना गर्ने नेपाली बौद्धहरूले पिप्रहवा प्राचीनता र धर्म दुवै दृष्टिले महत्वपूर्ण बौद्ध स्थल हो भनेर बुझ्नुपर्छ।

बुद्धत्व प्राप्तिपछि गौतम बुद्ध गृहनगर कपिलवस्तु आउँदा निग्रोधाराममा बसेको प्रसंग प्रसिद्ध छ। निग्रोध शाक्यले आफ्नो जग्गामा बुद्धलाई बस्ने बन्दोबस्त गरेकोले निग्रोधाराम भनिएको हो। जन्मस्थलतिर आउँदा बुद्ध बस्ने यो विहारको नाम बौद्ध वाङ्मयमा मनग्गे उल्लेख भएको छ। बुद्धको महापरिनिर्वाणपछि पनि सयौं वर्षसम्म यस विहारमा बौद्ध भिक्षुहरू बस्थे। नेपाली बौद्धहरू भने कुदानको पुरातात्विक अवशेष नै निग्रोधाराम हो भन्ने मान्यता राख्दछन्, तर त्यसलाई प्रमाणित गर्ने दरिलो प्रमाण पेश गर्न सक्दैनन्।

उता, पिप्रहवा स्तूपमा बुद्धका आफन्तहरूको अस्थिसहितको कास्केट पाइएको हुँदा सोही स्थल प्राचीन निग्रोधाराम हो कि भन्ने पनि छ। बुद्धको महापरिनिर्वाणपछि विभाजित अस्थिधातुको एक भाग शाक्यहरूले पाएका थिए। उक्त अस्थिधातु राखेर बनाएको स्तूप निग्रोधाराम परिसरमा नै हुनसक्ने अनुमान पनि छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

तपाईंको बिचार