Tuesday, September 19, 2017

हत्या गर्दा पनि साइत जुराउने राणाहरु

प्रकाशित मिति: 2016/06/15

ज्योतिष विद्यामा  दीक्षित परिवारको विशेष लगाव थियो । राणा शासकका खोपी, निजी ज्योतिषी र कार्यालयको जिम्मेवारी सम्हालेर बस्ने दीक्षित परिवारका सदस्य थिए । रोलक्रमका राणा परिवारमा दीक्षित परिवारले आ–आफ्नो भाग लगाएका थिए । त्यसमध्ये मेरा हजुरबुबा चन्द्रशमशेरको दरबारमा थिए भने साहिँला काका हजुरबुबा सदाशिव आचार्य दीक्षित भीमशमशेरकोमा । त्यसै गरी अन्य काका हजुरबुबाहरू वीरशमशेरका रोलक्रमका १७ भाइ छोराको दरबारमा थिए ।


राणा शासनमा आफन्तको हत्या गरेर शासन सत्ता हत्याएका प्रशस्त उदाहरण छन् । वीरशमशेरलाई गद्दी आरोहण गराउने क्रममा रणोद्दीप सिंहको हत्या पनि साइत र तिथि हेराएरै गरिएको थियो । त्यो साइत पनि  दीक्षित परिवारका सदस्य शिरोमणि आचार्यले हेरेका थिए । बेलुकाको साइत निकालेर चार जना वीरशमशेर, चन्द्रशमशेर, खड्गशमशेर र भीमशमशेर बेलायतबाट झिकाइएका बन्दुक स् वदेश आइपुगेकाले श्री ३ लाई देखाउने निहुँ पारेर रणोद्दीपको हत्या गर्न पुगेका थिए । चन्द्रशमशेरले गोली हान्ने पूर्वसमझदारी भए पनि घटनास्थलमा पुग्दा नपुग्दै उनको मन परिवर्तन भएछ । उनले श्रीमती रजस्वला भएकीले आफूले गोली चलाउन नहुने जानकारी गराएपछि भीमशमशेरले चलाएको गोलीले रणोद्दीपको ज्यान गयो र उनको शवलाई भ¥याङबाट घिसारेर तल पु¥याइएको थियो ।

उपयुक्त ढंगले हत्याको साइत हेरेको र आफू श्री ३ महाराजको गद्दीमा आसीन भएपछि गोत्रहत्याको गोप्य प्रायश्चित्त स्वरूप वीरशमशेरले  दीक्षित परिवारलाई यज्ञ गर्न भनेर झन्डै चार लाख रुपियाँ उपलब्ध गराएका रहेछन् । सोही रकमले सन् १८९७ देखि १९०१ सम्मको अवधिमा भारतको बनारसमा भव्य रूपमा अग्निष्टोम, चातुर्मास्य, सोम र चैन यज्ञ वैदिक विधिपूर्वक भग्य रूपमा सम्पन्न गरिएको रहेछ । अन्तिमचाहिँ चैन यज्ञ थियो र त्यसमा भारतको कश्मीरदेखि कन्याकुमारीसम्मका पुरेत–ब्राह्मणले भाग लिएका थिए । आचार्य ब्राह्मणले दीक्षित उपमा लेख्न थालेको त्यही यज्ञपछि हो ।  राममणि दीक्षितले शिरोमणिबाट आफ्नो नाममा मणि शब्द जोड्न पुगेपछि  दीक्षीत परिवारका पुरुष सदस्यले त्यसलाई पछ्याएका हुन् ।


रणोद्दीपको हत्या घटनाका फड्के किनाराका साक्षीका रूपमा रहेका चन्द्रशमशेरले आफ्नै भाइ भीमशमशेर आफ्नो हत्या गर्न उद्यत होलान् भनेर कल्पना पनि गरेका थिएनन् । ठूलोबुबाको हत्या गर्न सँगसँगै बन्दुक बोकेर गएका सहोदर भाइ भीमशमशेरले आफ्नै हत्या गर्ने साजिस गर्न सक्छन् भन्ने पनि चन्द्रशमशेरले सोच्न सकेनन् । त्यस् तो सोचेको भए आफ्ना पूर्वजले आपत्कालीन अवतरणका लागि भनेर निजी निवासको झ्यालमा हरदम झुन्ड्याएर राख्ने डोरी उनले निकाल्न लगाउने थिएनन् ।


त्यति बेला श्री ३ हरूको सुरक्षा व्यस्था ज्यादै कडा थियो र घरबाहिर आक्रमण हुने सम्भावना ज्यादै न्यून रहन्थ्यो । त्यसैले आफन्तमध्येकै कसैले घरभित्र पसेर आक्रमण गर्न खोज्यो र ज्यानको खतरा देखियो भने सुरक्षित रूपमा त्यसबाट उम्किनका लागि भनेर हरेक श्री ३ ले निजी निवासको झ्यालको फलामे डन्डीमा एउटा डोरी झुन्ड्याएका हुन्थे । आपत्  प¥यो भने त्यसको सहायताले तुरुन्त सुरेली मारेर तल झर्न सकियोस् भनेर । तर, चन्द्रशमशेरले आफ्ना भाइ–छोरामा विश्वासको वातावरण जगाउनका लागि त्यस किसिमको डोरी निकाल्न लगाएका थिए ।

दुर्भाग्य के भने तिनै चन्द्रशमशेरलाई मार्न भनेर भीमशमशेरर्ले   ‘महत्त्वपूर्ण र उपल्लो दर्जाका विशिष्ट व्यक्तिको हत्या गर्नुर्पयो भने कुन विधि र उपाय अवलम्बन गर्नुपर्ला ?’ भनी दीक्षीत परिवार संग चन्द्रशमशेरको नाम नलिईकन सोधेका रहेछन ।


छलफलका क्रममा  दीक्षीतले ‘उपल्लो तहका व्यक्तिको मृत्यु कामनाका लागि मारणतन्त्रको विधि शास्त्रमा उल्लेख भएको’ जानकारी गराउँदै माता दक्षिणकाली र भारतको कामाक्षादेवीलगायतका मन्दिरमा पुगेर केही विधि अवलम्बन गर्न सके त्यस्तो मनोकांक्षा पूरा हुने कुरा बताएका थिए ।   त्यसपछि भीमशमशेरले चन्द्रशमशेरको मृत्यु–कामना गर्दै त्यही विधि व्यवहारमा उतार्न थाले र आफ्ना नजिकका मानिसहरूलाई माता दक्षिणकाली र भारतका विभिन्न ठाउँमा पठाएर हत्या षड्यन्त्रका तानाबाना बुन्न थाले । माता दक्षिणकाली र भारतको राजस्थान, अजमेरको मुस्लिम दरगाहमा तन्त्र गर्न भनेर भीमशमशेरले आफ्ना मानिस पठाए ।
त्यसो त गुप्तचरीमा चन्द्रशमशेर पनि कम थिएनन् । उनले पनि दरबारभित्र एकाएक बढ्न थालेका भीमशमशेरका गतिविधिलाई नजिकबाट नियाल्न थाले र आफूविरुद्ध षड्यन्त्रका जालझेल रचिरहेको थाहा पाए । हत्या–षड्यन्त्रका जालझेल विफल पार्न चन्द्रशमशेरले आफू नजिकका मानिसहरू प्रयोग गरेका थिए ।

 


 साभार मदनमणी दीक्षीत

तपाईंको बिचार