Wednesday, August 23, 2017

ऐतिहासिक र साँस्कृतिक दृष्टिमा टोखा

प्रकाशित मिति: 2016/08/02

पोखरा, चितवन र लुम्बिनीमा मात्र सीमित रहेको पर्यटकीय गतिविधिलाई अब राजधानीमै नयाँ गन्तव्यको रुपमा टोखाले नयाँ स्वाद दिन थालेको छ । पर्यटनमा नयाँ–नयाँ गन्तव्यको खोजी भइरहेको अवस्थामा एकदिनको साइड सिन टोखामा पनि गर्न सकिन्छ । टोखाको साइड सिनको क्रममा प्रागऐतिहासिक पुरातात्विक मठमन्दिर ढुङ्गेधारा, पाटीपौवा, स्थानीयको जीवनशैली पर्यटकहरुको लागि रोचक लाग्नेछ ।

ऐतिहासिक पक्ष

‘चार सय टोखा सात सय फेरा’ भन्ने भनाइ टोखाबासीको जनजिब्रोमा झुण्डिएको छ । प्रस्तुत लोकवाक्यले टोखाको उक्त समयको ख्याति प्रसिद्धी विस्तृति र कर्म संस्कृतिलाई पनि उजागर गरेको छ । नेपाल भाषामा टु भन्नाले उखु र ख्यो भन्नाले चउर भन्ने बुझिन्छ । काठमाडौंँको सामाखुसीबाट ४ किमी उत्तर शिफुचो (शिवपुरी ८९६३ फिट) पहाडको दक्षिणी काखमा अवस्थित टोखा, प्रसस्त उखु उत्पादन हुने ऐतिहासिक स्थल हो । त्यही उखुको रस खारेर चाकु उत्पादन गरिन्छ । एक समय टोखा चाकुको लागि प्रख्यात मानिन्थ्यो ।

ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलका रुपमा विकसित हुँदै आइरहेको टोखालाई काठमाडौँका राजा रत्न मल्लले ने.सं. ६३० मा कुकु नामक भोटे देवानको आक्रमणबाट बचाउन तीनसय घरसहित किल्लाका रुपमा बसाएको बताइन्छ । तर कलिगत संवत् २९६० कालीन पराक्रमी राजा धर्मदेव र राजा  विक्रमादित्यसँग जोडिएको आख्यान, साँखु बौद्ध बज्रयोगिनीभन्दा पनि प्राचीन टोखा बज्रयोगीनी भन्ने भनाइ, भक्तपुर ठिमीतिर प्रख्यात विस्केट जात्रा र हाँडीगाउँ टङ्गालमा प्रचलित गहना खोजेको जात्रा प्रत्येक वर्ष बैशाख १ गतेदेखि टोखामा पनि प्रचलनमा रहनुले यो यो बस्ती राजा रत्न मल्लभन्दा पनि पहिले नै विकसित भइसकेको अनुमान गर्न सकिन्छ ।

ऐतिहासिक टोखालाई सुन्दर सङ्ग्रहालयको रुपमा हेर्न सकिन्छ । यस खुल्ला सङ्ग्राहालय क्षेत्रमा कलात्मक पक्षलाई नियाल्दा यो भूमि मन्दिर तथा मूर्तिहरुले सजिएको कलाभूमि हो  । यहाँको सानो भौगोलिक बृत्तमा दर्जनौँ कलात्मक मन्दिर तथा सयौँ मूर्तिहरु देख्न सकिन्छ । यहााँ केही प्रसिद्ध मठमन्दिरहरु यसप्रकार छन् ।

मसानकाली

भाख्यो अर्थात भूतखेल पनि भनिने पिगंद्यो इन्द्रायणी देवस्थल १५० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कबाट दुई किमी सामान्य उकालो उत्तरतर्फ उक्लिएपछि पहिलो दर्शनीयखुला चउरबीच देखिने दुईतल्ले पेगोडा शैलीको मन्दिर हो कालिकाख्यो । थुम्काथुम्की र अनियमित धरातलीय फाँटबीच रहेको र नेसं  ९०४ मा निर्मित काष्ठकलायुक्त कालिका माजु हाल सिमेन्टमय भएको छ । उत्तरतिर फर्केर रहेको यस मन्दिरको सेरोफेरोबाट टाढा टाढासम्म रमणीय दृश्यावलोकन पनि गर्न सकिन्छ । मन्दिरसँग पौराणिक तथा किम्बदन्तीजस्तै लाग्ने प्रसङ्गहरु जेडिएका छन् । प्रचलित किम्वदन्तीअनुसार उहिले मसानकालीले दिनहुँ मान्छे खाने गर्दा धेरै समस्या भयो । तन्त्रविद्यामा निपुण एकजनाले देवीलाई छल गरी पछाडिबाट किलो ठोकेर उठ्नै नसक्ने बनाएर राखिदिए छन् ।

यसैको सम्झना गर्दै देवीलाई खान्कीका रुपमा बैशाख १ गते यहाँ होम गर्ने परम्परा रहेको  छ । होमको लागि धर्तीमा उब्जने सबै प्रकारका अन्नहरु आवश्यकता पर्दछ । अन्नहरु माटाका पालामा राखेर देवीलाई अर्पित गरिन्छ । कालो बोको, दुईवटा जिउँदो सर्प वा नपाए सर्पको काँचुली, दुईवटा भँगेरा, दुईवटा माछा होमका निम्ति अनिवार्य सामग्री हुन् ।

यस मसानकाली मन्दिर परिसरमा भव्य फाराकिलो चौर छ । चौरको करिब मध्य–उत्तर भागमा अवस्थित कलात्मक मन्दिर यस ठाउँको केन्द्रीय आकर्षण बनेको छ । मन्दिर परिसमा खेल व्यायाम, बन भोज, चलचित्र सुटिङ आदिका निम्ति मानिसको पर्याप्त आवतजावत हुन्छ । केही समय अघि भूतखेल चौरमा हिन्दी सिरियल चन्द्रकान्तका हिरो अभिनित नेपाली चलचित्र हाम्रो सानो संसारको सुटिङको दोरानमा भूतहरु निस्केर सुटिङ अबरुद्ध भएको समाचारले चर्चा पाएको थियो ।   

तलेजु एवम् जीवित गणेश कुमारी परम्परा

थथालटोल (लाय्कू) दरबारमा अवस्थित खड्गद्यो तलेजु टोखा क्षेत्रम प्रचलित जत्रा पर्व सञ्लान गर्ने  मुख्य केन्द्र हो । मन्दिरमा १३ वटा खड्गसहितकी भगवती रह्की छन् । यी खड्गहरु उहिले भक्तपुरबाट ल्याइएको विश्वास गरिन्छ । विजयादशमीको अवसर पारेर गरिने खड्ग जात्रा पनि तलेजु भवानीसँगै सम्बन्धित रहेको देखिन्छ । तलेजुनजिकै रहेको सुरक्षाका देवता क्षेत्रपाललाई अर्पित गरेर भुयुफसि(कुभिन्डो) काटिने र काटिएको कुभिन्डो पाउन मानिसहरुबीच लुछाचुँडी हुने खड्ग जात्राको रोचक प्रसङ्ग पनि तलेजुसँगै जोडिएको छ । त्यस्तै अर्को रोचक प्रसङ्ग भनेको जिवित देवी कुमारीका साथ जिवित देव गणेश रहनुले पनि हो ।

सपना तीर्थ

टोखाको पर्यायका रुपमा चिनिने सपनी तीर्थ बज्रयोगिनी डाँडाको पादमा रहोको छ । बौद्ध, देबी बज्रयोगिनीको पादमा रहेको सपनीतीर्थ बहिमुर्खी र दूधमुखी दुई तल्ले गणेश मन्दिरसहित रहेको छ । बैशाख १ गते विक्रम संवत्को नयाँ वर्षको शुभारम्भ सँगै मेला लाग्ने भए पनि तीन दिन पहिले देखि सपनीतीर्थ भएर बग्ने त्रिवेणी र दूधवेणी नदी थुनेर बाँध तयार गरी यहाँ तलाऊ निर्माण गर्ने व्यवस्था गरिन्छ ।

हिजोआज यहाँ पानीको निकासका लागि पराल र स्याउला उपयोग गर्ने चलन रहेको छ । सपनीतीर्थसँग जोडिएको किम्बदन्तीअनुसार परापूर्वकालमा यहाँ सत्यवन्त राजा थिए । कुरै कुरामा उनकी कान्छी छोरीको विवाह कुष्ठरोरीसँग भयो । उनी नजिकैको पाटीमा कुष्ठ रोगीसँग बस्न थालिन् । चैत मसान्तको राति रोगीले नजिकैको दुई नदीको दोभानमा नुहाएमा रोग निको हुने सपना देखे । भोलिपल्ट बैशाख सङ्क्रान्तिका दिन त्यहाँ गोठालाहरु जम्मा भए । एउटा गोठालाले फट्याङ्ग्रोको खुट्टा चुँडेर नदीको दोभानमा फ्याँकिदिए । हेर्दा हेर्दै फट्याङग्रो त पहिलेको जस्तै भएर निस्कियो । गोठालाहरुले धेरै फट्याङग्रालाई प्रयोग गरेर हेरे । यी सबै दृश्यहरु नजिकै बस्ने रोगीले पनि देखे । उसले रातिको सपना सम्झिए ।

    घिस्रिँदै दोभानमा पुगेर नुहाएपछि उनको पुरानो रोग पनि निको भयो । यो कुरा एकान दुईकान गर्दै धेरैले सुने । जङ्गलबाट बगेर आउने नदीको पानीमा औषधि त मिसिएकै थियो । औषधिको प्रयोग गर्न ठीक समयको आवश्यक थियो । समयको अचूक उपयोगबाट दुःख नासियो । त्यसपछि धेरैले थाहा पाएर त्यहाँ नुहाए । यस क्षेत्रमा बसोबास गर्ने सबै निरोगी भए । समस्या समाधानको उपाय सपनामै देखिएको हुनाले यस ठाउँको नामै सपनी तीर्थ रहन गएको हो ।

सतिदेवी आत्मदा स्थान

टोखा देशको अष्टमातृका पीठमध्ये एक चण्डेश्वरी पीठ र महादेवस्थल टोखाको मुख्य बस्तीदेखि उत्तरतर्फ शिवपुरी पहाडको काखमा रहेको छ । नेपाल सम्वत ७९५ मा राजा नृपेन्द्र मल्लको राज्यकालमा चण्डेश्वरी मन्दिर बनेको भनिएतापनि चण्डेश्वरी क्षेत्र राजा अंशुवर्माको समयमा पनि विकसित रहेका कुरा लिच्छवीकालीन शिलापत्रले प्रस्ट्याउँछ । ने.सं. ५९३ को शिलालेख रहेको महादेव मन्दिर मल्लकालमा चारतल्ले पेगोडा शैलीको थियो र ९० सालको भूकम्पले भत्किएपछि गुम्बज शैलीमा ढालिएको बताइन्छ । टोखावासीमा नवविवाहित दम्पतीलाई यही मुस्कानेश्वर महादेवको टुँडाल तोरणमा कुंदिएका यौनजन्य कलाकृति देखाउन लैजाने प्रचलन छ । यस चण्डेश्वरी क्षेत्रको बारेमा स्वस्थानीमा पनि उल्लेख गरिएको छ । स्वस्थानीमा उल्लेख भएअनुसार सत्ययुगमा दक्षप्रजापतिले अश्वमेघ यज्ञ गर्दा सतिदेवी आगोमा हाम्फालेर आत्मदाह गरको स्थान भनी प्रसिद्ध छ । प्रत्येक महिनाको मसान्त र वैशाख १ गतेदेखि ४ गतेसम्म अन्य देवीदेवतासँग चण्डेश्वरी अजिमाँको पनि भव्य जात्रा लाग्ने गर्दछ । यस क्षेत्रमा १०८ थरि फूल फुल्ने गर्दछ ।

झोर १०८ कुण्ड

टोखाबाट ६ किमी टाढा रहेको झोर शिवपुरी राष्ट्रिय निकुञ्जको उत्तर पश्चिम पातोझोर गाउँ झ्वाट्ट हेर्दा मुस्ताङको थाकखोला क्षेत्रजस्तो लाग्दछ । जतासुकैबाट पानी मुहान निस्की पहिरो जाने नरम ढुङ्गा, माटो रहेको हुँदा यस बस्तीलाई झोर भनिएको हो । प्राकृतिक विपन्नबाट बच्न झोका बासिन्दा झोर महाँकाल र वैदेश्वर महादेवको आराधना गर्दछ । स्थानीय आदिवासी तामाङद्धारा डाँडामाथि बौद्ध स्तूप नष्ट भई प्राकृतिक गुफा मात्र बाँकी रहेको बताइन्छ । बौडेश्वर गुफाभित्र स्थापित महादेवको नाउँबाट यस तीर्थस्थललाई बौडेश्वर महादेव भन्न थालिएको बताइन्छ । ४० फिट उचाइ र २० मिटर लामो सुन्दर झरना, रुद्र सावित्री, सरस्वती भगवतीका मूर्तिले सजिएको गुफाभित्र प्राचिन अवशेष रहेका छन् । गुफा अगाडिको कुण्डभित्र १०८ कुण्ड रहेको विश्वास गरिन्छ । जसमध्ये पाञ्चजन्य कुण्ड, ऋषिकेश कुण्ड, देवदत्त कुण्ड, धनञ्जय कुण्ड र पाण्डव कुण्ड प्रख्यात रहेको छ । तामाङ बस्तीनजिक रहेपनि बौडेश्वर महादेव र झोर महाँकाल विशुद्ध प्राकृतिक बौद्ध स्थल बौदेश्वर गुफा र झोर महाँकाललाई अनेक हिन्दुस्तानी कथामा पनि जोड्ने गरेको पाइन्छ । तर झोर महाँकाल विशुद्ध प्राकृतिक बौद्ध स्थल हो । नेवार, क्षेत्री र ब्राम्हण पुगेपछि उक्त क्षेत्रमा शिवरात्रि, जनैपूर्णिमा, ऋषिपञ्चमी, नवरात्रि र अक्षयतृतीयाका दिन मेला लाग्ने परम्पराको थालनी भयो । जुन मेलामा वोन धर्म परम्पराअनुसार तामाङ, झाक्री ढ्याङ्ग्रो ठटाउँदै देवताको साधना गर्न पुग्दछ ।

झोरको पहाडी टाकुरामा तामाङ त्यसभन्दा मुनि सुगम टारमा क्षेत्री, ब्राम्हण र नेवारह रहेका छन् । भनिन्छ झोरका नेवारहरु टोखाबाट र क्षेत्री, ब्राम्हण नेपाल एकीकरणका लागि राजा पृथ्वीनारायण शाहसँग आई बसोबास गरेका हुन् । टोखालाई सेन्ट्रल प्वाइन्ट बनाएर यहाँबाट ट्रेकिङ रुटको सञ्चालन गर्ने उद्देश्यका साथ टोखामा करिब १० रोपनी क्षेत्रफलमा टोखा क्येबः मिनी फन पार्कको सुरुवात भएको छ । टोखा क्येबः मिनी फनपार्क शिवपुरी डाँडाको फेदमा रहेको छ । फनपार्कमा बेवी  पुल, समुन्द्री छालको अनुभव दिलाउने पुल, स्लाइडिङ पुल, चिल्ड्रेन पार्क, नेपाली तथा नेवारी फाष्टफुड रेस्टुरेन्ट, सभाहल लगायतका सुविधा रेका छन् साथै हर्स राइडिङ, फ्रि वाइफाइलगायतका सुविधा रहेका छन् । एक दिनको टोखामा साइड सिन गराएर एक रात टोखामा बिताएपछि यहाँबाट ककनी, गुरुजेभञ्ज्याङ बाघद्धार तथा सुन्दरीजल जान सकिन्छ ।

 

तपाईंको बिचार