Sunday, June 25, 2017  |    

परिषद्को बिबादले कता लैजादै छ ठमेललाई ?

प्रकाशित मिति: 2016/10/25

शिव अधिकारी

कार्तिक ९, काठमाण्डौ । ठमेल, सधै चर्चाको चरमचुलीमा रहने गरेको छ । चाहे त्यहाँ भित्रका विकास निर्माणको काम होस् या त अव्यवस्थाको कारण किन नहोस् । तर पछिल्लो समय अलि भिन्न तरिकाले ठमेलको चर्चा–परिचर्चा भइरहेको छ ।  

नेपाल भ्रमणमा आउने ८० प्रतिशत पर्यटकले यस क्षेत्रको भ्रमणा गर्छन । जसको कारण यो क्षेत्र स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै परिचित छ । त्यसकारण यस क्षेत्रसँग देशकै इज्जत र प्रतिष्ठा जोडिएको छ । त्यही कुरालाई मध्यनजर गर्दै ठमेलको विकास र व्यवस्थापनका लागि विसं २०४७ सालमा स्थापना गरियोे ठमेल पर्यटन विकास परिषद् । स्थापनाको यो अवधीमा ठमेलको विकास लागि परिषद्ले केही हद सम्म ठुलो समय खर्चिएको छ । र यसले ठमेल विकासका लागि धेरै योजनाहरु पनि बाहिर ल्याएको छ । यही ठमेलको समग्र विकासका लागि स्थापित संस्था ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) पछिल्लो समय बिबादको भूमरीमा फसेको छ । 
दुई समूहमा विभाजित भएका परिषद्का सदस्यहरु अझै एकै ठाँउमा बस्न सक्ने अवस्था निर्माण भएको छैन् । जसको कारण करिब एक महिना देखि परिषद् बन्धक बनेको छ । परिषद्को समग्र कामकारबाही यतिबेला ठप्प छ ।

बिबाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक चालेको कदमहरु पनि निरर्थक बनेको छ । ठमेलको विकासका लागि स्थापित संस्था विगत १ महिना देखि बन्धक हुँदा  ठमेल थप अस्तव्यस्त बन्न पुगेको छ । समस्या समाधनको लागि समन्वयकारी भूमिकामा देखिएको जिल्ला प्रशासन कार्यालयले पटक पटक चालेका कदमहरु पनि निरर्थक बन्दा प्रशासनमा समेत राजनीतिक प्रभाव परेको कुरा बुझ्न ग्राह्रो छैन । उसै त पछिल्लो समय ठमेलको चर्चा सकारात्मक भन्दा पनि नकारात्मक तरिकाले भइरहेको छ। ठमेलको सडक कुनै दुरुदराजको गाउँको भन्दा भिन्न छैन अझ कहिले ढल फुट्ने त कहिले तारहरु सडकमै असरल्ल छरिएको देख्दा जो कोहीलाई पर्यटकीय नगरिको हालत देखेर दया लाग्न सक्छ । रात्रीकालिन समयमा यहाँ देखिने अनेकन हर्कतहरुका त कुरै छाडौ । एउटा सार्वजनिक शौचालय समेत नभएको यो स्थानलाई हामी अझै भन्दै छौ ठमेल अन्तराष्ट्रिय मार्केट हो । 

त्यसकारण समस्या समाधान गरि परिषद्लाई निकासदिई ठमेलको विकास थाल्न सबै लाग्नुपर्छ । संस्थाका अन्य सदस्य, सल्लाहकार र पूर्वअध्यक्षहरु पनि एकले अर्कोलाई भड्काउने, उत्तेजित बनाउने भन्दा पनि समस्या समाधान गरि संस्थागत हितका लागि एकठाउँमा उभिनु जरुरी छ । भने बिबाद समाधानका लागि समन्यकारी भूमिकामा देखिएको जिल्ला प्रशासन कार्यालयले ठोस निर्णय गर्नु जरुरी छ । नियामक निकायको मौनताका कारण समस्या अझ लम्बिने सम्भावना बढ्दै गइरहेको छ । क्षणिक स्वार्थका लागि भएको व्यवसायी—व्यवसायी बीचको द्वन्द्वले भोली ठमेल पर्यटन विकास परिषद्को भविष्य नै अन्यौलमा पर्यो भने यसमा संलग्न सबै कलंकको टिका थाप्न बाध्य हुने छन् । 

                                                  

                                                                          अधिकारी, गन्तव्य नेपाल गु्रपका अध्यक्ष हुन ।

तपाईंको बिचार