Monday, October 23, 2017

धार्मिक महत्व बोकेको दक्षिणकाली जाने बाटो

प्रकाशित मिति: 2016/10/28
सुरेन्द्र लोहनी
सुरेन्द्र लोहनी

कार्तिक १२, काठमाडौं । काठमाडौं उपत्यकाका चारै दिशामा अवस्थित धार्मिक स्थल वा पीठहरुको अवलोकन गर्ने सिलसिलाअन्तर्गत, ती क्षेत्रका आ–आफ्ना भौगोलिक विशेषता वा मनोरम प्राकृतिक दृश्यहरुका झट्ट परिकल्पना गर्दा प्राथमिकताका साथ, स्वभावतः दक्षिणकाली भ्रमणको उत्कण्ठाले सबैभन्दा बढी रोमाञ्चित गराउँछ । यसो हुनुमा खासगरी काठमाडौंको दक्षिणतर्फ रहेको भू–भागका प्राकृतिक बनोट, नदीनालाका श्रव्यदृश्य र तरेली पर्दै उक्लदै गएका हरियाली पहाडले एकदम मन लोभाउने र चैतन्यता प्रदान गर्ने गर्दछ । कात्तिक महिना सुरु भएको यतिबेला भने बागमती किनारका फाँटमा झुलेका पँहेला धानका सघन दृश्यले खासगरी पर्यटकको मानसपटलमा कान्तिपुरी नगरीको एक अविस्मरणीय छाप छोड्छ । यस्तो सुखद छाप छोड्नुमा पारिपट्टी उत्तरमा अवस्थित सेता हिमालका श्रृङ्खलाले पनि कम रोमाञ्चकता थपेको हुँदैन ।

गन्तव्यस्थलतर्फ बढ्ने क्रममा टौ दहको मनमोहक जलकुण्डको रसास्वादन गर्दै र साइवेरीयादेखि बसाइसराइ गर्दै आएका आगन्तुक हाँसका बथान पानीमा डुबुल्की लगाएको हेर्दै हात्तीवनको उकालो चढ्दा नचढ्दै धानका अविरल फाँट पारीको हिमालले यात्रुलाई एकछिन अडिएर त्यस दृश्यको आत्मासाथ गराउँछ । यसकारणले त्यस प्रदेशमा मानवको भावनात्मक मन खिच्ने र प्रकृतिको उद्दत वातावरणले चुम्बकीय शक्तिको काम गरिरहेको छ भन्नु अत्युक्ति नहोला । विदेशी तथा स्वदेशी यात्रुलाई मदहोस बनाइदिने अर्को कारक तत्व त्यहाँको प्रदूषणरहितको स्वच्छ वायु पनि हो । काठमाडौं उपत्यकाको अद्भूत वायुमण्डलीय चापको विश्लेषण गर्दा धेरैजसो अवस्थामा पूर्व–पश्चिमको हावाको प्रवाह चलिरहने कारणले गर्दा पनि शहरको दूषित वायु दक्षिणतर्फ बग्न नपाउने हुँदा त्यो क्षेत्रले सुरक्षित रही स्वच्छता र निर्मलता बनाउन सकेको हो भन्न सकिन्छ ।

काठमाडौंदेखि गन्तव्यस्थल दक्षिणकालीसम्मको झण्डै २१ किलोमिटर लामो बाटोको बीचमा अत्यन्तै विशिष्ट र पुजनीय ऐतिहासिक वा पुरातन धार्मिक आस्था बोकेका पुण्य स्थलहरु दर्शन गर्न पाइने यथार्थता कसैबाट पनि छुपेको छैन । प्राचीनकालमा पोखरीको हैसियतमा रहेको काठमाडौंको खाल्डोको जल प्रवाहलाई महामञ्जुश्रीले चोभारको पहाडलाई काटी र निस्कासनपश्चात मानव वस्ती लायकको एक सुन्दर उपत्यकाको संरचना गरेको पौराणिक एतिहासिक कथा बनेर बसेको छ । यसो नगरिदिएको भए आजका हाम्रा विष्णुमती र बागमती नदीहरु कहाँ र कसरी बग्ने थिए होला, अनुमानको विषय हुन सक्छ । नदीको बगर छेउको जलविनायक गणेश भगवानको मन्दिर १६औं सताब्दीदेखि अविरल आस्थाको केन्द्र रहिआएको जगजाहेर नै छ ।
 
अनि अलि पर रहेको टौ दहले पनि त्यसै बेलाको युगको यथार्थपरक तथ्यको कहानी बोलेकै छ, जतिबेला महामञ्जुश्रीले दहमा विराजमान भएका कर्कोटक नाग राजालाई संरक्षण दिने उपक्रममा त्यसै टौ दहको आविष्कार गरेको पुरातन दस्तावेज हामीबीच छ । त्यस्तै अर्का पुजनीय रातो मछिन्द्रनाथ एवं मीननाथका गुरु आदिनाथको मन्दिर पनि मल्लकालीन समयदेखि त्यही चोभारको पहाडको चुचुरोमा अवस्थित छ र दुवै हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बोकी अद्यावधि स्तुत्य रहँदै आएको छ ।

यात्राको गति फर्पिङ्को प्राङ्गणमा आइपुग्नासाथ एक अर्को तपो–भूमिमा प्रवेश गरेको शुभसङ्केत मिल्छ । यहाँ शिखानारायणको विष्णु मन्दिर सातौं शताब्दीका प्रतापी राजा अंशुवर्माको पालामा निर्माण भएकाले पनि यस क्षेत्रको गरिमा र सम्प्रभूतालाई अक्षुण राख्न सफल भएको हो । मन्दिर परिसरका माछापोखरीले पनि धार्मिक सहिष्णुता र सौहार्दको सन्देश दिइरहेका छन् ।

चट्टानी पर्वतमालाले बनेको यस सुन्दर प्रदेशमा धेरै गुफाहरु मौजुद छन् । यसमध्येको एउटा गुफामा आठऔं शताब्दीमा स्वादभ्याली भन्ने ठाउँबाट पाल्नुभएका महास्रष्टा श्री पद्मसम्भव अर्थात गुरु रिम्पोचेले १२ वर्ष त्यहाँ गुप्तवास रहि तपस्या गर्नु भएको किम्बदन्ती छ र पछि उहाँले नै तिब्बतमा गई बौद्ध धर्म स्थापना गर्नु भएको थियो ।

त्यसबीच फर्पिङमा उल्लेख्य संख्यामा बौद्ध गुम्बाहरु निर्माण भएकाले पनि त्यस क्षेत्र अब बौद्ध र हिन्दू धर्मको सङ्गम स्थल भएको छ । अर्कोतर्फ नाथ सम्प्रदायका पूजनीय गुरुदेव गोरखनाथले पनि त्यही गुफामा बसी ध्यान गर्नु भएको विश्वास गरिन्छ । अगाडि बढ्दै जाने क्रममा २ किलोमिटर तल रहेको महाकाली मन्दिर यथार्थमा समस्त हिन्दूको अत्यन्तै विशिष्ट र पावन भक्तिभावको पवित्र स्थल हो । साँच्चै नै, दक्षिणकाली असङ्ख्य नरनारीका इस्टदेवी मात्र हुनुहुन्न, स–सम्मानसहित आराधना गरिने श्रेष्ठतम् भगवतीको प्रतीकको रुपमा पनि स्थापित हुनुहुन्छ ।

यसरी यस्ता अनेक धार्मिक सम्पदाहरुका प्रचूरता भएका केन्द्रमा आउने जाने राजमार्ग कति सुगम र कष्ठरहितको हुनुपर्दछ भन्ने जिज्ञासा उठ्नु स्वभाविक छ । बितेका वर्षहरुसम्म पनि धर्माटन गर्न जानेहरुको लागि हालको दक्षिणकाली मार्ग त्यति असुविधाजनक थिएन । परन्तु, हाल आएर त्यस राजमार्गले धान्नै नसक्ने गरी सवारी साधनको चाप खपिरहेको छ । प्रारम्भमा यो बाटो मन्दिरसम्म मात्र पुग्ने गरी निर्माण सामग्री र भार क्षमतालाई दृष्टीगत गरी बनाइएको थियो र समयोचितको मर्मतसम्भारपछि काठमाडौंको यतिबेलाको सीमित जनसंख्यालाई धान्न सक्ने क्षमताको निर्माण भएको थियोे । तर अहिले त्यो बितेका दिन जस्तै सुखद यात्रा रहला भन्ने सोच्ने कुरा कल्पना गरे सरह हुने भएको छ । यतिबेला यो राजमार्ग भएर झण्डै ३५० वटा टाटासुमो गाडी यात्रु लिएर बल्खु हेटौंडा आवत–जावत गर्छन् र यी गाडीका निरन्तरता बिहानदेखि रातिसम्म निर्वाधरुपले चल्छन् । यति मात्र होइन, मध्यशहरमा खानेपानी ओसार्ने सयौं ट्याङ्करको ढुवानीले पनि सवारीको चाप बढाएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने ट्रकहरु क्षमता भन्दाबढी भारसहित प्रतिस्पर्धात्मक ढङ्गबाट चल्ने गर्दा दुर्घटनाका घटना पनि निकै हुने गरेका छन् । खासगरी चोभारदेखि दक्षिणकाली खण्डसम्मको बाटोमा धेरै ठुला खाल्डाखुल्डी रहेकाले पिच भएको सडक भनेर परिभाषा दिनु निरर्थक भएको छ ।

उता सडकबाट मुस्लो जस्तो निस्कने धुलोले यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या आउने गरेको छ । अवाञ्छित धुँवाको बादलभित्र रुमलिनु पर्दा त्यहाँका रमणीय दृश्यलाई ओझेलमा पारिदिएको छ । अब दक्षिणकाली घुम्न जाने विदेशी पर्यटकको लागि यस्ता समस्याले एक घण्टाको त्यो भ्रमण यात्रा निकै सकशपूर्ण र कष्ठदायी हुने गरेको छ । त्यसै भएर कतिपय ट्राभल एजेन्सीले यो गन्तव्यस्थललाई अर्को वैकल्पिक व्यवस्था नभएसम्म स्थगन गरेका छन् । यसर्थ काठमाडौं–दक्षिणकाली राजमार्गलाई प्राथमिकताका साथ चौडा गर्नु टड्कारो आवश्यकता भएको छ । त्यो बाटो धर्माबलम्बीको लागि मात्र नभई हात्तीवनस्थित असङ्ख्य होटलमा बस्न जाने पर्यटकको लागि पनि भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

 

तपाईंको बिचार