Sunday, June 25, 2017  |    

उल्लासमय चाड तिहार

प्रकाशित मिति: 2016/10/28
शिव अधिकारी
शिव अधिकारी

नेपाल संसारकै एउटा विविधताले भरिपूर्ण देश हो, जहाँ प्राकृतिक, भौगोलिक, सामाजिक, साँस्कृतिक एवं भाषिक रुपमा अनेकता रहेको छ । विभिन्न क्षेत्र एवं जातजातिहरुको आ–आफ्नै मौलिक एवं सांस्कृतिक चाडपर्वहरु छन् । जसमध्ये हिन्दूहरुको लागि तिहार अथवा दीपावली दोस्रो मुख्य पर्वको रुपमा मनाइन्छ । यो पर्व नेपालका हिन्दूहरुका साथै अन्य समुदायले समेत भव्यतापूर्वक मनाउने गर्दछन् ।

प्रायः चाडहरु चन्द्रमासअनुसार मनाइने हुँदा तिहार पनि सोअनुरुप कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । यही पाँच दिनलाई यमपञ्चक पनि भनिने चलन छ । यस चाडले दिदीभाइले एकापसमा स्वस्थ दीर्घ जीवनको कामना गर्नुका साथै दाजुभाइले दिदीबहिनीको संरक्षकत्व एवं एकापसमा प्रेमभाव अभिवृद्धि गर्दछन्, साथै मानवको अन्य जीवहरुसँगको सम्बन्ध र उपादेयता पनि दर्शाउने एवं बुझाउने प्रयास गरिएको हुन्छ ।

यमपञ्चकका पाँच दिनहरु

१. कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहारका दिन वातावरण र प्रकृतिमा सन्तुलन ल्याउन मद्दत पु¥याउने सर्वभक्षी चरा कागको पूजा हुन्छ । कागलाई सन्देशवाहकको रुपमा हेरिने हुँदा यसबाट शुभ सन्देशमात्र प्राप्त होस् भनी पूजा गरिन्छ । यसका साथै कागलाई विभिन्न प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना गर्ने पंक्षीको रुपमा पनि चिनिन्छ । कागको विष्टा पर्नु अशुभ मानिन्छ भने कागले आफ्नो खुट्टाले टाउकोमा छोएर उड्नुलाई पितृ आशीर्वाद भन्ने चलन पनि छ ।
यो दिन आँगन, कौसी वा छानामा कागलाई विभिन्न खानेकुराहरु राखेपछि मात्र स्वयं खाने चलन छ । यो दिन शुभ हुनेहुँदा घरमा धातुसम्बन्धी सुनचाँदी तामा इत्यादिको वस्तु किन्ने चलन पनि छ । यसबाट धनदेवी लक्ष्मी प्रशन्न हुन्छिन् भनिन्छ । त्यसैले यो दिनलाई धनतेरस पनि भनिन्छ ।

२.कुकुर तिहार वा नरक चतुर्दशी
यो दिन प्राचीन समयदेखि मानवमित्र, हितैषी मित्रको रुपमा परिचित कुकुरको पूजन हुन्छ । बिहानै पहिला कुकुरलाई फूल, अबीरले पूजा गरी सयपत्री, मखमली आदि फूलको माला लगाई दिई मीठो भोजन दिने गरिन्छ । कुकुर यमदूतको रुपमा पनि चिनिन्छ साथै भैरवको बाहन पनि हो । यो दिन कुकुरलाई सम्मान दिएर हाम्रो हिन्दू परम्पराले जीवप्रेमको परिचय दिएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । द्वापर युगका भगवान् श्रीकृष्णले नरकासुरलाई वध गरी गोपीनीहरुको रक्षा गर्नुभएको कुरा पनि उल्लेख भएको पाइन्छ ।  
 
३. गाईतिहार÷लक्ष्मी पूजा
हिन्दू परम्पराअनुसार सृष्टिको सुरुदेखि नै गाईलाई परोमपयोगी मित्र, संरक्षक एवं सहयोगीको रुपमा व्याख्या गरिएको र गाईलाई सर्वदेवस्वरुप पूजन गर्दै आइएको छ । गाईलाई मातालक्ष्मी एवं धरतीसमेतको रुपमा पुजिन्छ । प्राचीनकालदेखि नै गाईको दूधमात्र होइन, गोबर एवं मूत्रको पूर्ण प्रयोग भइरहेको छ । यो दिन गाईको पूजा गर्ने, माला लगाइदिने एवं गाईलाई मनपर्ने खानेकुरा दिइन्छ । आजकल सामाजिक कार्यको निम्ति पनि देउसी, भैलोबाट रकम संकलन गरिन्छ । केही रुपमा देउसी भैलोको मौलिक रुप हराएर आजकल तडकभडकसहितका आधुनिक गीतहरु गाइन थालिएको छ ।

लक्ष्मी पूजाको निम्ति विभिन्न मिठाईका साथै घरघरमा सेल, चिनी अनारासा, झिनुवाजस्ता परिकारहरु तयार गरिन्छ । यो रात्रिलाई सनातन हिन्दू परम्पराको चारमध्ये एक महत्वपूर्ण रात्रि अर्थात् सुखरात्रि पनि भनिन्छ ।

४.गोवद्र्धन  
हाम्रो जस्तो कृषिप्रधान देशमा गोरुबाट जुन उपादेयता प्राप्त गर्न सकेका छौँ, त्यसलाई मध्यनजर गरी यो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गरिन्छ । विशेष सम्प्रदायमा गोबरको ढिस्को बनाई गोवद्र्धन पहाडको पनि पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले गोकुलबासीलाई इन्द्रको प्रकोपबाट बचाउन यसै गोवद्र्धन पहाडलाई उचाली यसको मुनी संरक्षण दिएको र अन्त्यमा इन्द्रले माफी माग्नुपरेको पौराणिक कथामा उल्लेख छ ।
यो दिन नेवार समुदायमा म्हः पूजा अर्थात् आफ्नो शरीरको पूजा गर्ने विशेष प्रचलन छ । यसै दिनदेखि नेपाल सम्वत्अनुसार नयाँ वर्ष पनि सुरु हुन्छ ।

५. भाइटीका
कात्तिक द्वितीयाको दिन यो चाडको अन्तिम र मुख्य दिनको रुपमा लिइन्छ । यस दिन दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई पूजा गरी सप्तरंगी टीका लगाइदिनुका साथै तेलधाराले परिक्रमा गर्ने र कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिने एवं विभिन्न परिकार, फलफूल, रोटी इत्यादी खुवाई मृत्युका देव यमराजको दृष्टि नपरोस्, सदा स्वस्थ, सुखी रहनका लागि कामना गर्दछन् । त्यस्तै दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दक्षिणा दिनुका साथै आफ्नो पूर्ण संरक्षणको कामना गर्दछन् । यमदूतलाई नष्ट गर्ने प्रतीकस्वरुप हाडे ओखरलाई मूल ढोकामा प्रत्येक दाजुभाइको नाममा फोर्ने चलन छ ।
पौराणिक कथाअनुसार यो दिन मृत्युको देव यमराजलाई उनकी बहिनी यमुनाले टीका लगाइदिएको र यमराजले पनि आशीर्वादस्वरुप उक्त दिन दाजुभाइलाई टीका लगाई आशीर्वाद दिएमा त्यस्ता दाजुभाइलाई उक्त दिन मरण हुनुपर्ने छैन भन्ने वरदान दिएको हुँदा दाजुभाइको संरक्षण हुने विश्वास गरिन्छ । दिदीबहिनी नहुनेले नजिकका दिदीबहिनीहरुबाट टीका लगाउँछन् ।

नेवारी प्रचलनमा भने खासगरी दिदीले भाइलाई टीका लगाइदिने प्रचलन छ । साथै विशेष सगुनस्वरुप माछा, मदिरा, मासु, मास एवं अण्डा पनि राख्ने
चलन छ ।

लक्ष्मी पूजा र भाइ टीकामा पूजा गर्दा विमिरा र कटुस पनि अत्यावश्यक रुपमा प्रयोग हुन्छ ।
 हाम्रो देश विविध संस्कृतिले भरिपूर्ण भएको हुँदा सांस्कृतिक पर्यटन र खासगरी चाडपर्वलाई लक्षित गरी पर्यटन प्रवद्र्धन गर्न सकेमा ठूलो योगदान हुन्छ । हाम्रा कुनै पनि चाडपर्वलाई राजनीतिक वा समाजिक विकृतिबाट बचाउनेमात्र होइन कि पूर्ण संरक्षणको पनि आवश्यकता छ । आफ्नो संस्कृतिको संरक्षण हरेक राष्ट्रले गरेको हुन्छ । हामी कहाँ केही राजनीतिक विकृतिले यसलाई बिगार्न पनि सक्दछ । हामी सामाजिक रुपमा सतर्क भई यसको पूर्ण संरक्षण गर्नुपर्दछ । यदि हामीले विभिन्न जनजाति, भौगोलिक स्थानअनुसारका चाडपर्वहरुलाई लक्ष्य गरी पर्यटन विकास गर्ने कार्यमा लाग्नसके पर्यटन विकास र सांस्कृतिक संरक्षण दुवै एकैसाथ हुन सक्ने कुरामा कुनै शंका छैन । नेपाल खासगरी काठमाडौँ उपत्यकाभित्र नेवारी संस्कृतिमा प्रचलनमा आएका चाडपर्वहरुलाई एक वर्षभरिका सम्पूर्ण दिनहरुभन्दा पनि बढी छन् भन्ने भनाईलाई संरक्षित रुपमा चरितार्थ गरौँ । हाम्रो वैदिक सनातन धर्म, संस्कृतिको पूर्ण संरक्षण गरौँ, नेपाललाई यसैले संसारमा चिनाउँछ ।

 

तपाईंको बिचार