Sunday, June 25, 2017  |    

ठमेलको विकासमा रमिता नगर

प्रकाशित मिति: 2017/01/26

राजधानी काठमाण्डौ ओर्लने पर्यटकको पहिलो गन्तव्य ठमेल, रंगीन दुनियाँको संसारमा अब्बल । तर सरकारी नजर र ठमेलका स्थानिय व्यवसायी समेतले पर्यटकको खानपिन, आवासदेखि घुमफिर सम्मको पहिलो गन्तव्यका रुपमा ठमेललाई परिभाषित गर्ने गरेको पाईन्छ । तर ठमेललाई भजाएर आफ्नो व्यावसायिक सफलतामा रमाउने व्यावसायी, पर्यटकको आँकडामा रमाउने सरकारी रबैया र ठमेलको विकास भजाएर स्थापित बिकासे संस्था कसैलाई पनि ठमेलको विकासमा खास चासो भएको पाईन्न ।

काठमाण्डौको मुटु हुनुका नाताले साँघुरा, फराकिला गल्ली, पिच सडक, बिजुलीका खम्बा र अग्ला घरमा सजिएका पर्यटक लक्षित सामान बेच्नेहरुको कुनै कमी छैन । समस्या छ, त वर्षौदेखीको ढलसमस्या, सडक बालबालीका, रात्रिकालिन व्यावसायको आडमा पाएको छुटमा बेश्याबृत्ति गर्नेहरुको भिड ।

पहिलो समस्यामै जाउँ, बर्षौदेखीको ढल । महानगरपालिका यसबारे बेखबर छैन, यद्यपी टालटुले प्रबृत्तिमा कहिलेकाही टालटुल गरेकै छ । विकासे संस्थाका रुपमा कहलिएका ठमेल पर्यटन विकास परिषद् लगायतका संस्था समेत रमितेको भिडमा थपिन आईपुगेका छन । यसमा स्थानिय व्यावसायीको मौनता झनै अचम्मको छ । ठमेलको व्यावसायबाटै ठालु बन्ने धुनमा प्रशासन र विकासे संस्थाहरु लागेकै थिए, व्यावसायीहरु समेत यसमा थपिन आईपुग्दा समस्या ज्यूका त्यूँ छ ।

जिम्मेवारी लिएको पक्षले जिम्मेवारी बहन गरेन भने घच्घच्याउने र अन्तिम बिकल्पका रुपमा ढल समस्या समाधानमा व्यावसायीहरुको उत्तरदायित्व रहनुपर्छ की पर्दैन, भन्ने प्रश्न मुल रुपमा सोचनिय छ । अन्यथा ढल फुटेर बाटो नर्कमा परिणत हुँदै गर्दा नाक थुनेर मुखदर्शक बन्न कानुनी अड्चन नहोला, तर मुखदर्शक भएर बस्नु पक्कै पनि सभ्य संस्कृति होईन ।

अर्कोतर्फ सडक बालबालिका, बाटोभरी झुण्डिएका बिजुलीका अनियन्त्रीत तार समेत ठमेल कुरुप बनाउन लागि परेका छन् । गाँस, बास, कपासको अधिकारको जति ठुलो चर्चा हुन्छ, त्यसको तुलनामा देशैभरी रहेको समस्या ठमेलमा पनि हुनु अस्वभाविक होइन, यद्यपी यसमा पनि बिकासे संस्था र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको ध्यान पुग्न सकेको देखिदैन । अव्यवस्थित बिजुलीका तारले ठमेललाई कुरुप बनाईरहँदा महानगरपालिका अन्र्तगतका निकायहरुको खास चासो नपुग्नु चिन्ताको विषय हो । बिपत्तीबाट मात्रै पाठ सिक्ने संस्कृति बिदेशी पर्यटकहरुका लागि समेत टिठलाग्दो हुनसक्छ ।

बिदेशीको प्रत्यक्ष संस्कृति भित्रने ठमेलमा आन्तरीक संस्कृति लोप हुँदै जानु अर्को चिन्ताको विषय हो । सत्यकुरा के हो भने, ठमेलमा जेजति पश्चिमा संस्कृति अनुसरण गर्दै डान्सबार खोलिएका छन, यसमा पर्यटकहरुले स्वदेशमा रहँदा देखेका भोगेका कुराहरुको त्यति महत्व नहोला, जति नेपालको लोक संस्कृति र रोधी घर उनीहरुको लागि महत्वका हुनेछन । डान्सबार आवश्यक छैन भनिएको हैन, यद्यपी सकारात्मक विभेदका रुपमा लोकसंस्कृतिको बढ्ता प्रचार गरिदा उत्तम हुन्थ्यो कि भन्ने मात्रै हो ।

राज्यसँग रात्रिकालिन व्यावसायको ठेकेदारी गर्छौ भनेर बार्गेनिङ गर्नेहरुले बेश्याबृत्तिलाई प्रश्रय दिएको र अपराध बढेको प्रति आम जनमानसको चिन्ता हो । यही बिचमा समलिङ्गी यौनकर्मीहरुको समस्या पनि थपिन आएको छ । यस्तोमा ठमेल भनेको यौन तिर्खा मेट्ने केन्द्रको रुपमा बिकसीत हुने स्थीति नहोला भन्न सकिन्न ।

मसाज सेन्टरका नाममा खुलेका धेरैजसो व्यावसायीहरुले देखाउने एउटा र गर्ने यौनधन्दाका तस्वीरहरु पनि बेलाबखत बाहिरीएकै छन । यसमा पनि स्थानिय प्रशासनको मौनता बुझिनसक्नु छ । हुनतः विकासे संस्थाका नेतृत्वहरु नै कुनै न कुनै रुपमा यि जालोहरुबाट बाहिर निस्कन नसक्ने आरोपहरु पनि उत्तिकै उठ्ने गरेको छ । यसमा उनीहरुको धारणा पनि स्पष्ट रुपमा बाहिर आउनै पर्छ । बिकृतिका रुपमा रहेका ड्रग्स, कालोबजारी र ठमेलको आन्तरीक सुरक्षामा व्यावसायी, विकासे संस्था र प्रशासन ऐक्यबद्ध रुपमा अगाडि बढ्ने हो भने समस्याको समाधान टाढा छैन । नत्र पर्यटकहरुको आँकडमा मात्रै केन्द्रित हुने हो, भने ठमेलका समस्यालाई समस्त नेपालीहरुको जनजिवनसँग पर्यटकहरुले सामान्यीकरण गर्ने स्थीतिले कसैको हित नगर्ला ।

यसमा स्थानिय प्रसासनको भुमिका अहंम हुने भएपनि नागरिक खबरदारीको लागि व्यावसायी बिचको एकता र त्यही एकताले जन्माएको विकासे संस्थाका नेतृत्वलाई ‘पूस एण्ड व्याकको’ अवधारणामा समाहित गरिनुको बिकल्प छैन । 

ठमेलमा विकासे संस्थाको नाममा राजनीतिको ठेक्का लिने छुट कसैलाई छैन, केन्द्रिय सरकारको आलोचना गर्ने र आफुलाई सभ्य सुसंस्कृति ठान्ने नेतृत्व तथा तिनीहरुलाई चुनेर पठाउने व्यावसायीलाई पनि बारम्बार गल्ती गर्ने छुट छैन । यस्तोमा गुट बनाएर ठमेललाई राजनितीको सिकार बनाउनु आफैमा अपराध हो, चाहे त्यो जिम्मेवार नेतृत्वबाट होस वा गलत नेतृत्व चुन्ने व्यावसायी या सरकार सबैको उत्तिकै भमिका रहने कुरालाई नकार्न सकिन्न । यस्तोमा सक्रिय नागरिकले खबरदारी गर्दै ठमेलमाथिको भरोसामा सबै पक्षलाई समाहित गर्नुको बिकल्प छैन ।

तपाईंको बिचार