Tuesday, September 19, 2017

सगरमाथादेखि सशक्तीकरणसम्म

प्रकाशित मिति: 2017/06/27
शैली बस्नेत
शैली बस्नेत

नेपालीको हिमालसँग नजिकको नाता छ । धेरैका लागि यो गर्वको सम्बन्ध रहेको छ । सन् २००८ मा मेरा लागि सगरमाथा गर्वबाट अनुभवमा परिणत भयो । त्यहाँबाट खुलेको ढोकाबाट चियाउँदै जाँदा सन् २०१७ मा बल्ल नेपाली भूमिमै उभिएर संसारलाई नेपाल पस्किने मौका जु¥यो । हिमालयन ट्राभल मार्ट २०१७ को सन्दर्भमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडिया कन्फरेन्स (आइटिबिएमसी) मार्फत । नेपाली अर्थतन्त्रले दश लाख पर्यटकको सपना देखेको झण्डै दशक बितिसक्यो । यस अवधिमा विश्व पर्यटनले नयाँ नयाँ ट्रेण्ड अपनाइसकेको छ । त्यसमा ब्लग र अनलाईन मिडियाले यस व्यवसायको ढाँचामा कति परिवर्तन ल्याएको रहेछ भन्ने कुराको गहिराइ मैले यस कार्यक्रमबाट बुझे ।

सातै महादेशका हिमाल आरोहण गर्ने क्रममा सगरमाथा कहाँ छ भन्ने प्रश्नको जवाफमा भारतदेखि अलास्कासम्म भन्ने जवाफहरु म आफैंले सुनेको थिए । अफ्रिकाको प्रेस कन्फरेन्समा त त्यहाँका पत्रकारहरु किलिमन्जरो भन्दा पनि अग्लो हिमाल संसारमा छ भनेर चकित भएका थिए । नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठलाई यो अनुभव सुनाउँदा हामले जवाफ पाएका थियौं कि नेपाली पर्यटन क्षेत्रको जोड प्राय बीटुबी मा हुने गरेको छ, हामी त्यसैमा संघर्ष गरिरहेका छौं । तर प्रत्यक्ष ग्राहककहाँ पुग्न नसकेकाले हाम्राबारेमा विश्वको ठूलो हिस्सा अनभिज्ञ छ । आइटिबिएमसी संसारको ठुलो हिस्सालाई नेपाल चिनाउने प्रयास तर्फको एउटा पाइला बन्न पुग्यो । पर्वतारोहण र ब्लगिंग दुबैमा विश्वले नै सम्मान गर्ने एलान आर्नेटको साइटमा वार्षिक दशदेखि तीस लाख भिजिटर पुग्ने गरेको उनले बताए । उनको प्रस्तुतिमा हिमाल चढ्दाका अनुभवभन्दा पनि ती अनुभवबाट ब्लगिंगको संसारमा उनले कमाएको विश्वास र त्यसको व्याख्या उनले गरे । जुन हालका लागि नेपाली पर्यटन क्षेत्रका निम्ति बढी सान्दर्भिक विषय हो । 

एकातिर संसार ब्य्रोस्योरबाट ब्लगमा गैसक्यो । अर्कोतर्फ ब्लगहरु यति धेरै छन् कि ट्राभल कम्पनीहरु जुनसुकै ब्लगरमाथि लगानी गर्ने अवस्थामा छैनन् भन्ने कुरा ड्यामियान कुकले स्पष्ट पारे । उनको प्रस्तुती यति वस्तुपरक थियो कि प्रोफेसनल ट्राभल ब्लगर्स एसोसिएशनका अध्यक्ष म्याट गिब्सनले आफनो तयार गरिएको प्रस्तुती छोडेर ड्यामियान कुकसंग थप अन्तक्रिया गरे । यसले गर्दा एकातिर ब्लग र अनलाइन मिडियाको भूमिका पनि प्रष्ट भयो, अर्कोतिर कार्यक्रममा उपस्थित सयौं ब्लगरहरुका लागि समेत सिक्ने कुरा भयो । 

मैले निम्न बुँदाहरुमा आइटिबिएमसीका प्रस्तुतिहरुको निचोड पाएँ 

विश्व पर्यटन अनलाइन प्रविधिमा गैसकेको छ । ग्राहकहरु छापिएका पाना भन्दा स्क्रिनमा बढी समय बिताउँछन् र उनीहरुको निर्णय त्यसैबाट प्रभावित हुन्छ ।
पर्यटकहरु नै आजका दिनका सबैभन्दा प्रभावकारी विज्ञापनकर्ता हुन्, किनभने प्रायः सबै सामाजिक सञ्जालमा भ्रमणका हरेक विशेषता पोष्ट गरिरहेका हुन्छन् । यसले ती पर्यटकका घेरामा रहेका मानिसहरु माझ ससक्त प्रभाव पार्दछ । त्यसैले पर्यटक व्यवसायीहरुले विशिष्ट सेवा सहित सहज इन्टरनेट प्रदान गर्नैपर्छ ।
गन्तव्य एक्लै विक्दैन, आजका दिनमा विक्ने र विकाउने वस्तु कथा हो । ब्लगर्सहरुहरुको शुरुवात यसै आवश्यकताबाट भएको हो । नेपाली पर्यटन क्षेत्र यतातिर सुस्त देखिन्छ । 
विश्वव्यापीरुपमा ब्लगहरुको संख्या प्रशस्त छ र सबै ब्लगर्सहरु उत्तिकै विश्वसनीय तथा प्रभावकारी छैनन् ।  त्यसैकारण पर्यटन कम्पनीहरुले अध्ययन गरेर मात्र ब्लगर्सहरुमा लगानी गर्नु उचित हुन्छ ।

सिक्न पर्ने र सान्दर्भिक विषयले भरिएको आइटिबिएमसी समग्रमा निकै सफल रह्यो । सुर्धाने पक्षहरु पनि नभएका होइनन् । एकाध प्रस्तुतीहरु अपरिपक्व थिए । तिनले भन्दा विज्ञहरुले बढि समय पाउनु राम्रो हुन्थ्यो । नेपालको छवि निमार्ण हुने अन्तराष्ट्रिय कार्यक्रममा समयको टिक टिकलाई पछ्याउन पाए झनै राम्रो सन्देश जाने थियो । तर पनि धेरै पहिले नै हुनु पर्ने कार्यक्रम अहिले आएर भयो, त्यसमा खुसी मान्नै पर्छ । 

आफनै कुरा गर्नु पर्दा, एउटा व्यक्तिगत चुनौतीको रुपमा सगरमाथाको सपना देखेपछि शुरु भएको मेरो हिमाली यात्रा विश्वकै पहिलो महिला टोली सहित सातै महादेशमा नेपाली झण्डा फहराएर आजको दिनमा स्वदेशमै पर्यटन मार्फत महिला ससक्तिकरणको विन्दुमा पुगेको छ । नेपाल गन्तव्यमात्र होइन यस्ता थुपै कथाहरुको पुञ्ज हो । आफनो यही कथालाई मैलै यही मञ्चमा प्रस्तुत गरें । सगरमाथा हिमाल मात्र होइन, एउटा शक्ति हो । यो शक्तिले स्विकारेपछि जिन्दगीभरि सगरमाथा आरोही कहलाउने विशेषाधिकार मात्र होइन, यसकै छायाँमा केही गर्नै पर्ने जिम्मेवारी पनि दिन्छ ।  त्यही जिम्मेवारीबोध अनुसार मेरो टोलीले चेलीबेटी बेचविखनका सर्भाइभर बहिनीहरुलाई पर्यटन क्षेत्रमा ससक्तिकरणको तालिम दिइरहेका छौं । नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्यापटर लगायत सिंगै नेपाली पर्यटन क्षेत्र लागेर आयोजना भएको यत्रो कार्यक्रममा विश्वभरका प्रतिष्ठित व्लगरहरुले नेपाल घुम्ने मौका त पाए । तर, नेपालले पनि त्यत्तिकै बोलाउदैन ।  बोलाएपछि एउटा जिम्मेवारी पनि दिन्छ । आइटिबिएमसीमा आएका ब्लगरहरुलाई त्यो जिम्मेवारी सम्झना गराउँदै र सफलताका लागि शुभकामना दिदैं म बिदा भए । कार्यक्रमपछि उपस्थित सबैले आएर हाम्रो टोलीलाई घेरे, शुभकामना दिए, फोटो खिचाए र भने नेपालमा यस्ता महिला छन् भन्ने हामीलाई थाहै थिएन– आइ एम सो इन्पायर्ड । नेपालमा इन्पाएर गर्ने कयौं कयौं कथा, इतिहास, गन्तव्य अनि पात्रहरु छन् । तिनलाई विश्व माझ ल्याउन यो र यस्ता कार्यक्रमले निरन्तरता पाउनै र्छ । त्यसको शुरुवात गरेकोमा आयोजकलाई धन्यवाद र बधाइ । समग्र पर्यटन क्षेत्र दश लाख पर्यटक हुँदै समृद्ध अर्थतन्त्रतर्फ उन्मुख होस् भन्ने शुभकामना ।

 

तपाईंको बिचार