Sunday, June 25, 2017  |    

टानको निर्वाचन अभिलम्ब घोषणा गर

प्रकाशित मिति: 2015/08/10
बोधराज भण्डारी
बोधराज भण्डारी

सन् २०१३ को सेप्टेम्बर महिनामा टानको वर्तमान कार्यसमिति निर्वाचित भएको हो । दुईवर्षे कार्यकालको लागि निर्वाचित यो कार्यसमितिको अवधि समाप्त हुन अब २ महिना भन्दा थोरै मात्र समय बाँकी छ । यसबीचमा पर्यटन व्यवसाय र समग्र पर्यटन उद्योगमा धेरै उत्तारचढावहरु आएका छन् । खास गरी ट्रेकिङ तथा माउण्टेनियरिङ व्यवसाय गर्नेहरुको छाता संस्थाको रुपमा रहेको टान नेतृत्वको विगत २ वर्षका गतिविधिहरु माथि मुल्याङ्कन, टिका/टिप्पणी र बहस गरी उपयुक्त निश्कर्ष निकाल्ने थलोका रुपमा अर्को निर्वाचनलाई प्रयोग गर्ने गरिन्छ । यसर्थ विद्यानतः आउने केही समयभित्र यसको निर्वाचन गरेर नयाँ नेतृत्वको चयन अनिवार्य  भएको छ । 


एउटा जिम्मेवार नेतृत्वले आफ्नो कार्यकालको ठीक–बेठिक निर्णय र गतिविधिहरुको परिक्षा उपयुक्त समयमा दिने गर्छन् । तर वर्तमान टानको नेतृत्वले अहिलेसम्म चुनावको मिति तय गर्ने र तयारी गर्ने तदारुकता देखाइरहेको देखिदैन । बैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनहरुका कारण नेपालको पर्यटन अहिले कोमामा पुगेको छ । समग्र पर्यटन क्षेत्र अहिले संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो संगीन अवस्थाबाट पार पाउनका लागि राज्य र निजी क्षेत्रको भरपुर पहल कदमी आवश्यक देखिन्छ । टान निजी व्यवसायीहरुको स्थापित सशक्त र नेतृत्वदायी संस्था हो । तर यसको भूमिकाको रोल प्ले गर्न भनेको कार्यसमिति र नेतृत्वले नै हो । अहिले टानका सदस्य एजेन्सिहरुले नेतृत्वको सकारात्मक भूमिकाको अपेक्षा गरेपनि राहतको महसुस गरेका छैनन् । 


वर्तमान टान नेतृत्वको कार्यकालको पहिलो वार्षिक साधारण सभामा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन स्वयंले टानको आर्थिक क्रियाकलाप अनियमित र अराजक भएको स्वीकार गरेको थियो भने नेपाल पर्यटन बोर्डको भ्रष्ट्राचार विरुद्धको आन्दोलनबाहेक अन्य अधिकांश व्यवसायीक सरोकारका विषयहरु तथा श्रोत परिचालनका विषयमा वर्तमान टान नेतृत्वको कतै पनि सकारात्मक टिप्पणी सुन्न पाइएको छैन । सुनिन्छ, टानको विगत ६/७ महिनादेखि आधिकारिक बैठक र निर्णयहरु हुन सकेका छैनन् । नियमित अपडेट सदस्यहरुले पाउन छाडेपछि यस्तो आशंका गर्न थालिएको हो । नेपालका टेकिङ रुटहरु असुरक्षित छन् भनि अन्तराष्ट्रिय संचार माध्यमहरुमा गैरजिम्मेवार अभिव्यक्ति दिने र व्यवसायीको आलो घाउमाथि नुनचुक छर्कने हर्कत यसबीचमा नेतृत्व तहबाटै हुनु अर्को दुःखद पक्ष हो । यसर्थ यी सबै इस्यूहरुको उचित सम्बोधन गर्न पनि टान निर्वाचन मिति अविलम्व घोषणा गर्नु अहिलेको टड्कारो आवश्यकता हो । अन्यथा, टानको जिम्मेवार सदस्यको नाताले कार्यलयमै हस्तक्षप गर्नुपर्ने अवस्था आउन सक्छ । सबैलाई चेतना भया । 

(लेखक भण्डारी युवा पर्यटन व्यवसायी तथा स्नो होराइजन ट्रेक्सका सञ्चालक हुनुहुन्छ ।)

तपाईंको बिचार