Saturday, July 21, 2018

पर्यटन प्रवद्र्धनका आधार

प्रकाशित मिति: 2018/01/05
कपिल बञ्जारा
कपिल बञ्जारा
पर्यटन विकास क्रमलाई हेर्दा यसलाई मानव सभ्यताको विकास भन्दा पुरानो मान्न सकिन्छ । मानवहरु इतिहासको सुरुमा दैनिक आवश्यकता पूरा गर्न घुमन्ते जीवन बिताउँथे । विस्तारै घुमन्ते र पाषण युगबाट कृषि युगमा प्रवेश गर्दै क्रमशः मानव सभ्यताको विकासतर्फ अगाडि बढेको पाइन्छ । फेरि सभ्यताको विकाससँगै प्राचिन समयमा पाइथागोरस, प्लेटो, एरिष्टोटललगायतका विद्धानहरुले विभिन्न क्षेत्रको भ्रमण गरेको पाइन्छ । भगवान गौतम बुद्धको समय र त्यसपछि ज्ञानको खोजी र प्रचारप्रसारको क्रममा थुप्रै मानिसहरु विभिन्न क्षेत्रमा आवतजावत गरेको पाइन्छ । यस्तै मध्यकालीन समयमा पनि थुप्रै मानिसहरुले विभिन्न क्षेत्रको भ्रमण गरेको पाइन्छ । तर पनि यात्रामा क्रान्तिकारी परिवर्तन उन्नाइसौं शताब्दीको सुरुतिरबाट भएको पाइन्छ । सन् १८२५ मा बेलायतमा रेलयात्राको विकास भएपछि सन् १८३० मा यूरोपमा अन्य थुप्रै देशमा रेलयात्रा सुरु भयो । जसको कारण यात्रालाई सुगम र छिटो बनायो । सन् १८४१ मा थोमस कुकले ५७० जनाको एक समूहलाई प्रतिव्यक्ति केही रकम लिएर यात्रा सुरु गराई ट्राभल एजेन्सिको काम सुरु गरेको पाइन्छ । सन् १८५६ तिर उनले विदेश भ्रमण पनि सुरु गराए । त्यसपछि यूरोप र अमेरिकाका विभिन्न देशले यस कार्यको व्यापक सुरुवात वा अनुसरण गरेको पाइन्छ । 
 
 

विशेषतः पर्यटक भन्नाले घटिमा २४ घण्टा वा एक रात कतै भ्रमणमा बिताउने, कमाउने उद्देश्य नराख्ने मानिस वा मानिसहरुको समूहलाई जनाउँदछ । आनन्द लिनु, घरायसी काम सम्पन्न गर्नु, शारीरिक काम तथा व्यवसायिक उद्देश्य पूरा गर्नु, कुनै सभा, सम्मेलन वा बैठकमा भाग लिनु, कुटनैतिक सम्बन्ध विस्तार तथा धार्मिक चाहना पूरा गर्नु आदि पर्यटकको भ्रमणको उद्देश्यअन्तर्गत पर्दछ । पर्यटनलाई मुख्यतया दुई भागमा विभाजन गरिएको पाइन्छ । आफ्नो फुर्सदको समयमा आफ्नै देशभित्रको कला, संस्कृति, भू–भाग, दृश्य, हिमाल, धार्मिकस्थल आदिजस्ता विषयको ज्ञान प्राप्त गर्न वा दृश्यावलोकन गर्ने मानिसलाई आन्तरिक (देशीय) पर्यटक भनिन्छ । आफ्नो देशबाट भिन्न आर्थिक र राजनैतिक अवस्था भएको देशमा यात्रा गर्ने र त्यहाँको परिवेशको अध्ययन तथा दृश्यावलोकन गर्ने पर्यटकलाई बाह्य (अन्तराष्ट्रिय) पर्यटक भनिन्छ । 
 
वर्तमानमा अधिकांश देशको अर्थतन्त्रको दर्बिलो खम्बा भनेको पर्यटन व्यवसाय बनेको छ । पर्यटन व्यवसाय उकास्नका लागि आवश्यक पर्ने आधारको रुपमा राम्रो हावापानी, आकर्षक दृश्य, ऐतिहासिक तथा साँस्कृतिक पक्ष, पुग्न सम्भव योग्य ठाउँ, रमाईलो ठाउँ, सर्वसुविधा, अतिथि सत्कार आदि पर्दछन् । हाम्रो देशको सन्दर्भमा प्राकृतिक रुपमा पर्यटन व्यवसायको लागि आकर्षक गन्तव्य हुँदाहुँदै पनि हाम्रो मानवीय तर्फबाट गर्नुपर्ने कामहरु अझै अधुरा छन् । सन् १९६० पछि नेपाल अन्य क्षेत्रमा आउने पर्यटकहरु भन्दा बढी आकर्शित क्षेत्र ट्रेकिङ भएको छ । भौगोलिक अवस्थितिलाई  हेर्दा पुर्व–पश्चिमको लम्बाई करिब ८८५ कि.मि. छ । त्यस्तै उत्तर, दिक्षिण फैलावट करिब १९३ कि.मि. रहेको छ । यति थोरै दूरीमा ६० मिटर उचाईदेखि ८८४८ मिटर उचाईसम्मको दूरी पाईनु भौगोलिक विविधताको दृष्टिले एउटा ठूलो वरदान हो । त्यस संरचनाभित्र नदीनाला, तालतलैया, जंगल, वन्यजन्तु, जडिबुटी, फाँट तथा मरुभूमि (माथिल्लो मुस्ताङ) सम्म पाइन्छ । सानो मुलुक भएपनि विशाल भौगोलिक अन्तरमा समेत नभेटिने प्रकारको विविधता हुनु नेपालको विशेषता हो । 
 
विश्वमा साहसिक पर्यटनको आकर्षण बढिरहेको वर्तमान परिवेशमा नेपाल साहसिक पर्यटनको लागि केन्द्र नै मानिन्छ । विश्वका अन्य देशमा प्रतिकुल प्राकृतिक वातावरणको कारण घरकोठा, कार्यालय, कारखाना तथा सडकलगायतका क्षेत्रमा जाडो तथा गर्मी समयमा कुलिङ् र हिटिङ्मा वर्षेनी अर्बौं रुपैयाँ खर्च गर्छन् । यस तथ्यलाई ध्यान दिँदा ती देशहरुले वातावरण अनुकुलिन बनाउन खर्च गर्ने लगानी नेपालमा आकर्षित गर्न सकिन्छ । तसर्थ हाम्रो देशमा सरकार, पर्यटन व्यवसायी, राजनीतिक दल, विभिन्न किसिमका अन्य संघ संस्थाहरु र सम्पूर्ण सरोकारवाला समूहले अस्थिर राजनीतिभित्र विकास निर्माण स्थायित्व र शान्तिको अनुभव हुन सक्दैन भन्ने कुराको महशुस गर्नुपर्दछ । साथै अविकसित र अशान्त मुलुकमा पर्यटक आउन सक्दैनन् भन्ने कुराको आत्मसाथ गर्नुपर्ने हुन्छ । हामीले  अहिले प्रारम्भ गर्न सके आगामी पुस्ताले त्यसलाई निरन्तरता दिन सक्छन् । तसर्थ त्यसको लागि जग बसाल्ने काम हामीले वर्तमानमा गर्नु नितान्त आवश्यक छ । 
 
साँच्चै नै विश्व बजारमा बिना कच्चा पदार्थ सञ्चालित उद्योग भनेर पर्यटन उद्योगलाई चिनिन्छ । नेपालमा पूर्व, पश्चिम, हिमाली क्षेत्र, कार्णाली क्षेत्र तथा अन्य दुर्गम र विकट पहाडका विभिन्न ठाउँलाई पर्यटनका हवको रुपमा विकास गराउनु पर्दछ । त्यहाँका स्थानीय क्षेत्रको प्रवद्र्धन गर्दै वैकल्पिक पदमार्गको खोज, पहिचान र विकासमा स्पष्ट नीति ल्याउनु पर्दछ । पर्यटकहरुको आगमन संख्या, बसाईँको अवधि, प्रति पर्यटक खर्च आदि बृद्धि गर्न पूर्वाधार निर्माणमा ध्यान दिनुपर्दछ । धार्मिक स्थलहरुको प्राचिनता र महत्वलाई विस्तार गरी पर्यटनलाई आकर्षित गर्नुपर्दछ । प्राकृतिक तथा साँस्कृतिक क्षेत्र संरक्षणमा उच्च प्राथमिकता दिई स्थानीय  जनताको दीगो  सम्बृद्धिलाई विशेष ख्याल गर्नुपर्दछ । पर्यटकहरुसँग लामो समय प्रत्यक्ष सम्पर्कमा रहने पथपर्दशक (अघोषित राजदुत)हरुलाई समय–समयमा क्षमता अभिबृद्धि र पूर्ण ताजकीकरण तालिम दिनु पनि नितान्त आवश्यक छ । नेपालमा वर्तमानमा एक दर्जनभन्दा बढी संगठित संस्थाहरु पर्यटन प्रवद्र्धनको लागि अगाडि बढेको देखिन्छ । यस किसिमका संघसंस्थाहरु दीर्घकालिन पर्यटन प्रवद्र्धनमा लाग्नु नितान्त आवश्यक छ । 
 
अतः हाम्रो देश नेपालमा रहेको प्रचुर प्राकृतिक स्रोत र साधनलाई व्यवस्थित र संरक्षित गर्दै व्यवस्थित भौतिक विकासमा पनि प्राथमिकता दिनुपर्दछ । देशको विभिन्न ठाउँमा रहेको कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्दछ । बहुजाती, बहुभाषा, बहुसाँस्कृतिक परम्पराबाट अधिकतम फाइदा लिनुपर्दछ । सम्पूर्ण पर्यटन व्यवसायी, उद्यमी तथा सरोकारवाला पक्षहरुले क्षेणिक र व्यक्तिगत फाइदामा मात्र केन्द्रित नभै दीर्घकालिन पर्यटन प्रवद्र्धन गर्नको लागि लागिपर्नु पर्दछ ।  जसको कारण पेशा व्यवसाय जिवन्त हुन्छ र राष्ट्रिय उन्नति सम्भव छ । विशेष गरी नेपालको लागि हाम्रा सिमावर्ती छिमेकी राष्ट्र भारत र चीनका पर्यटकहरुको संख्या बृद्धि गराउने रणनीति अगाडि बढाउनु नितान्त आवश्यक छ । जसको कारण बेमौसममा पनि पर्यटकीय खडेरीको महशुस गर्नुपर्दैन । तसर्थ सरोकारवाला हरेक नागरिकले नेपालमा पर्यटन मैत्री वातावरण कायम गर्न आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निभाउनु नितान्त आवश्यक छ ।

 

तपाईंको बिचार