Monday, September 16, 2019

मिडिया माथिको नाङ्गो नाँच बन्द गर

प्रकाशित मिति: 2018/04/03

गन्तव्य नेपालले आफ्नो झण्डै डेढ दशकको यात्रामा पर्यटन प्रवद्र्धन र विकासमा आयम थप्ने विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । चाहे त्यो पर्यटन क्षेत्रको हरेक पक्षलाई उजागर गर्दै राष्ट्रिय बहसमा ल्याउने कुरामा होस् या त व्यवसाय र व्यवसायीलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु नै किन नहोस् । अनेकन बाधा र व्यवधानहरुको कुनै पर्वाह नगरिकन मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा रचनात्मक र  पे्ररणामुखी भूमिका निर्वाह गरिरह्यौं/गरिरहेका छौं । यसबीचमा हामीले पर्यटन प्रवद्र्धन र व्यवसाय अभिबृद्धि गर्ने सफल व्यवसायीलाई टुरिजम म्यान अफ दी इयर अवार्ड, टुरिजम लाईफ टाईम एचिभमेन्ट अवार्ड, टुरिजम विजनेश अवार्ड, व्यवसायी अवार्डलगायतबाट विधागत सम्मान गरेर योगदानको कदर गर्ने एउटा संस्कारको विकासमात्रै गरेनौं, मुलुकका उच्च ओहोदालाई ध्यानाकृष्ठ पार्ने बहस कार्यक्रमसमेत चलायौं अनि अन्तर व्यवसायी सम्बन्धलाई मजबुद पार्नका लागि पर्यटन वर्ष फुटबल कप, सांगीतिक पर्यटनजस्ता नयाँ प्रडक्ट स्थापित गर्‍यौं । 

गन्तव्य नेपालले गरेका यी यस्ता सिर्जनात्मक र प्रेरणामूलक कार्यक्रमबाट मुलुकको सिंगो पर्यटन उद्योगलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा टेवा पुगेको छ । तर, पछिल्लो समय हाम्रो यस्तै सकारात्मक प्रयासलाई अवरोध गर्न केही पात्र र तीनका भरौटेहरु लागि परेका छन् । यसअघि गन्तव्य नेपालले आयोजना गरेको विशेष कार्यक्रम टुरिजम विजनेश अवार्ड कार्यक्रमलाई असफल पार्नका लागि केही पात्रहरुले नांगो नाँच देखाएका थिए । तर, त्यसलाई चिरेर हामीले आफ्नो कार्यक्रमलाई अत्यान्त भव्यतापूर्वक सम्पन्न गरेरै छोड्यौं । केही व्यक्तिहरुले आफ्नो स्वार्थअनुसार हाम्रो कार्यक्रमलाई उपयोग गर्न नपाएपछि देखाएका त्यस्ता हर्कतबाट हामी हतोत्साहित हुँदैनौं बरु, त्यस्ता गलत मानसिकता भएकाहरुको भण्डाफोर गर्दै जान हामीलाई थप उत्साह मिलेको छ । हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तकहरुको सल्लाह, सुझाव र मायाले हाम्रो यात्रा दर्विलो बन्दै आएको छ र यो अविच्छिन्न रुपमा अघि बढ्ने छ । आगामी दिनमा थप सिर्जनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने कुरामा हामी कहिल्यै चुक्नेछैनौं । 

पर्यटन क्षेत्रलाई गुटगत रुपमा चलाउन खोज्ने त्यस्तै पात्र र प्रबृत्तिका कारण पर्यटन विकासले गति लिन नसकेको कुरा सबैलाई थाहै छ । तसर्थ, यस खालका काममा होइन पर्यटन विकासका लागि सबैले आआफ्नो ठाउँबाट केही गर्न सके मात्रै सम्बृद्ध मुलुकको सपना पूरा हुनेछ । हरतवरबाट पर्यटन क्षेत्रको दीर्घकालिन विकास गर्ने गन्तव्य नेपालको प्रयासमा सक्नुहुन्छ भने सहयोग गर्नुस्, सक्नुहुन्न भने हामीमाथि अवरोध सिर्जना गर्ने कुचेष्टा नगर्नुस् । त्यसखालका प्रबृत्तिबाट माथि उठेर पर्यटन क्षेत्रको लागि लाग्नुस् । पर्यटन क्षेत्र राजनीति गर्ने थलो होइन । हामी भन्छौं, पर्यटनको लागि पर्यटन पार्टी बनाऔं । कसैलाई गाली गरेर, फुटाएर पर्यटनलाई भागबण्डा गरिखाने राजनीतिक अखडा नबनाऔं । फुटेर होइन जुटेर लागौं । 

तपाईंको बिचार