Saturday, October 19, 2019

नेपालको पर्यटन र ‘भिजन २०२०’

प्रकाशित मिति: 2018/04/13
अन्जन थापा (कुमार)
अन्जन थापा (कुमार)

सन् १९५० तिर जापानी बौद्ध भिक्षु इकाई खावागुची र भारतीय सम्राट अशोकाले नेपाल भ्रमण गरेपछि नेपालमा पर्यटनको सुरुवात भएको तथ्य हामीसँग छ । सन् १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन प्रवद्र्धनमा उभार आएको पाइन्छ । 

सन् १९६० हिप्पीजको समयसम्म आइपुग्दा भारत हुँदै नेपाल आइपुगेका पर्यटकहरुले यहाँको रहनसहन, भेषभूषा तथा शान्त, सुन्दर हिमाल, सगरमाथा, लुम्बिनीजस्ता स्थानहरुबाट अत्यन्त मन्त्रमुग्ध भई संसारभरी नेपालको महिमा र प्रचार गरेको पाइन्छ । विशेषगरी हिप्पीज समयमा नेपालको झोछेमा पर्यटकहरु आएर लामो समय बस्ने र त्यहाँबाट नेपालको विभिन्न ठाँउमा घुम्ने गरेका छन् । नेपाललाई प्रकृतिले दिएको सुन्दर अनुपम हिमश्रृङखला, बुद्ध जन्मस्थल लुम्बिनी, पशुपतिनाथ लगायत विभिन्न प्राकृति सम्पदाले संसारभर चिरपरिचित छ । दरबार हत्याकण्ड होस् या महा विनासकारी भूकम्प, हालसालै भएको नेपालको राजनीतिक परिवर्तन वा यहाँको प्राकृतिक सुन्दरता, नेपालीहरुको आतिथ्य सत्कार र मिलनसार स्वभाव, अनुपन भेषभुषा तथा हावापानी नै किन नहोस् । यिनै कारणले गर्दा प्रत्येक वर्ष नेपाल घुम्ने विदेशी पर्यटकको संख्यात्मक बृद्धिसँगै समग्र पर्यटन विकासमा योगदान पुगिरहेको छ । 

सन् १९९८ मा नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरी नेपालको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन मद्दत गरेको थियो । करिब ५ लाख पर्यटक ल्याउने उद्देश्यानुरुप उक्त भ्रमण वर्ष घोषणा भएतापनि लक्ष्य भन्दा निकै नजिक अर्थात् ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटक भित्र्याउन सफल भएको थियो । पर्यटनको प्रवद्र्धन र विकास गर्न यस क्षेत्रमा क्रियाशिल पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम लगायत विभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ । 

सन् २००० तिर द्वन्द्वले आक्रान्त भएको देश बिस्तृत शान्ति सम्झौतापछि पर्यटन क्षेत्रमा उल्लेख्य लगानी भएको पाइन्छ । विभिन्न चेन होटल, रिर्सोट, पर्यटन सम्बन्धि विविध गतिविधि, बञ्जी, स्काइ ड्राइभिङ, प्याराग्लाईडिङलगायत विभिन्न नयाँ आयाम थपिने क्रम जारी रहेको पाइन्छ । त्यस्तै करिब १० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०११ मनाउदै गर्दा नेपालको पर्यटन थप प्रवद्र्धन र विकास गर्न सफल भएको थियो । फलतः सन् २०११ मा वर्ष ७ लाख ३६ हजार २ सय पन्ध्र जना पर्यटक भिभित्रएको तथ्यांकले देखाउँछ । सन् २०११ देखि सन् २०१७ सम्म आइपुग्दा वार्षिक १० लाखको हाराहारीमा पर्यटक भित्र्याउन सफल भएको तथ्यांक हामीसँग छ ।  

पर्यटन क्षेत्रमा लगानी र जनशक्ति व्यापक रुपमा बृद्धि भईरहँदा नेपाल सरकारले समयसापेक्ष पर्यटन ऐन संसोधन र पूर्वाधारको विकास गर्न सकिरहेको छैन । भारत र चीनबाट आउने बाटो–घाटो अत्यान्त दयानीय अवस्थामा छ । दैनिक ३०/३५ वटा विमान कम्पनीको विमानले अवतरण भइरहँदा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अत्यान्त अस्तव्यस्त बन्ने गर्दछ । राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगम पूरानै ढर्रामा चलेको छ । विमान बारम्बार बिग्रने र थप विमान थपेर नयाँ गन्तव्य अमेरिका, यूरोप, जापान, अष्ट्रेलिया लगायत धेरै पर्यटकहरु आउने देशमा पहुँच पुर्‍याउन सकिराखिएको छैन । सरकारले भिजन २०२० मा करिब २५ लाख पर्यटक भित्र्याउने योजना बनाइरहँदा कार्यान्वयन पक्ष अत्यन्त कमजोर  छ । नेपालको पर्यटन प्रवद्र्धन र विकास गर्ने निकाय नेपाल पर्यटन बोर्ड नयाँ रणनीतिक योजना र आक्रामक रुपमा नेपालको प्रचार–प्रसारमा लागेको देखिदैन । पूरानै ढर्राको ट्राभल फेयर र सेल्स मिसन भन्दा माथि उठ्न सकेको छैन । सिएनएन, बिबिसी जस्ता अन्तर्राष्ट्रिय मिडियामा नेपालको प्रचार–प्रसार गर्न अत्यान्तै जरुरी देखिन्छ । 

नेपाल वायुसेवा निगमले तत्काल नयाँ बिमान खरिद गरि गन्तव्य पहिचानको साथ प्रतिस्पर्धीरुपमा उडान गर्न जरुरी छ । पर्यटन प्रवद्र्धन र विकासले मात्र भोलीको दिनमा नेपालको सुनौलो भविष्य निर्माण गर्न सक्ने कुरामा कसैको विमित छैन । त्यसोत दुई ठुला छिमेकी देश भारत र चीनको बीचमा रहेको नेपालमा २५ लाख पर्यटक भित्र्याउन असम्भव छैन । लोनली प्लानेट, ट्रिप एड्भाइजर, रोयटर्स जस्ता विश्वभरका उत्कृष्ट ट्राभल साइडहरुले नेपाल भ्रमणका लागि उत्कृष्ट टप टेनको सूचीमा परिरहँदा र नेपाल अत्यन्त सुन्दर गन्तव्य बनिरहँदा नेपालप्रति आकर्षित हुने पर्यटकहरु दिन प्रतिदिन बढिरहेका छन् । नेपालको पर्यटनको भविष्य सुन्दर छ । अत्यान्त ठूलो संख्यामा पर्यटकहरु नेपाल आउन चाहन्छन् र, ल्याउन पनि सकिन्छ । तर यसका लागि पूर्वाधार निर्माण, हवाई सञ्जाल विस्तार, दृढ ईच्छाशक्ति र ठोस भिजनको आवश्यक देखिन्छ ।  
लेखकः अन्जन थापा (कुमार) युवा पर्यटन व्यवसायी हुनुहुन्छ ।

तपाईंको बिचार