Sunday, June 25, 2017  |    

दर्शनीय एवं बन्दनीय तीर्थस्थल गोसाइँकुण्ड

प्रकाशित मिति: 2015/09/02
शिव अधिकारी, अध्यक्ष –गन्तव्य नेपाल (साप्ताहिक)
शिव अधिकारी, अध्यक्ष –गन्तव्य नेपाल (साप्ताहिक)

धार्मिक दृष्टिकोणबाट विवेचना गर्दा नेपालको समग्र पर्वतीय क्षेत्र तपस्य, ध्यान र आराधना गर्ने पुण्यस्थल रहेछ भन्ने कुरा आदिम कालदेखि यहाँ रहि आएका आध्यात्मिक स्थलहरुको उपस्थितिले पुष्टि गर्छ । मुस्ताङमा अवस्थित मुक्तिनाथ, गोरखा जिल्लाको मनकामना, चितवनको देवघाट र रसुवाको गोसाइँकुण्ड इत्यादि विशिष्ट रुपमा पुजनीय छन् । यी धार्मिक स्थलहरुले अधिकांश हिन्दुहरुको मन–मष्तिक र भावनाउपर श्रद्धाभक्तिमा अमिट छाप छोडेका छन् र मानव कल्याण तथा परोपकारी कार्य गर्न मार्गदर्शन गरिरहेका छन् । 

नेपालको एक महत्वपूर्ण पिठ पशुपति क्षेत्र रहि आएको व्यहोरा जग जाँहेरै छ । जहाँ भगवान शंकरले ठूलो महात्म्य छ, यसो हुनुमा आराध्यदेव पशुपतिनाथको समुपस्थितले गर्दा नै हो भन्ने कुरामा दुईमत छैन । यस अर्थमा विश्लेषण गर्दा गोसाइँकुण्ड पनि आदिक तीर्थस्थल भएको वास्तविकतालाई नकार्न सकिदैन । प्रस्तुत आलेखमा गोसाइँकुण्डकै तथ्यगत चर्चा गरिनेछ ।

धार्मिक वैभवता

विशेषतः गोसाइँकुण्डको उत्पत्ति त्यस प्रसङ्गसँग जोडिन आउँछ, त्यतिबेला देवगण र असुरहरुबीच समुद्र मन्थन गर्ने सम्झौता पारित हुन्छ र यस जटिल कार्य सम्पादन गर्न मन्दराचल पर्वत खम्बाको रुपमा, वासुकी नाग डोरीको रुपमा र पर्वतको भारवहनको रुपमा कछुवालाई प्रयुक्त गरिन्छ । दैत्य र देवगणका संयुक्त मन्थन क्रियाको बाबजुद जलाधारबाट विनासकारी कालकुट विषको उत्पत्ति हुन आउँछ । जसले दुबै पक्षबीच नैराश्यता उत्पन्न गराउँछ । किनभने कालकुट विष प्रलयकारी वस्तु थियो र कदाचित् यसको उचित संयोजन नभएसम्म लोक र प्राणीको अस्तित्व धरापमा परिरहने सम्भावना थियो । त्यसैले, भावी विध्वंशकारी परिस्थितिको आँकलन गरेर महादेवले उक्त जडकारी विषपान गरिदिनुभयो र दुनियाँलाई प्रलयको संघारबाट बचाइदिनुभयो । परन्तु, उहाँ स्वमं अथाह जलनको दाहले प्रताडित हुनुभएछ, त्यस पीडाबाट छुटकारा पाउन उहाँ हिमालतर्फ गई आफ्नो त्रिशुलले प्रहार गर्दा भुमिबाट ठण्डा जलको फोहोरा छुट्न गएछ र एक तालको निर्माण पनि भएछ, जहाँ डुबुल्की लगाउँदा उहाँले शान्ति पाउनुभएको ब्यहोरा पुराणमा वर्णित छ ।

त्रिशुलको प्रहारबाट प्रस्फुटित जलप्रवाहलाई हामी त्रिशुली गंगाको रुपमा चिन्छौ जुन स्थानमा पानीको रुपमा चिन्छौ भने जुन स्थानमा पानीको दह बनेका छ, त्यसलाई गोसाइँकुण्डको नामले सदियौंदेखि प्रचलित मानिन्छ । उता खतरनाक विष सेवनले गर्दा घाँटीमा प्रज्वलन पैदा भएको कारणबाट नीलडाम बस्न गएको हुँदा शिवजीलाई नीलकण्ठको उपाधिले आराधना गरिन्छ । गोसाइँकुण्डको महत्व र गरिमा उपर्युक्त कारणबाट वैदिक कालदेखि रहिआएको हुँदा श्रद्धालु भक्तजनहरुमा उक्त पवित्रक्षेत्रको कुण्डमा स्नान गर्न जाने उत्कण्ठा पुण्यलाभको आकांक्षाबाट नै सिर्जना हुन आएको मान्न सकिन्छ । तदनुरुप नै भाद्रको पूर्णचन्द्र अर्थात ऋषितर्पणीको पावन अवसरमा यहाँ ठूलो मेला लाग्दछ र भनिन्छ कि कुण्डको गहिराइमा शिवजीको आकृति झल्कने मूर्तिको दर्शन पनि गर्न पाइन्छ । 

करिब चार वर्ग कि.मि. क्षेत्रफल भएको कुण्डको पानी जमिन मुनिबाट बग्दै पाटनको कुम्भेश्वरको मन्दिरछेउ प्रवाह हुने यथार्थलाई मनन गरी असंख्य भक्तजन जनैपूर्णिमाको दिनमा यहाँ तीर्थाटन गर्न आउँछन् । यो जलप्रवाहसँग जोडिएको एउटा प्रसङ्ग के छ भने कुनै कालखण्डमा एक भक्तजनले जल उभाउने प्रयास गर्दा कुण्डमा जलघडा बेपत्ता भएछ, तर संयोगवश उक्त जलघडा कुम्भेश्वरको कुवा आकारको कुण्डबाट निस्किएछ । तर, पानी उतैबाट आएको भनी प्रमाणित भएछ । गोसाइँको आसपासमा भएको अन्य कुण्डहरुजस्तो भैरव, सूर्य, सरस्वती र दूध नामका कुण्डहरुले विशेष मान्यता राख्दछन् र त्यहाँ सबै गरी एक सय असी कुण्ड भएको तथ्याङ्क छ । 

नेवारी संस्कृतिमा कुण्डको स्थान
प्रचलित नेवारी संस्कृतिमा पनि गोसाइँकुण्ड धार्मिक महत्व गौरवपूर्ण रहिआएको छ, जसलाई शिलु तीर्थ भनिँदो रहेछ । उक्त तीर्थमा धर्माटन गर्न जाने क्रममा वियोगको गीत गाउँदै हिँड्ने प्रचलन अद्यापी छ । किंवदन्तीअनुसार कुनैबेला मल्लकालीन राज्यको बेलामा लाल र हीरा नाम गरेका दम्पती बस्दथे । तत्कालिन मान्यताअनुसार यदि युगल जोडी मेला भर्न गएमा बिछोड हुनसक्ने भयावह परिस्थितिको ख्याल गर्दै लाल आफूमात्र तीर्थ गर्न निस्कने निधो गरेछ, तर हीराले भने सँगै लैजान गरेका बिन्तीभाव र अश्रुपूर्ण आग्रहलाई टार्न नसकी अन्ततः दुवैजना रवाना भएछन् । आखिर जो हुनेवाला थियो, त्यो भइछाड्छ । यात्रामा निस्किएका तत्कालिन राजाको दुष्टि सुकुमारी हिराउपर खिचिएछ र राजाको इच्छाअनुसार लाललाई अलग्याएर हीरालाईचाहिँ डोलीमा बसाएर दरवार भित्र्याईएछ । उता बिछोडको वियोगले आहत भई लाल जोडी बनेछ । दैवको लीला यो बियोगान्त कहानी केही समयपछि पुनः सुखद मिलनमा परिणत भएछ । एकदिन दरबारको प्रसङ्गमा आगन्तुक जोडीलाई भिक्षा दिने क्रममा हीराले आफ्नो पतिको पहिचान गरी राजाको दृष्टिगोचर हुँदै त्यहाँबाट दुवै पलायन भएछन् र भावी जीवन सुखसयल व्यतित गरेको जनश्रुति छ । प्रस्तुत विषयलाई प्रमुख कहानी बनाई करिब दुई दशकअगावै निर्माण भएको नेवारी चलचित्र शिलुले यसै ऐतिहासिक घटनालाई छायाङ्कन गरी प्रस्तुत गरेको थियो । 

गोसाइँकुण्डको पर्यटकीय महत्व

गोसाइँकुण्ड काठमाडौंको पश्चिमउत्तरतर्फ गणेश हिमालको फेदमा ४ हजार ३ सय ८० मिटरकोे उचाइमा अवस्थित रसुवाको एक मनमोहक स्थल हो, जसको दक्षिणतर्फ अग्ला डाँडाहरु छन् भने पश्चिमतर्फ अग्ला/होचा पर्वत श्रृङ्खलाहरु छन् । गर्मीको दिनमा हिउँ पग्लेर आई तालमा जम्मा हुने हुँदा पानी चिसो हुन्छ । काठमाडौंबाट त्यसतर्फ पैदलयात्रा गर्न चारदिन लाग्छ । तर त्रिशूली बजारसम्म ७२ किलोमिटरको सवारीयात्रा गरिएन भने पाँच घण्टा लाग्छ । त्यहाँबाट आठ किलोमिटरको पैदलयात्रा गरेपछि बेत्रावती पुगिन्छ । प्रख्यात धुञ्चेबजारसम्म गाडी चल्ने बाटोको निर्माण कार्य सम्पन्न भएसकेको हुँदा यात्रुलाई सुविधा छ । लाङटाङ घुम्न जाने बाटो त्यहीँबाट छुटिन्छ र यो मार्ग पछ्याउँदै जाने विदेशी पर्यटकले केङ्गचिङ्ग भन्ने गाउँमा आइपुग्दा नपुग्दै स्वीस सरकारले निर्माण गरिदिएको कारखानामा मिठो चीजको रसस्वादन गर्न पाइन्छ । 

अनि स्याफ्रुबेसीमा पदार्पण गर्दा यूएन्डीपीले नमूनाको रुपमा सञ्चालन र विकास गरेको गुणस्तरीय पर्यटन प्रोजेक्टरको अवलोकन गर्न पाइन्छ । यस क्षेत्रलाई नमूना पर्यटन गाउँ बनाउने उद्देश्य राखिएको छ । पर्यटकले गोसाइँकुण्ड र त्यसभन्दा अगाडि पैदलयात्रा गर्दा किसिम–किसिमका प्राकृतिक विविधताको दिग्दर्शन गर्दै जान पाउँछन् । कतै जङ्गलको रमणीयता र कतै नदीनाला एवं झर्नाको वहाव त कतै घाँसे मैदानको सुन्दर फाँट ! सायद, त्यस्तै प्रचुरता एवं मनोरम वातावरण भएको हुँदा हुनसक्छ यता केही वर्षदेखि गोसाइँकुण्ड र लाङटाङको यात्रा लोकप्रिय बन्दैछ । फर्कने क्रममा भने हेलम्बु भई थप नवीन दृश्यावलोकनका साथ शेर्पाबस्तीको आतिथ्य ग्रहण गर्दै सुन्दरीजल ओर्लदा अनुपम आनन्द मिल्छ । 

अन्त्यमा, हिजोको दिवसमा यहाँका मल्ल राजा/रजौटाहरु गोसाइँकुण्डको पावनभूमिमा दर्शनार्थ जान्थे पछि आएर पृथ्वीनारायण शाहले पनि नुवाकोटको विजयपश्चात् कुण्डमा न्यासध्यान र स्नान गरेका थिए भन्ने भनाई छ । बितेका केही वर्षमा कतिपय नेपाली र भारतीय श्रद्धालु भक्तजनले त्यहाँ तीर्थाटन गरेका छन् । यसबाट के सिद्ध हुन्छ भने, गोसाइँकुण्डको महिमा अपरम्पार र स्तुत्य छ ।  

तपाईंको बिचार