Sunday, June 25, 2017  |    

सात दसकदेखिको नेपाली सपना साकार

प्रकाशित मिति: 2015/09/21
सुवास भट्ट
सुवास भट्ट

आईतबार नेपालको नयाँ संविधान ‘नेपालको संविधान –२०७२’ जारी भएको छ । ‘जनताको जनताद्वारा जनताका लागि’ भन्ने लोकतन्त्रको बास्तविक परिभाषा नेपाल मुलुकमा प्रथमचोटी चरितार्थ भएको छ । नेपाली जनताका प्रतिनिधिले पहिलोपटक आफ्नो संविधान आफै बनाएका छन् । दशकौँदेखिको गणतन्त्रको सपना साकार भएको छ ।आइतबार विशेष समारोहकाविच राष्ट्रपतिबाट नयाँ संविधानको घोषणा भएको हो । घोषणा भएको दिनदेखि नै मुुलुकमा नयाँ संविधान लागु भएको छ । योसँगै मुलुक अब नयाँ गोरेटोमा प्रवेश गरेको छ । 

नयाँ संविधान जारी भएसँगै मुलुक अव नयाँ राजनीतिक कोर्समा अघि बढेको छ । ढिला नै सही नयाँ संविधानले लगभग सबै लिङ्ग, क्षेत्र, संम्प्रदाय, विभिन्न विभेदहरुलाई सकेसम्म सम्बोधन गर्ने चेष्टा गरेको छ । ब्यापक राजनीतिक र आमजनसमर्थनकाविच नयाँ संविधान जारी भएसँगै विगत एक दशकदेखिको राजनीतिक संक्रमणबाट मुलुकले मुत्ती पाएको छ भने झण्डै सात दशकदेखिको नेपाली जनताको जनप्रतिनिधिमूलक संविधानको सपना साकार भएको छ । 
एउटा महत्वपूर्ण र स्मरणीय पक्ष के छ भने, नयाँ संविधानसभाले नेपालीहरु आफ्नो निर्णय आफैँ गर्न सक्षम छन्, भन्ने कुरा सावित गरेको छ । यसले हाम्रो राष्ट्रिय स्वाधिनता र अखण्डतामा एउटा नयाँ आयाम थपेको छ । नेपालीहरु पहिलोपटक आफ्नो शिर उँचो बनाएर हिँडन सक्ने अवस्था सिर्जना भएको छ । 
नेपालमा एउटा नयाँ र मौलिक प्रयोग सफल भएको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलले मुलुकमा एउटा ठूलो कायाकल्प ल्याएको थियो । यसबाट मुलुक नयाँ राजनीतिक मार्गमा प्रवेश गरेको थियो । तर, दुःखको कुरा पहिलो संविधानसभा संविधान दिनबाट असफल भयो । यद्यपी, हामी हच्किएनौँ, पुनः दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरेर अहिले ढिलै भए पनि मुलुकले नयाँ संविधान पाएको छ । १२ बुँदेदेखि सुरु भएको राजनीतिक दलहरुविचको सहयात्राले यतिबेला सार्थकता पाएको छ । 
लामो समयदेखिको अनेकौँ आरोह –अवरोहकाविच जारी भएको नयाँ संविधान युगान्तकारी परिवर्तनको द्योतक हो । नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र र संघीयतासहितको ऐतिहासिक परिवर्तनलाई संस्थागत गरेको छ । संविधानसँगै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ चरण सुरु अपेक्षा गर्न सकिन्छ । आगामी दिनमा के होला सो निश्चित नभए पनि यति आशा चाँहि निश्चय नै गर्न सकिन्छ, यसले मुलुकको विकास र समृद्विको बाटो तय गरेको छ । 
नयाँ संविधानमा सबै पक्षलाई समेट्नु जरुरी थियो । सो नभए पनि मुलुकको ठूलो जनसमर्थन प्राप्त दल र आम जनताको विषद् समर्थनका विच संविधान जारी भएको छ । संविधान जारी हुने पूर्वसन्ध्यामा मुलुकका दक्षिणी क्षेत्रमा सद्भाव खल्बलाउने प्रवृतिका आन्दोलन नभएका होईनन् । तर, यसले संविधान जारी हुने मार्गमा केही अवरोध सृजना गरे पनि सो विफल भएको छ । सम्पूर्ण जनप्रतिनिधि धन्यवादका प्रात्र छन् । अहिले केही क्षेत्रिय, धार्मिक र जातिय अधिकारका पक्षधरहरुले नयाँ संविधानमा आफ्नो असन्तुष्टि जाहेर गरेका छन् । एकाथ पक्षलाई नसेट्न नसकिए पनि आगामी दिनमा तिनको जायज मागहरुलाई समेटेर अगाडी बढने चेष्टा थालिनुपर्छ ।
नयाँ संविधानले मुलुकको विकास र समृद्धिको ढोका खोलेको छ । यसलाई मुलुकमा एकहदले राजनीतिक क्रान्ति सफल भएको मान्न सकिन्छ । यसैको जगबाट आर्थिक त्रान्तिमार्फत अब हामी विकास र समृद्धिको चरणमा प्रवेश गर्नुपर्छ । 

तपाईंको बिचार