Wednesday, April 24, 2019

राजधानी काठमाडौंलाई अव अझ कति कुरुप बनाउने ?

प्रकाशित मिति: 2019/04/09

प्रविण दाहाल

 देशको केन्द्रिय राजधानी काठमाडौंका सडकमा हिड्ने पैदलयात्री देखि सवारी चालक सबैलाई सोध्नुहोस्,  सडकमा तपाईहरुले दैनिक भोग्ने गरेको प्रमुख समस्या के हो?  सबैको साझा उत्तर हुनेछ–उच्च सवारी चाप, बढ्दो जाम र प्रदूषण । बिगत केहि बर्षदेखि स्थायी तथा अस्थायीरुपले काठमाडौंमा बसोबास गर्ने जनसंख्या तीब्र रुपले बढ्दै गएको छ । सोहि अनुरुपमा सवारीको चाप पनि बढ्दै गएको छ।  काठमाडौं उपत्यका भित्र खाली क्षेत्र भेट्न प्रायः मुश्किल छ । केहिबर्ष आगाडी उपत्यकाबाट नियाल्दा देखिने हरियो रमणीय दृष्य सुक्खा माटोमा परिणत हुदैछ । या भनौ कंक्रिटको सहर बन्दै छ काठमाडौं । 

देशको राजधानी चिटिक्क, प्रकृतिमैत्री, हराभरा नभएर पुरै अव्यवस्थित तबरले ढलानमैत्री हुदै । सरकारी स्तरबाटै शहरलाई सफा, चिटिक्क, प्रकृतिमैत्री, हराभरा, व्यवस्थितसडकको ढाचामा बदल्न बेलैमा ठोस कदम नचल्ने हो भने अव यहाँ निकट भविष्यमा नै भयावहको अवस्था सृजना हुनेमा कुनै शंका छैन । त्यो भयाबह स्थितिलाई दृष्टिगत गर्दै सरकारी स्तरबाटै सवारी चापलाई व्यवस्थित गर्न सडक चौडा पार्ने कार्यपनि नभएको होइन । यधपी सरकार स्वयंले सडकको परिभाषालाई संकुचित तवरबाट हेर्दा समस्या उत्पन्न भएको पाइन्छ । ।
आजको बिस्तारित सडकलाई नियाल्दा सडक भनेको केवल ठुलासवारीका लागि मात्र हो भन्ने सरकारको संकुचित बुझाई  छ। सडक बिस्तार गर्दा पैदलयात्रीका लागि बनाइएको पेटी नै मास्नु, अधिकांश विस्तारित सडक छेउ निजि ठुला सवारीको पाकिङ स्थलमा बदलिनु, साना सवारीका लागि भनेर लेन नछुट्याईनु लगायतका यावत कारणले सरकारको सडकप्रतिको संकुचित मानसिकतालाई उदांगो पारेको छ । सरकारले सडक विस्तार गर्न अख्तियारी दिएका निकायलाई के बुझाउन सक्नु पर्यो भने सडकमा सवारी मात्रै गुड्ने नभएर त्यसमा सम्पूर्ण गतिबिधिहरु हुने गर्दछन र सोहि अनुरुपको सडकको डिजाइन कोरिनुपर्छ । सडकमा बाटो हिड्ने बटुवा देखि भारी बोक्ने भरिया, ठेला चलाउने चालक, साइकलयात्री, बृद्धबृद्धा, बालबालिका, अपाङग, दृष्टिबिहिन लगायत सम्पूर्ण वर्गहरु र सडकमा हिड्दा तिनीहरुमा सुरक्षाको भाव सृजना गर्नुपर्छ । 

तर, विडम्बना हालसालै बिस्तार भएका सडकलाइ हेर्ने हो भने सबैको त्यो पाइदैन । ति सडक केबल सवारी साधनको लागि मात्रै हो भन्ने भान हुन्छ । सवारी चापलाइ न्यूनीकरण गर्ने बहानामा खाली ठाँउ र सम्पदा समेत मासेर अव्यवस्थित तवरले भवन आचार संहितालाई कुल्चिएर बनेका भवनले गर्दा काठमाडौँका सम्पूर्ण जमिनलाई ढलानले छोप्दैछ ।सामान्य ठाँउको त कुरै छाडौं विश्व सम्पदा सूचीमा परेको पशुपति क्षेत्र भित्र पर्ने वनमा समेत धेरै पटक ढलान हुन खोज्दै आएको हामीले देखेका छौं । रानीपोखरी जस्तो एतिहासिक मल्लकालीन संस्कृतिक सम्पदा मासेर समेत ढलान गर्ने प्रयास भएको थियो । नेपालमा कंक्रिट विकासे मानसिकताले गर्दा भएको प्राकृतिक बस्तु मासेर सोहि बस्तुको कंक्रिटरुपी पहिचान देखाउने क्रियाकलाप बढ्दो छ । जसको ज्वालन्त उदारहणको रुपमा हामी नेपालका प्रमुख शहरहरुमा तिनका रुप प्रतक्ष्य देख्न सक्छौ । 
यस्ता प्रयासले गर्दा काठमाडौँको सम्पूर्ण जमिन सिल हुने र आकासे पानी समेत जमिन तल जान नपाउनाले काठमाडौंको जमिनको पानीको सतह वर्षेनी घट्दै जादैछ । जसले गर्दा निकट भविष्यमा नै पानीको हाहाकार हुने देखिन्छ । यति मात्रै नभएर जमिनमा हुने जिवहरुको जीबनलाई समेत तहसनहस पर्ने छ । माटोमा बस्ने गड़ेउला, किराको आस्तित्व नै ढलानले गर्दा संकटमा पर्दछ । पर्यावरणमा परोक्षतवरले प्रभाव पर्ने देखिन्छ । भएका रुख, बिरुवा र सम्पदाहरु मासेर सडक फराकिलो पार्नाले सवारी चाप न्यूनीकरण होइन झन् सवारीलाइ आमन्त्रण गरिरहेको छ । यसले एकातिर प्रदूषणमा भारिवृद्धि भएको छ भने अर्को तर्फ दुर्घटना पनि अत्याधिक रुपमा बढ्न गएको छ। 

वल्ड इकोनोमिक फोरमले हालसालै गरेको अध्ययन अनुसार प्रदूषणका कारण मानब जीबनको आयू सरदर १.८ बर्षले घटी रहेको छ । बढ्दो सवारी चाप , औधोगीकिकरण र त्यसबाट सृजित धुवा, धुलोले वातावरणलाई तहसनहस पारिरहेको छ । विश्वका प्रदुषित शहरहरुको सूचीमा काठमाण्डौ अग्रपंक्तिमै पर्ने भएकाले यस भयावह स्थितिबाट भाग्न काठमाण्डौवासी सफल छैनन् । त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाको पछिल्लो तथ्यांक अनुसार २०७१, ७२ देखि दुर्घटना र त्यसबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । हालै मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रकाशित गरेको तथ्यांक अनुसार २०७१, ७२ मा १३ हजार ५ सय २९ जना दुर्घटनामा परेका थिए । त्यसमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ८७ थियो ।  त्यसैगरि २०७४, ७५ मा दुर्घटनामा पर्नेको संख्या बढेर १८ हजार ३४ पुगेको छ भने मृत्यु हुनेको संख्यामा पनि  वृद्धि भइ २हजार ५ सय ४१  पुगेको छ । अधिकांश दुर्घटनाबाट प्रताडित पैदल यात्री छन् र जसको कारक तत्व भनेको आवश्यक सडक पूर्वाधार बिना बनेका सडक र उच्च सवारी चाप हो । 

विश्वभरि कै प्रयासलाइ हेर्ने हो भने सवारी चाप र प्रदूषणलाई कम गर्न धेरै प्रयास भएका छन् । युरोपका प्रतिष्ठित शहरहरु धमाधम साइकल शहरको रुपमा परिणत हुने होडबाजी गरिरहेका छन् । बिजुलीबाट चल्ने सवारीप्रति विश्वको ध्यानाकर्षण भएको छ । नर्वेको राजधानी ओस्लोमा मात्रैबिजुलीका सवारी साधनमा भारि बृद्धि भई पेट्रोलको खपत्  ३० प्रतिशतले घटेको छ जसले वातावरण संरक्षण्मा प्रत्यक्ष टेवा पुग्ने र बैकल्पिक उर्जा प्रवद्र्धनमा समेत सहयोग मिल्ने देखिन्छ । भर्खरै मात्र चीनले आफ्नो प्रतिष्ठित शहर साञ्जेनमा १६ हजार सार्बजानिक बसलाइ बिजुली बसमा रुपान्तरण गरेको छ ।  तीन बर्षको छोटो अबधिमै सम्पूर्ण सार्बजानिक सवारी साधनलाइ बिजुली बसमा रुपान्तरण गर्नुलाई ठुलो उपलब्धिको रुपमा लिई त्यसबाट हामीले पनि पाठ सिक्न जरुरी छ । 

त्यस्तै वातावरण संरक्षणमासँगै महिनाको एक दिन भए पनि सम्पूर्ण नागरिकहरु निर्धक्कसँग सडकमा खेल्न पाउने हेतुले रुवान्डा, इथियोपिया जस्ता देशका मुख्य शहरहरुमा सरकारी स्तरबाटै चक्का जाम हुने गरेको छ । सो दिन सम्पूर्ण शहरबासीहरु फोहोरमैला व्यवस्थापनमा सारिक हुनै पर्ने छ भने बालबालिकाहरु आनन्दले सडकमा खेली रमाउने रहेछन । 

बिश्वभरि नै इन्धनबाट चल्ने निजि तथा सार्बजनिक सवारीलाइ बिजुली बसमा रुपान्तरण गर्ने होडबाजि चलिरहेको सन्दर्भमा नेपालमा पनि निजि क्षेत्रको सहकार्यमा  सरकारद्वारा  सार्बजनिक सवारीमा ब्यापक लगानी गर्नु बान्छनिय देखिन्छ । सवारी चाप तथा प्रदुषणलाइ कम गर्न सरकारले २० बर्षे पुरानो सवारीलाइ रोक लगाउने निर्णय गर्यो, यद्यपि उचित कानुनी कार्यान्वयनको त्यो पूर्णरुपमा कार्यान्वयन हुन सकेन । त्यसकारण यतातिर पनि सरकारको ध्यान जान जरुरी छ भने भवन निर्माणका क्रममा सबै कंक्रिटले टाढ्ने परम्परालाई रोक्न छुटै कानुन बनाउन पर्छ । यसका साथै शहरको सौन्दर्य बढाउन खाली जग्गा संरक्षण अभियन पनि चलाउन पर्छ । त्यसले बालबालिकालाइ खुल्ला रुपले खेल्ने ठाँउ र भुकम्प जस्तो प्राकृतिक प्रकोपमा आश्रयस्थल समेत बन्न पुग्छ ।  जसले गर्दा सरकारको करको दायरा समेत फराकिलो हुन गई समृद्धिको सपना हाँसिल गर्न पनि मदत गर्नेछ । 

 

तपाईंको बिचार