Friday, August 18, 2017  |    

पर्यटनका पर्याय मुक्ति पाण्डे

प्रकाशित मिति: 2015/10/02

‘मेरो स्वभाव र पर्यटन मिलेजस्तो लाग्छ’ युवा पर्यटन व्यवसायी मुक्ति पाण्डे भन्नुहुन्छ, ‘म स्वभावले ‘फ्रयाङ्क’ मान्छे हुँ, पर्यटनमा पनि यस्तै स्वभाव आवश्यक हुन्छ ।’ यहि स्वभाव र व्यवसायको ‘म्याच’ ले नै सायद् उहाँलाई सोचेभन्दा बढ्ता सफलता मिलेको छ(उहाँकै शब्दमा) । मुक्ति ठान्नुहुन्छ, ‘पर्यटन र म एकार्काका पर्याय हौँ ।’ यदि यसो नभएको भए म आजको व्यवसायीक सफलताको स्थानमा पुग्थिनँ होला –पाण्डेलाई यस्तै लाग्छ । तर, यत्तिको सफलताका थुप्रै कथा र कहानीहरु छन्, उहाँका । 

                 ...
सन् २०४१ सालमा गोर्खा जिल्लास्थित अश्राङ गाविसमा जन्मिनुभएको हो, मुक्ति पाण्डे । एक मध्यमवर्गिय किसान परिवारको  पहिलो सन्तानका रुपमा जन्मिनुभएका मुक्तिले विद्यालयीय तहको शिक्षा स्थानिय सरस्वती माध्यमिक विद्यालय, बोर्लाङमा पूरा गर्नुभएको थियो । विद्यालयीय तहको अध्ययन पूरा गरेलगक्तै वि. सं. २०५७ सालमा राजधानी छिर्नुभएका मुक्तिले औपचारिक अध्ययनसँगै व्यवहारगत गर्जो टार्नैका लागि कैयौँ ठाउँमा जागिरको शिलशिलामा भौँतारिनुभएको थियो । 
‘बाँच्नका लागि के गरिएन ?’ मुक्ति भन्नुहुन्छ, ‘होटलमा भाँडा माझ्ने, पसलको कामदेखि भरिया गर्ने लगायतका थुप्रै क्षेत्रमा मैले काम गरेँ ।’ उहाँसँग सुख÷दुःखका अनन्त अनुभव छन्, जो शब्दले बयान गर्न सक्दैन् । 
आज जुन क्षेत्रमा उहाँ सफल र सन्तुष्ट हुनुहुन्छ, अर्थात पर्यटन क्षेत्रमा मुक्तिको प्रवेश भने वि.सं. २०६२ सालमा भएको हो । पथप्रदर्शनमा एक सामान्य मजदुरको रुपमा उहाँले पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको थियो । 
पर्यटन क्षेत्रमा प्रवेश गरेको तीन वर्षपछि वि.सं. २०६५ सालमा नै उहाँले एक गेष्ट हाउस सञ्चालन गर्नुभयो । सो समय उहाँले ठमेलमा खाङसार गेष्ट हाउस सञ्चालनमा ल्याउनुभएको थियो । त्यसपछि वि.सं. २०६७ सालमा उहाँले अर्को होटल नेचर क्याम्प चितवनबाट सञ्चालनमा ल्याउनुभयो । 
यससँगै एक वर्षपछाडी चलाउँदै आएको होटल छाडेर ठमेलस्थित ज्याठा र क्षेत्रपाटीमा होटल फ्यामिलीका शाखा खोल्नुभयो । सोही समय सञ्चालनमा ल्याएको पोखराको शाखा भने अहिलेसम्म पनि सञ्चालनमा छ, भने ठमेलका शाखा उहाँले बेचिसक्नुभएको छ । 
यसैगरी वि.सं. २०६८ सालमा मुत्तिले हिमालयन अन फूट ट्रेकिङ सञ्चालनमा ल्याउनुभयो । यो ट्रेकिङ हालसम्म पनि सञ्चालनमा रहेको छ । अहिले उहाँ ठमेलस्थित होटल बैशालीअगाडी श्री टिबेट गेष्ट हाउस सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै उहाँकै रोहवरमा ठमेल ज्याठामा १५ कोठे नयाँ भवन निर्माणाधिन रहेको छ । पर्यटन क्षेत्रका उहाँका उल्लेखित कार्यहरुले मुक्तिको सक्रियता प्रश्ट हुन्छ । छोटो समयमा नै मुक्तिले आफूलाई एक अब्बल र सफल व्यवसायीको रुपमा चित्रण गरिसक्नुभएको छ । 
                    ...

व्यवसायीक क्षेत्रमात्र होईन सामाजिक र मानविय कर्ममा पनि मुक्तिको उक्तिकै चाख छ । विभिन्न सामाजिक संघसंस्थामार्फत र व्यक्तिगत रुपमा पनि उहाँले मानविय कर्म गर्दै आउनुभएको छ । उहाँको सामाजिक गतिविधि हेर्दा पनि यो कुरा प्रश्ट हुन्छ ।
मुक्ति मायाँ नेपाल फाउन्डेसन नामक एक गैरसरकारी संस्थाको बोर्ड सदस्य हुनुहुन्छ । राजधानीको बालकोटमा अवस्थित यस संस्थाले अनाथ र असहाय बालबालिकाको लालनपालन र शिक्षादिक्षामा सहयोग गर्दै आएको छ, विगत आठ वर्षदेखि । फिनल्याण्ड सरकार मातहत संचालन हुँदै आएको यस संस्थामा आवद्ध बालबालिकाको प्रमाणपत्रपछाडीको रोजगारीको ग्यारेन्टी मुक्ती आफैँले लिनुभएको छ । 
वर्षको सुरुमै गएको विनासकारी भूकम्पका कारण भएको मानविय तथा भौतिक क्षतिको पीडा मत्थर गर्नमा मुक्तिको सक्रियता अरु प्रशंसनिय छ । भूकम्पलगत्तै गोर्खा, नुवाकोट, रामेछाप, धादिङलगायतका जिल्लाका विभिन्न ठाउँहरुमा पुगेर उहाँले खाद्यान्न तथा आवासिय सहयोग प्रदान गर्नुभएको थियो । हाल उहाँ दीर्घकालिन पुनस्र्थापनाका काममा सक्रिय हुनुहुन्छ । 
                    ...
हाल मुक्ति ट्रकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) को आसन्न निर्वाचनको प्रचारप्रसारमा लागिरहनुभएको छ । प्रस्तावित चन्द्र रिजालसमूहको तर्फबाट उहाँ सचिव पदमा जान लाग्नुभएको हो । 
आसन्न टान निर्वाचनको परिपेक्ष्यमा मुक्तिसँग गरिएको संवाद प्रस्तुत छ :


हामीले नैतिक हिसावले 
चुनाव जितिसकेका छौँ 

टानको आगामी कार्यसमितिमा सचिवमा आफ्नो उम्मेद्वारी दिनुभएको छ, टानमा गएर के गर्ने मनसाय छ ?
टान कार्यसमितिमा अहिलेसम्म नगएपनि विगत दुई÷तीन वर्षयता मैले टानलाई नजिकबाट नियालेको छु । टानको विगतका दुई÷तीनवटा कार्यसमितिलाई हेर्दा टानले आफ्नो उद्देश्यअनुरुप काम नगरेको पाएको छु । 
सामान्य रुपमा बुझ्दा, टान हामी सबै व्यवसायीहरुको छाता संगठन हो । व्यवसायीहरुलाई समस्या पर्दा टानले आफ्नो उपस्थिति देखाउने हो, सहजता प्रदान गर्ने हो । तर, यस मामिलामा विगतका कार्यसमिति चुकेको जस्तो लाग्छ, व्यवसायीहरुको मन जित्न नसकेको जस्तो लाग्छ । म एउटा युवा पर्यटन व्यवसायी हुँ । युवा व्यवसायीहरुले पनि टानले व्यवसायीहरुलाई समस्या पर्दा ‘रेस्पोन्स’ गरेन भन्ने गुनासो धेरै सुनिन्छ । चुनावी दौरानमा व्यवसायीहरुको एजेन्डा लिएर गए पनि कार्यसमितिमा गएपछि यसलाई चटक्कै विर्सने गरेको विगतको अभ्यास छ, यसैलाई चिर्नका लागि मैले सचिवमा उम्मेद्वारी दिएको छु । 

टान खास केमा चुकेको पाउनुभएको छ ?
पछिल्लो चरणमा टान आफ्नो ट्रयाकबाट बाहिर गएको देखिन्छ । टानको काम बाटो बनाउने, गाउँको विकासको ठेक्का लिने होईन की जस्तो लाग्छ । आर्थिक अनियमितताका कुराहरु पनि यदाकदा सुनिए कै छ । 


तपाइँले राजनीतिक ‘इगो’ का आधारमा यी आरोपहरु लगाईरहनुभएको त छैन् ?
अहिले तपाइँसँग कुरा गरिरहँदा म व्यवसायी भएर उभिएको छु । टानमा छिर्दा व्यवसायीक प्रतिनिधित्वका हिसावले काम गर्नुपर्छ । बाहिर जे र जस्तो राजनीतिक आस्था र गतिविधि अंगाले पनि टानभित्र गएपछि नितान्त व्यवसायीक हुनुपर्छ भन्ने म ठान्छु । 
र, मैले जे बोलिरहेको छु, यो मेरो व्यक्तिगत बोलीमात्र होईन मैले सम्पूर्ण व्यवसायीहरुको भावनाको कुरा बोलिरहेको छु, जो सञ्चारमाध्यममा पनि जगजाहेर नै छ । टानले सबै व्यवसायीहरलाई नचिनेको अवस्था छ । यो विरोधका लागि विरोध नभएर तथ्यगत कुरा हो । 

तपाइँ व्यवसायी आफैँ पनि त राजनीतिक कित्ताकाट गर्नुहुन्छ, जो अहिले आसन्न निर्वाचनको दौरानमा पनि स्पस्ट देखिन्छ, तपाइँहरुचाँहि चोखो हुनुहुन्छ र ?
हामी व्यवसायी हो भन्ने कुरा सत्य हो । हामी स्वतन्त्र व्यवसायीको रुपमा राजनीतिक गतिविधि गर्न सक्छौँ, यो हाम्रो व्यक्तिगत सवाल हो । तर, टानभित्र छिर्नेहरुले यस्तो गतिविधि गर्नु गलत हो । 
नेपाल यस्तो मुलुक हो, जहाँ कुनै राजनीतिक दलको सदस्यता लिनु हाम्रो बाध्यता हो । तर, टानजस्तो संस्थामा गएर कुनै राजनीतिक दलको मुद्दामात्र बोक्ने काम सही हुन सक्दैन् । 

टानको वर्तमान कार्यसमितिप्रति तपाइँ असन्तुष्ट हुनुहुन्छ, तपाइँसम्मिलित गठबन्धन गएपछि टानमा के त्यस्तो परिवर्तन देख्न पाईन्छ होला ?
टान कार्यसमितिमा गएर हामीले ठूलो परिवर्तन ल्याउँछौँ त भनेको छैन् । तैपनि तपाइँले हेर्न सक्नुहुन्छ, टान यस्तो संस्था हो, जहाँ वार्षिक १८÷२० करोडको वार्षिक बजेट हुन्छ । यस्तो संस्थाको छवि गरिमामय हुनुपर्नेमा टानमा छिर्दा शौचालयमा छिरेको जस्तो अनुभूति हुन्छ । मसहित चन्द्र रिजालको टीमले टानभित्र छिर्दा व्यवसायीहरुको संस्था हो भन्ने ठाउँमा पु¥याउने छ । टानलाई हामी एउटा व्यवसायीक र गरिमायुक्त संस्थाको हदमा पु¥याउनेछौँ । इच्छाशक्ति भयो भने काम गर्ने कुरा ठूलो होईन । 
हामी सबैले थाहा पाएका छौँ, सामान्य ‘रिसिप्ट’ पनि नभएको अवस्था छ टानमा, अहिले । बिल भर्पाईलगायतमा अनियमितता देखिन्छ, सबैले देखेका छ यो कुरा  । कार्यालय व्यवस्थापनको क्रममा मैले बैँक भौचरको व्यवस्था गर्ने सामान्य पहल चाँहि गर्छुजस्तो लाग्छ । टानको नाममा गरिने विदेश भ्रमण, राजनीतिक स्वार्थका लागि बाँडिने पैसालगायतलाई त नियन्त्रण गरिन्छ । 


चन्द्र रिजालको नेतृत्वमा टानमा जाँदै हुनुहुन्छ, टानलाई सुधार्ने अरु ठोस योजनाहरु के छन ?
हामी टानको निर्दिष्ट उद्देश्यभन्दा बाहिर जाने छैनौँ । यथेष्ट बजेट हुँदाहुँदै पनि वर्षौँअगाडी खोलिएको टानको दैनिक कार्यसञ्चालन राम्रोसँग हुन सकेको छैन्, कम्ती यतिलाई चाँहि हामी चिर्नेछौँ । अर्को पक्ष, यो समय डिजिटल जमाना हो । तर, आजसम्म पनि कागजे रिसिप्टले काम चलाईन्छ, टानमा । हामी न्यूनतममा पनि बैँक भौचर प्रणाली लागू गर्नेछौँ । 
व्यवसायी र मजदुरसँग टानको सम्बन्ध अहिले चिसो छ । आगामी दिनमा हामी यसमा परिवर्तन ल्याउने छौँ । 
टानको घोषित् निर्वाचन मिति स्थगित गरेर नयाँ मिति सार्वजनिक गरिएको छ, अब चाँहि निर्धारित समयमा नै निर्वाचन हुनेमा कक्तिको ढुक्क हुनुहुन्छ ?
टानको यसअघि घोषित मिति स्थगित हुनु संस्थाको गैरजिम्मेवारीपन हो । वर्तमान कार्यसमिति असफल भएको स्पस्ट उदाहरण हो यो । हामीबाटमात्र होईन उहाँ समर्थित व्यवसायीहरुले पनि यससम्वन्धमा प्रश्न उठाएका छन् । 
अबको निर्वाचन चाँहि कसैले चाहेर पनि पछाडी सार्ने वा प्रभावित पार्ने काम गर्न सक्दैन्, किनकी जिल्ला प्रसाशन कार्यालयले हस्तक्षेप गरिसकेको अवस्था छ । 


अन्तमा, चुनावी तयारी कसरी गर्दै हुनुहुन्छ ?
स्वतन्त्र, शेर्पालगायतका युवा पर्यटन व्यवसायीको समावेशी चुनावी टीम हामीले तयार गरिसकेका छौँ । विभिन्न प्रचारप्रसार र परिचालन समितिमार्फत हामी चुनावी अभियानमा गईसकेका छौँ । हामी पूर्ण तयारी अवस्थामा छौँ । 
नैतिक रुपमा हामीले चुनाव जितिसकेका छौँ । पटक–पटक गल्ती दोहोर्‍याईरहनुभएका हाम्रा प्रतिस्पर्धी साथीहरुलाई अब पर्यटन व्यवसायीहरुले विश्वास गर्नेवाला छैनन् । अबको नेतृत्व अग्रगामी व्यवसायीहरुको हुनेछ । 

तपाईंको बिचार