Thursday, April 27, 2017  |    

टान राजनीतिक मैदान होईन

प्रकाशित मिति: 2015/10/05

छेटुप तामाङ, ३४, बाल्यकालदेखि नै निकै मित्रवत् हुनुहुन्थ्यो । अपरिचितहरुलाई पनि छिट्टै प्रभाव पार्न सक्ने उहाँको स्वभावका कारण आज पर्यटन क्षेत्रमा उहाँले आफूलाई स्थापित गराईसक्नुभएको छ । जुनसुकै कुरामा पनि उत्सुकता प्रदर्शन गर्ने तामाङले छोटै समयमा पर्यटनमा व्यवसायिक रुपमा सफलता पाउनुभयो । 
काभ्रेस्थित बोल्देफेदिचे गाविसमा जन्मिनुभएको हो, तामाङ । स्थानिय पञ्चकन्या माध्यमिक विद्यालयबाट स्कुल तहको अध्ययन पूरा गरेपश्चात पारिवारिक बाध्यताको क्रममा उहाँ पर्यटनमा जोडिनुभएको थियो । परिवारमा छौटौँ सन्तानमध्ये जेठो सन्तानको रुपमा जन्मिनुभएका उहाँले पारिवारिक जिम्मेवारी निभाउने क्रममा पर्यटनसँग सम्वन्ध गाँसिन आईपुग्नुभएको थियो । 
आफ्नै बाबु पनि ‘क्याम्पिङ कुक’  हुनुले उहाँलाई पर्यटनमा आउनका लागि सहायक भूमिका खेलेको थियो । बाबु एकजनाको कमाईलेमात्र पारिवारिक गर्जो टार्न मुस्किल भएपछि उहाँ एक भरियाको रुपमा ट्रेकिङ थाल्नुभयो । 
सन् १९९६ मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको हो, छेटुप तामाङले । पर्यटनमा लाग्नेक्रममा उहाँले करिव तीन वर्ष भरियाको रुपमा काम गर्नुभयो । त्यसपश्चात तीन वर्ष सहायक पथप्रदर्शकको रुपमा काम गर्नुभयो । ट्रेकिङ गाईडको तालिम लिएपछि उहाँले फे्रन्च र अंग्रजी भाषामा लिडर गर्नुभयो । उहाँ लाईसेन्सप्राप्त गाईड बन्नुभयो र गाईड गर्ने शिलशिलामा उहाँले क्याईम्बिङसमेत थाल्नुभयो । 
यतिबेलासम्म उहाँले ट्रेकिङको राम्रो अनुभव संगालिसक्नुभएको थियो । यहि अनुभवको आधारमा उहाँले अल्टिच्युड रान्डोने ट्रेकिङ स्थापना गर्नुभयो । उहाँले व्यवसायीक रुपमा यहि संस्थालाई हालसम्म निरन्तरता दिनुभएको छ । 
व्यवसायीक क्षेत्रबाहेक तामाङ सामाजिक तथा मानविय सेवाका क्षेत्रमा पनि उक्तिकै सक्रिय हुनुहुन्छ । उहाँ सर्भाइभ नेपाल एसोसियसन नामक संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । संस्थाले काभ्रेको विभिन्न विद्यालयहरुमा शैक्षिक गतिविधिहरु गर्दै आएको छन् । त्यस्तै, बैशाख १२मा गएको विनासकारी भूकम्पका कारण पीडित भएकाहरुको उद्दार र राहतमा पनि तामाङले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । भूकम्प पीडितहरुको सहयोगार्थ उहाँले आफ्ना फ्रान्सेली साथीहरुको पहलमा बोल्देफेदिचे नामक पुनर्निर्माण परियोजना स्थापना गरेर सहयोग प्रदान गर्ने योजनामा हुनुहुन्छ। फ्रान्समा दर्ता भएको उक्त परियोजनाको तामाङ नेपालमा ‘कन्ट्री डाईरेक्टर’ हुनुहुन्छ । 
तामाङ आफूलाई एक स्वतन्त्र र कर्मशिल व्यवसायीको रुपमा चिनाउनुहुन्छ । टानको आसन्न निर्वाचनमा नेपाल पर्यटन व्यवसायी मञ्च र राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट –नेपाल)गठबन्धनबाट उहाँ सचिव पदका उम्मेद्वार हुनुहुन्छ । 

 

आगामी निर्वाचनका सवालमा गन्तव्य नेपाल न्यूजले तामाङसँग गरेको संवादको सम्पादित अंश प्रस्तुत छः 

नीट –मञ्च गठबन्धनबाट सचिवमा टान निर्वाचनमा उठनुभएको छ, के गर्ने सोच छ, टानमा गएर ?
टान सम्पूर्ण ट्रेकिङ व्यवसायीहरुको छाता संगठन हो । टानको दायित्व व्यवसायीहरुको व्यवहारिक चुनौती र समस्याहरुको समाधानका लागि पहल गर्ने हो । जहाँसम्म म सचिव पदमा टानमा जान लागिरहेको छु, व्यवसायीहरुको पीर मर्का समाधान गर्नका लागि मेरो जिम्मेवारी र भूमिकाअनुसार मैले पहल गर्नेछु । अहिले व्यवसायी, मजदुरको समस्यादेखि प्रशासनिक रुपमा देखिएका अप्ठ्याराहरु निराकरणका लागि मेरो भूमिका रहनेछ । 
आफ्नो व्यक्तित्व निर्माण गर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि टानमा जाने होईन । पर्यटन क्षेत्रमा थुप्रै समस्याहरु छन्, तिनको समाधानार्थ टानले पहलकदमी लिने हो । व्यवसाय र व्यवसायीहरको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर कार्यसमितिले सोच्ने कुरा हो । पर्यटनलाई प्रतिष्ठिन पेसाको रुपमा विकास गर्नका लागि हामी प्रयास गर्नेछौँ । 


टानमा जानैका लागि भएका विभिन्न अस्वस्थ प्रतिस्पर्धाहरुका विच आगामी कार्यसमितिबाट के ठूलो आशा राख्न सकिन्छ ?
म कुनै राजनीतिक आस्था र गतिविधिमा संलग्न हुलाँ, तर यसको परिवेश फरक छ । टान कुनै राजनीतिक मैदान होईन । टानमा जानैका लागि तपाइँले संकेत गर्नुभएजस्तो अस्वस्थ गतिविधिहरु गर्नु गलत छ, यसले व्यवसायीक हित गर्दैन ।
विगतमा राजनीतिक गठबन्धनका आधारमा टान कार्यसमिति चुनिएकाले, कतिपय ठाउँमा अप्ठ्यारो देखिएको थियो । म एक फरक पहिचान कायम गरेको ‘एक्सन ओरिन्टेट’ व्यवसायी भएको र अरु पनि सक्षम व्यवसायी भएको कारणले व्यवसायीहरुको समस्या समाधानका लागि हामी चुनिएर गएको खण्डमा पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन हुनेछ । 


नीट –मञ्च गठबन्धनबाट तपाइँ  सचिवका लागि उठनुभएको छ, तर यो गठबन्धन निकै विभाजित र विबादास्पद छ, कत्तिको विश्वस्त हुनुहुन्छ ?
अहिलेको समस्या नीट र कांग्रेस पर्यटन विभागविचको ‘मिसअन्डरस्ट्यान्डिङ’का कारणले देखिएको हो । तथापी, सबैले आ–आफ्ना विचार र धारणाहरु राख्न पाउँछन् । यो व्यवसायीहरुको निर्वाचन भएकाले सकेसम्म सहमती कायम गरेर जाँदा नै बढी फाईदाजनक हुन्छ । सहमती र सहकार्यको नमूना पर्यटन व्यवसायीहरुले प्रदर्शन गर्नुपर्छ । 


चुनावी प्रचारप्रसार अभियानमा कत्तिको लाग्नुभएको छ ?
म लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध भएको र व्यवसायीहरुसँग राम्रो चिनजान भएको नाताले उहाँहरुले मलाई चिन्नुभएको छ । यसका लागि त्यत्ति ठूलो प्रचार गर्नुपर्छ भन्ने लाग्दैन । सबै कुरा जगजाहेरै छ । हामीले हाम्रो एजेन्डा प्रस्तुत गर्ने हो, गरेका हौँ । 


विभिन्न प्रचारवाजीका विच समयमा नै टान निर्वाचन सम्पन्न हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
आगामी असोज २८ लाई ताकिएको निर्वाचनमा शंका गर्नु आवश्यक छैन् । निर्वाचन समयमा नै हुन्छ । 


यहि टीम निर्वाचनमा जानेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यो टीम सक्षम र सबल छ । लामो समय यहि व्यवसायमा भिजेर आएका व्यवसायीहरु यसमा समावेश भएकाले यहि टीम निर्वाचनमा जानेमा म विश्वस्त छु ।     

तपाईंको बिचार