Tuesday, April 25, 2017  |    

सामाजिक विकासका पर्याय मोहन लम्साल

प्रकाशित मिति: 2015/11/27
वरिष्ठ पर्यटन व्यवसायी तथा सामाजिक व्यक्तित्व मोहन लम्साल
वरिष्ठ पर्यटन व्यवसायी तथा सामाजिक व्यक्तित्व मोहन लम्साल

मोहन लम्साल पर्यटनमा चिरपरिचित नाम हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वमहासचिवसमेत रहनुभएका लम्साल मकालु एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि उहाँले पर्यटनमा क्रियाशिल हुनुहुन्छ । 
वि.सं. २०२४ साल मंसिर ८ गते मध्यपश्चिमाञ्चलको दाङस्थित तुलसीपुर नगरपालिका वडा नं. ६ मा निम्नवर्गीय किसान परिवारमा मोहन लम्सालको जन्मनु भएको थियो । बुबा निलकण्ठ लम्साल र आमा पार्वती लम्सालका सात सन्तातमध्ये छैटौँ सन्तानको रुपमा जन्मनुभएका लम्सालले गाउँकै स्थानीय महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी सक्नुभयो । दुःखसुख झेल्दै खेतीपातीबाट आर्थिक जोहो गर्दै वि.सं. २०४३ सालमा विद्यालय तहको पढाइ पूरा गर्नुभयो । यसलगत्तै उहाँ राजधानी प्रवेश गर्नुभयो । अतिरिक्त अध्ययनको सिलसिलामा राजधानी प्रवेश गर्नुभएका लम्सालले त्यसयता विभिन्न चुनौतीहरुको सामना गर्दै अगाडि बढ्नुभएको छ र आज आफूलाई एक सफल व्यवसायीको रुपमा उभ्याउन सफल हुनुभएको छ । त्यो उहाँको कर्म र संघर्षको उपज हो । 
झण्डै तीन दशकअगाडि राजधानी छिरेर संघर्ष थाल्नुभएका लम्सालले काठमाडौंको पिपल्स क्याम्पसबाट सो समयको आइकम (अहिलेको प्लस टू बराबर) को अध्ययन सुरु गर्नुभएको थियो । क्याम्पसको पढाइसँगै आर्थिक जोहो गर्ने क्रममा उहाँ निकै समय भौँतारिनु भयो । जागिरका क्रममा २०४४ सालमा सांस्कृतिक संस्थानमा उहाँले दुई वर्ष नाटक खेल्नुभयो । 
समकालिन परिस्थितिमा निरंकुश पञ्चायती शासनको विरुद्धमा उठेको राजनीतिक आन्दोलनमा सहभागी हुँदा लम्साल ५ दिन हनुमानढोका जेलसमेत पर्नुभयो । यही जेल पर्नुको चुनौती नै लम्सालको लागि अवसर बनेर उदायो । जेल पर्नुले छोडिएको संस्थानको उहाँको जागिरले नयाँ दिशानिर्देश र्गयो । अन्ततः उहाँ पर्यटन क्षेत्रसँग जोडिन आइपुग्नुभयो । 
आफ्नो अध्ययनको क्षेत्रसँग पनि कतै मेल खाने भएकाले उहाँलाई पर्यटन क्षेत्रमा अलिक बढी नै चाह थियो । तसर्थ, यही इच्छाअनुरुप उहाँले २०४७ सालदेखि ठमेलको रिगल एक्स्कर्सनबाट आफ्नो पर्यटनको यात्रा सुरु गर्नुभयो । ट्रेकिङ गाइडबाट सुरु गर्नुभएको पर्यटन यात्रा नै उहाँको व्यवसायको प्रारम्भिक बिन्दु हो । सो एक्स्कर्सनमा रहेर उहाँले तीन वर्ष ट्रेकिङ गाइड गर्नुभयो । वि.सं. २०५६ सालसम्म उहाँ सोही कम्पनीमा आबद्ध रहनुभयो । 
यस अवधिसम्म प्राप्त ज्ञानका आधारमा २०५६ सालमा उहाँले मकालु ट्रेक्स संचालनमा ल्याउनुभयो, सो संस्था संचालनका लागि उहाँले दुईवर्ष अगाडिदेखि नै संस्था दर्ता गरिसक्नुभएको थियो ।
...

 

लम्साल पर्यटन क्षेत्रमा एक उदाहरणीय व्यवसायी त हुन नै यसबाहेक उहाँ सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै परिचित हुनुहुन्छ । हाल उहाँ स्विस नागरिकहरुको आर्थिक सहयोगमा नुवाकोटस्थित तारुकामा झण्डै अढाई करोडको योजनाअन्तर्गत ३ वटा विद्यालय निर्माणका लागि संयोजन गर्दै हुनुहुन्छ । अहिले आरुबोटेमा अवस्थित विपी स्मृति प्राविको निर्माणका लागि जुटिरहनुभएका लम्सालसँग यहि विकासे योजनामा आधारित रहेर गन्तव्य नेपाल न्यूजले छोटो संवाद गरेको छ । उक्त संवाद प्रस्तुत छ :


तारुकामा विद्यालय निर्माण गर्दै हुनुहुन्छ, उक्त विद्यालय निर्माणको काम कहाँ पुग्यो ?
एक महिना ५ दिन पुग्यो, हामीले विपि प्राथमिक विद्यालयको निर्माणका लागि काम सुर गरेको । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, अब छाना छाउन र रंगरोगन गर्नमात्र बाँकी छ । त्यस्तै ३÷४ दिनमा निर्माणको काम सकिन्छ । आगामी डिसेम्बर ४ गते हामी विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नेछौँ । 

हालसम्म कति बजेट खर्च भएको छ ?
विद्यालय निर्माणमा हालसम्म भएको खर्च र बाँकी काम पूरा गर्नका लागि लाग्ने आनुमानित खर्च जोडदा कुल ७० लाख रुपैयाँ खर्च हुने हाम्रो मोटामोटी हिसाव हो । 
मैले त सुरुमा करिब २५ लाख खर्च हुने अनुमान गरेको थिएँ । तर, विदेशीहरुको उच्च गुणस्तर कायम गर्ने परिपाटी र निर्माण गर्दै जाने क्रममा बढेको आन्दोलन, बन्द र आपूर्तिको असहजता सबै कुराले लागत मेरो अनुमानको झण्डै तीन गुना बढन गएको छ । यद्यपी, बजेटको व्यवस्थापन उहि विदेशीको टोलीले नै गरेको छ । मैले त संयोजन गरेकोमात्र हो । 
विद्यालय निर्माण गर्ने क्रममा हामीले निकै अप्ठ्याराहरु झेल्नुपर्‍यो । निर्माण सामग्री खरिद तथा ढुवानी गर्ने क्रममा निकै उल्झनहरु आइपरे । हामीले छ हजारमा ‘एग्रिमेन्ट’ गरेको ढुवानी खर्च इन्धन अभावका कारण १२ हजार पर्न गयो । सिमेन्ट तथा नापअनुसारका इट्टा, छडलगायतका अत्यावश्यकीय सामग्री पाउन पनि मुस्किल पर्‍यो । त्यस्तै इन्धनका लागि पनि झण्डै अढाई÷तीन गुना बढी मूल्य तिर्नुपर्‍यो । 

 

विद्यालयको विशेषताबारेमा पनि छोटोमा बताईदिनोस् न ?
मूख्य कुरा विद्यालय भूकम्प प्रतिरोधात्मक छ । १० रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताका भवन बनाईएको छ । शिक्षकहरुका लागि छुट्टै ‘अफिस रुम’ छ । आधुनिक ट्वाईलेट र बाथरुम बनाईएको छ । अब रंगरोगन सकिएपछि सोलार प्यानल पनि राखिन्छ । 
भवन निर्माणका लागि उच्च प्रविधि र गुणस्तरिय सामग्री प्रयोग गरिएको छ । अत्याधुनिक उपकरण उनिहरु आफैँले ल्याएको छ । गुणस्तरमा विदेशीहरु सम्झौता नगर्नेरैछन् । 

अरु दुईवटा विद्यालय पनि बनाउने तपाइँको योजना छ, ति कहिले सुरु हुन्छन् ?
हाल निर्माणाधिन विद्यालयको निर्माण पूरा गर्न ३/४ दिन बाँकी छ । यो सकेलगत्तै हामी काम सुरु गर्नेछौँ । 
विद्यालय निर्माणका लागि जुटेको स्विस टोली डिसेम्बर ५ मा काठमाडौँ आउँछ, ८ डिसेम्बरमा नेपाल छाड्ने उनिहरुको योजना छ । हाल निर्माण कार्य भईरहेको विद्यालयको काम पूरा भएपछि अर्को टोली आउँछ । अर्को विद्यालयको काम उसैले गर्छ । हामीले योजना गरेको तीन वटै विद्यालय तीन छुट्टाछुट्टै टोलीले बनाउँछन् । 

 

विद्यालयको अलावा हस्पिटल र खानेपानी परियोजना सम्पन्न गर्ने तपाइँहरुको लक्ष्य छ, यी काम कहिले सुरु हुन्छ ?
हो । हस्पिटल र खानेपानी परियोजनाका लागि हामीले प्रारम्भिक अध्ययन÷अवलोकन पनि गरिसकेका छौँ । यद्यपी, यो आगामी योजना हुन् । 
तारुका क्षेत्रमा लामो समयदेखिको खानेपानीको समस्या रहेको हामीले बुझेपछि, खानेपानी परियोजना गर्नेबारेमा हामीले अवलोकन गर्‍र्यौँ, यसका लागि मुहान पहिचान गर्ने काम पनि भैसकेको छ । त्यस्तै स्वास्थ्य समस्या समाधानका लागि हस्पिटल निर्माण गर्ने योजना पनि बनिसकेको छ । हाल विद्यालय निर्माण गर्दै गरेको स्विस टोलीले यी परियोजना सम्पन्न गर्ने प्रतिवद्वता पनि जाहेर गरिसकेको छ । अनुमानित खर्चको विवरण उनिहरुले मागेको छ, सो विवरण हामी केही समयमा नै उपलब्ध गराउने छौँ । आगामी वर्ष नेपाल आउँदा उनिहरुले यी परियोजना सम्पन्न गर्ने प्रतिवद्वता जनाएका छन् । 
यसबाहेक हामीले आरुबोटे हुँदै जाने एक ट्रेकिङ रुटको पनि प्रारम्भिक अध्ययन गरेका छौँ । राजधानीबाट अत्यन्तै नजिक पर्ने सात दिनको पदमार्गबाट लाङटाङदेखि अन्नपूर्णसम्मको हिमश्रृखला अवलोकन गर्न सकिन्छ । 

यति ठूलो आर्थिक क्षमताका विकासे योजना एउटै गाविस तारुकामा गर्दै हुनुहुन्छ, अन्य क्षेत्रमा पनि यस्तै परियोजना गर्ने योजना गर्नेबारे सोच्नुभएको छ ?
बैशाख १२ मा विनासकारी भूकम्प गएसँगै राहत वितरणका क्रममा म तारुकामा गएको थिएँ । गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीको अनुरोधमा म राहत वितरणमा तारुका गएको थिएँ । सो क्रममा तारुकाको समस्या र वस्तुस्थिति बुझियो । अधिकारीकै अनुरोधमा र स्विस नागरिकको आर्थिक सहयोगमा मैले विद्यालय बनाउनका लागि संयोजन गरेको हो । 
मलाई यसरी विद्यालयलगायतको विकासे कामका लागि प्रस्ताव आएका थिएनन् । आएकोमध्ये हाल वैदेशिक सहयोगमा काम भैरहेको छ । तर, तारुकामा विद्यालय बनाउन थालेदेखि यस्तै विद्यालय हामीकहाँ पनि बनाउनका लागि पहल गरिदिनुपर्‍यो भनेर प्रस्तावहरु आएका छन् । 
हाल गरिरहेका र योजनामा रहेका काम सकिएपछि गर्न सक्ने स्थितिमा अन्य ठाउँमा पनि कामहरु अघि बढाउने योजना छ । 

तपाईंको बिचार