Friday, October 20, 2017

हामीसँग इन्डस्ट्रिलाई अगाडी बढाउने स्पस्ट भिजन छ : महासचिवका प्रत्यासी ढुंगाना

प्रकाशित मिति: 2016/01/16
ठाकुरप्रसाद ढुंगाना, महासचिवका प्रत्यासी, मिहिका धाख्वा समूह
ठाकुरप्रसाद ढुंगाना, महासचिवका प्रत्यासी, मिहिका धाख्वा समूह

गन्तव्य नेपालन्यूज/काठमाडौँ
ठाकुरप्रसाद ढुंगाना युवा पर्यटन व्यवसायी हुन् । सन् १९९८ देखि ट्राभल क्षेत्रमा प्रवेश थालेका ढुंगाना आईतबार हुन लागेको नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा महासचिवमा उम्मेद्वारी दिएका छन् । मिहीका राज्यलक्ष्मी शाह (धाख्वा) नेतृत्वको प्यानलबाट उनले उक्त पदमा उम्मेद्वारी दिएका हुन् ।
एबल नेपाल ट्राभल एण्ड टुर्सका प्रवन्ध निर्देशक ढुंगाना युएईको अवुधावीमा रहेको पहिलो नेपाली ट्राभल एजेन्सी ग्रीनलाईन ट्राभलका प्रवन्ध निर्देशक हुन् । उनले खाडी, युरोप, एसिया, अमेरीकालगायतका झण्डै विश्वभरी नै ट्राभल, टुरका गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । युएइमामात्र उनको ६ वटा ब्रान्च अफिसहरु सञ्चालनमा छन् । आएटाको सदस्य उनी खासगरी आउटबाउन्ड टुरमा सक्रिय छन् । 
ब्ल्याकयाक ह्युमन फाउन्डेसनका कोषाध्यक्ष उनले सन् २०१४ मा प्रधानमन्त्रीबाट बेस्ट टुरिज्म अवार्डसमेत पाउन सफल भएका थिए । 
विभिन्न एयरलाइन्सबाट बेस्ट टिकेट एजेन्टका रुपमा सम्मानित ढुंगानाले दक्षिण कोरियाको कियुङ विश्वविद्यालयबाट हस्पिटालिटी, टुरिज्म तथा नेतृत्व विकासको तालिम लिएका छन् । 
महासचिवमा ढुृंगानाको उम्मेद्वारी किन ? उनकै शब्दमा :
म ट्राभल, टुर क्षेत्रमा क्रियाशिल एक व्यवसायी हुँ । मैले विगत लामो समयदेखि विश्वका अधिकांश मुलुकहरुमा आउटबाउन्ड टुर गराउँदै आएको छु । युरोप, अमेरीका, एसिया, खाडीलगायत क्षेत्रका अधिकांश मुलुकहरुमा टुर संचालन गर्दै आएको नाताले यस क्षेत्रमा मेरो विशेष दख्खल र अनुभव दुवै  छ । 
नाट्टाको बोर्डमा पहिलो पटक जान लागे पनि यस क्षेत्रको गहन ज्ञान भएकाले पर्यटन क्षेत्रमा ठूलो योगदान पु¥याउन सकिने र सक्छु भन्ने मेरो अठोट छ । ‘इन्डस्ट्रि’ लाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा म र मेरो टिमको स्पस्ट ‘भिजन’ छ । हाम्रो पूरै टिम व्यवसायमा अनुभवी र उर्जाशिल छ । हाम्रा विपक्षीहरुको यसअघि नाट्टामा गतिविधिहरु देखिईसकेको छन्, उहाँहरुमा कुनै जोस र जाँगर छैन । यसको ठाउँमा हाम्रो प्रयोग हुन बाँकी जुझारु टिमले निर्वाचनमा उम्मेद्वारी दिएका छौँ । यो टिम नाट्टामा गएको खण्डमा संस्थाले नयाँ गति र दिशा लिने निश्चित छ । 
नाट्टामा अहिले विभिन्न समस्याहरु छन् । जस्तो सुविधा सम्पन्न टुरिष्ट बस टर्मिनल छैन, अनधिकृत रुपमा राज्यलाई कर नतिरी व्यवसाय गर्नेहरुले व्यवसायलाई हानी पु¥याईरहेका छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हामीले नेपालको पहिचान दिलाउन सकेका छैनौँलगायतका विभिन्न समस्याहरु अहिले पर्यटनमा विद्यमान छन् । यदि म नाट्टामा गएको खण्डमा यस्ता समस्याहरुको समाधानार्थ पहल गर्नेछु । प्रतिवद्वतापत्रमा उल्लेख गरिएझैँ विभिन्न सरकारी तथा निजी सरोकारवाला संघसंस्थाहरुसँग सहकार्य गरेर पर्यटनलाई साविककै अवस्गामा फर्काउन हाम्रो टिमले भरमग्दुर प्रयास गर्नेछ ।  
अन्तमा म र मेरो टिम सवल, सक्षम र उर्जाशिल छ । सम्पूर्ण ट्राभल, टुर व्यवसायीहरुलाई यो टिमलाई मत दिई जिताईदिन म हार्दिक आग्रह गर्दछु ।

 

तपाईंको बिचार