Wednesday, May 24, 2017  |    

संर्घषपछिको सफलतासँगै कमलको कमलरुपी कर्म

प्रकाशित मिति: 2016/01/21

इच्छाशक्ति र मिहिनेत भए सफलता एकदिन निश्चित छ । युवा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (कमल)को जीवन भोगाइपछिको सफलताले यही भन्छ । बुबा एकप्रसाद सापकोटा र आमा डन्डकुमारी सापकोटाको कान्छो छोरोको रुपमा धादिङ जिल्लाको ज्यामरुङ गाउँमा विसं २०३४ सालमा जन्मनुभएका कमलको बाल्यकाल अत्यन्तै कष्टकर रह्यो । ती दुःख कष्ट अरु केही नभएर निम्नवर्गीय परिवारमा जन्मनुको परिणाम थियो । दश नंग्रा ख्याउँदा पनि खान नपुग्ने हुनाले अरुकोमा गएर बनिबुतो गर्नुपथ्र्यो उहाँको परिवारले । स्कुल जानुभन्दा अघि र स्कुलबाट विदा हुनेबित्तिकै त्यस्तै कामको चापाचाप हुन्थ्यो । पढाइलाई अगाडि बढाउने क्रममा खर्च अभावकै कारण कक्षा ९ मा उहाँको स्कुल जाने बाटो रोकियो ।  

त्यसैबीचमा उहाँले आमाले दिनुभएको एउटा बाख्रो १५ सय रुपैयाँमा बेच्नुभयो । त्यही पैसाले घरनजिकैको एक घर महिनाको ५० रुपैयाँ भाडामा लिएर किराना पसल खोल्नुभयो । पसलको लागि आवश्यक सामग्री ल्याउन कुनै यातायातको सुविधा नभएको हुनाले विदाको दिन आफैं पाँच घण्टाको बाटो हिँडेर सदरमुकाम धादिङबेसी पुगी सामानको भारी ल्याउनुहुन्थ्यो । दिनमा स्कुल जाने र बिहानबेलुकी आफ्नै पसलमा काम गर्न थाल्नुभयो उहाँले ।

नजिकमा खासै पसल नभएको हुनाले कमलको पसल गाउँलेहरुको सानोतिनो किनमेल गर्ने थलो बन्ने गथ्र्यो । २ वर्ष यही पसल गर्दै पढ्नुभएका उहाँले २०५१ सालमा एसएलसी उत्तीर्ण गरेसँगै त्यो पसल रु. ५ हजार रुपैयाँमा बेच्नुभयो ।

आफैंले पसल गर्दै माध्यमिक शिक्षा लिनुभएका कमलको लागि एसएलसी उत्तीर्णको यात्रामा थप चुनौती सिर्जना भयो । त्यत्तिखेरको सामाजिक दृष्टिकोणमा एसएलसी गरेकाहरुले मजदुरी काम गर्नुलाई त्यत्ति सहज ठानिँदैनथ्यो । तर काम गरेर खानुलाई महानता ठान्ने उहाँले त्यत्तिखेरको गाउँसमाजको मान्यतालाई तोड्दै केही समय बाटो खन्ने काम गर्न थाल्नुभयो । यसबाट जम्मा भएको केही रकम लिएर उहाँ पोखरा लाग्नुभयो । पोखरामा करिब ६ महिना लोडरको काम गर्नुभयो । त्यहाँ कमाएको पैसा लिएर घर फर्किनुभयो र उच्च शिक्षा हासिल गर्ने सपनाको भारी बोकेर २०५२ सालमा काठमाडौं प्रवेश गर्नुभयो । तर, काठमाडौंमा न आफन्त थिए, न त अरु चिनेको नजिकको कोही मान्छे नै । यद्यपि, अब जे मिल्छ त्यही काम गर्नुबाहेक अरु विकल्प पनि थिएन कमलसँग । काठमाडौं आइपुगेकै दिनदेखि क्षेत्रपाटीमा भाडा माझ्ने काम सुरु गर्नुभयो । भाडा माझ्ने क्रममा धादिङकै एक पर्यटन व्यवसायी हरि धरेलसँग उहाँको भेट भयो । त्यसपछि भाडा माझ्न काम छोडेर धरेलकै हाइल्याण्डर ट्रेकिङ कम्पनीबाट ट्रेकिङ गर्न सुरु गर्नुभयो । करिब २ वर्ष पोर्टर, किचेन ब्वाई, शेर्पा, असिस्टेन गाइडको रुपमा काम गर्नुभयो र तेस्रो वर्षदेखि गाइडको रुपमा काम गर्न सुरु गर्नुभयो । ट्रेकिङ गाइड गर्न थालेपछि उहाँको आर्थिक अवस्थामा सुधार आउन थाल्यो ।

त्यतिन्जेलसम्म उहाँले आफ्नो कमाइबाट केही हिस्सा धादिङका गरिब तथा असहाय बालबालिकाहरुको शिक्षामा लगानी गर्न थालिसक्नुभएको थियो । आफू जस्तै गरिबीको कारण पढाइनै छोड्नुपर्ने अवस्था कसैको नआओसु भन्ने उहाँको चाहना थियो । यस्तै संघर्षसँगका दिनहरुसँग पौठेजोरी खेल्दै गर्दा उहाँले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहनुभएकै थियो । उहाँले कुनै कलेज भर्ना त गर्नुभएन तर, प्राइभेट परीक्षा (त्यत्तिबेला यस्तो व्यवस्था थियो) दिएर त्यहीबाट उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्नुभयो ।
    
गाइड गर्ने क्रममा आफूे कमाएको पैसा र अरु केही सरसापट गरेर २०६१ सालमा उहाँले माउन्टेन डिलाइट्स ट्रेकिङ नामक कम्पनी स्थापना गर्नुभयो । सुरुमा अफिस व्यवस्थापन तथा आर्थिक सहजताका लागि कम्पनीसँगै साइबर पनि चलाउनुभएको थियो । यसरी पर्यटन क्षेत्रमा लाग्नुभएका कमलले अहिले ट्रेकिङ कम्पनीमा मात्रै सीमित नरहेर चौतर्फी रुपमा विस्तार गरिरहनुभएको छ ।
    
ट्रेकिङपछि होटलतिर पनि हात हाल्नुभएको छ । यसअघि उहाँले ठमेलमा कस्मिक होटल सञ्चालन गर्नुभएको थियो, त्यसैलाई अहिले काठमाडौं गार्डेन होमको रुपमा सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ भने दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभललगायतका कम्पनी सञ्चालन गरिरहनुभएको छ । उहाँले निकट भविष्यमै शिवपुरी डाडाँमा एउटा रिसोर्ट खोल्ने योजना रहेको र त्यसको लागि जग्गासमेत खरिद गरिसक्नुभएको छ । उहाँले अहिलेसम्म सञ्चालन गर्नुभएका सबै कम्पनीहरु नाफामूलक मात्रै नभएर सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रहेको छ ।
    
आफूलाई सामाजिक कार्यकता र उद्यमीको रुपमा स्थापित गराउन रुचाउने कमलले पछिल्लो समय विभिन्न संघसंस्थाहरुको जिम्मेवार पदमा रही सक्रियतापूर्वक काम गरिरहनुभएको छ । उहाँ लाइन्स क्लब अफ सामाखुशी, काठमाडौंको बोर्ड अफ डाइरेक्टर, धादिङस्थित शहिद स्मृति संचार सहकारी संस्थाको उपाध्यक्ष, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको निवर्तमान महासचिव तथा एकीकृत पर्यटन व्यवसायी संगठन नेपाल (युटीन) तथा टुकी नेपाल समाजको अध्यक्ष हुनुहुन्छ । उहाँले टुकी नेपालमार्फत विभिन्न गाउँको विकासमा महत्वपूर्ण योग्दान दिइरहनुभएको छ । विशेषगरी टुकी नेपालमार्फत शिक्षा र स्वास्थ्यसँग सम्बन्धित रहेर काम भइरहेको छ ।
    
टुकी नेपालको पछिल्ला कार्यक्रमहरुलाई हेर्दा गाविसको बजेटभन्दा पनि ठूलो रहेको छ । टुकी नेपाल र माउन्टेन डिलाइटमार्फत सञ्चालित छात्रवृत्ति कार्यक्रमबाट हालसम्म २ सय ५० जनाभन्दा बढि विद्यार्थीले अध्ययन गरिरहेका छन् भने २० जना अहिले कलेज पढिरहेका छन् । टुकी नेपालमार्फत स्थापित हेल्थ फण्डबाट गाउँगाउँ गएर गरिबहरुको स्वास्थ्यउपचारको काम भइरहेको छ । त्यस्तै धादिङको ज्यामुङमा ८० वटा व्यवस्थित शौचालय निर्माण गरिएको छ भने माइक्रो फाइनान्समार्फत महिलाहरुको सशक्तीकरणको लागि काम भइरहेको छ । त्यत्तिमात्रै नभएर कृषिसम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गर्नुभएको छ । माइक्रो हाइड्रोपावर निर्माण गरिएको छ र अपुग क्षेत्रको लागि सोलार बत्तीको व्यवस्थासमेत गरिएको छ । जसबाट हाल १ सय ४० घरधुरीले लाभ लिइरहेका छन् । त्यसैगरी उहाँले धादिङ ज्यामरुङमा टुकी नेपाल ज्यामरुङ स्वास्थ्य निशुल्क परियोजना संचालन गरिरहनुभएको छ भने भूकम्प पश्चात धादिङ ज्यामरुङका ११५० घरधुरीलाई जस्तापाता लगायत खाद्यान्न सामाग्री पनि वितरण गर्नु भएको छ । यसका अलावा उहाँले धादिङका विभिन्न ठाउँहरुमा कम्प्युटर, स्टेशनरीका साथै अन्य लत्ताकपडा पनि वितरण गर्दै आउनुभएको छ । सुरुमा कमलको गाउँ ज्यामु्रङबाट सुरु गरिएका यस्ता कामहरु अहिले सिंगो धादिङ जिल्लाभरी नै फैलिने क्रम जारी छ ।  
    
यसरी समाज सेवा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु प्राप्त गरिसक्नुभएको छ । हालसम्म उहाँले सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्डबाट सम्मानित भइसक्नुभएको छ । यस सँगसँगै उहाँले दर्जनौं अवार्डहरु प्राप्त गरिसक्नु भएको छ । कमलको समाजिक उदारतावादको धादिङ लगायत अन्य ठाउँहरुमा सर्वत्र प्रशंसा भईरहेको छ ।
    
ट्रेकिङ गर्ने सिलसिलामा नेपालका अधिकांश कुनाकन्दरामा पुगिसक्नुभएका उहाँले हालसम्म स्वीडेन, नर्वे, डेनमार्क, स्विट्जरल्याण्ड, जर्मन, लेस्टेनटाइन, अस्ट्रिया, चाइना, हङकङ, सिंगापुर, थाइल्याण्ड, इन्डियालगायत दर्जनौं मुलुकको भ्रमण गरिसक्नुभएको छ । गन्तव्य नेपालसँगको कुकारानीकै क्रममा उहाँले नेपालमा दीगो पर्यटन प्रवद्र्धनको आवश्यक रहेको बताउनुभयो ।

 

तपाईंको बिचार