Thursday, April 27, 2017  |    

डेरी कटेजदेखि पर्यटनसम्म गौलीको संघर्ष पूर्ण दौडाई

प्रकाशित मिति: 2016/01/22

वि.सं. २०५६ सालमा एस.एल.सी. परिक्षा दिएपछि नमराज गौलीलाई जसरी पनि जागिर खानु थियो । जागिर खानु उहाँका लागि बाध्यता र रहर दुबै थियो । परीक्षा सकिएको भोलिपल्टै राजधानी काठमाडौं छिर्नुभएका धादिङ्ग, त्रिपुरेश्वर निवासी गौली डेढ महिनाको समयावधिसम्म व्यर्थै भौतारिनुपर्‍यो । डेढ महिनासम्म पनि जागिर नपाएपछि अन्यौलतामा बसेपछि उहाँलाई २०५७ साल जेठ २२ गते कटेज डेरीमा जागिर खाने ढोका खुल्यो । तर डेरीमा १ वर्षसम्म काम गर्दासम्म उहाँमा योभन्दा अरु काम गर्नुपर्छ भन्ने सोचको विकास भइसकेको थियो । तथापि, सानैदेखि गाउँमा पर्यटक घुम्न आएको देख्नुभएका गौली आफ्नो पेशा नै परिवर्तन गरी पर्यटन व्यवसायीको भीडमा मिसिन पुग्नुभयो । सुरुमा गणेश हिमाल ट्रेक्स कम्पनीमा अफिस ब्वाइको रुपमा काम सुरु गर्नुभएका उहाँलाई त्यत्तिखेरैदेखि ट्रेकिङ गाइड बन्ने रहर थियो । तर सरकारी स्कुलमा अध्ययन गरेको हुनाले उहाँको अङ्ग्रेजी भाषा भने कमजोर थियो । तर आवश्यकता नै समस्याको समाधान हो भनेझँै उहाँले ठमेलको ओएसीस ल्याङ्ग्वेजमा अंगे्रजी भाषा सिक्नुभयो र पर्यटकलाई नेपालका विभिन्न क्षेत्रको भ्रमण गर्न र गराउन थाल्नुभयो । यसपछि अब गौलीलाई पर्यटन पेशाप्रति थप आकर्षण बढ्न थाल्यो । गाइडको काम थालेपछि उहाँले ठमेलकै सरस्वती कलेजमा प्लस टुमा भर्ना गरेर कामसँगसँगै अध्ययनलाई पनि निरन्तरता दिनुभयो ।

उहाँले सन् २००६मा हिमालय सिनारी ट्रेक्स एन्ड एक्सपिडिसनमा म्यानेजर (व्यवस्थापक)को रुपमा काम गर्नुभयो । म्यानेजरको जिम्मेवारी समाल्नुभएका उहाँलाई अब कसरी माथिल्लो तहमा पुग्ने भन्नेतिर लागि पर्न थाल्नुभयो । सन् २००७ सम्म नेपालको सबै भाग र भारतको उत्तरी भागको अधिकांश ठाउँको भ्रमण गर्ने मौका पाउनुभयो । भ्रमणकै सिलसिलामा २००७ मा नेदरल्याण्ड पुग्नुभएका गौलीलाई १ लाख २० हजारको जागिर खाएर उतै बस्ने कि नेपाल फर्केर इज्जतदार म्यानेजरको काम गर्ने भन्ने दुई विकल्प रोज्नुपर्ने भयो । अन्ततः उहाँ नेपाल फर्कने निर्णयमा पुग्नुभयो । सन् २००८ मा केही साथीहरुको सहयोगमा आउट फिटर ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीको स्थापना गर्नुभयो । डेरीबाट रोजगारी शुरु गर्नुभएका गौलीलाई छोटो समयावधिमै नसोचेको सफलता हात प¥यो । हसिलो मुद्रामा उहाँले सुनाउनुभयो ‘सञ्चालनको दिनदेखि दैनिक उकालो चढ्दै छ । गाउँमा आफ्नो व्यवसाय गरेर बसेका बुबा छोरा आर्मी पुलिस वा अन्य सरकारी जागिर खाओस् । घर छाडेर काठमाडौं आउँदा आमाले भन्नु भएको थियो, छोरा भएपछि दुःख पाइन्छ ।’ दुःख भयो भनेर नडराउनु भन्ने आफ्नी आमाको उपदेश अझै पनि उहाँ सम्झनुहुन्छ । उहाँले पर्यटन सेवा संघको कोषाध्यक्ष, टान कार्यसमितिको सदस्य पदमा रहेर काम गरिसक्नु भएको छ । व्यवसायको अलावा गीत संगीततर्फ पनि गौलीको उत्तिकै रूचि छ । त्यसो त उहाँले म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएको छ । सानैदेखि गाउँ घरमा उकाली ओराली गर्दा या सहरमा फुर्सदको समय उहाँ गीत संगीत सुन्नुहुन्छ । ‘कलाकारहरु नराम्रा हुन्छन्, बिग्रन्छन् भन्ने सोचाइ सबैले हटाउनुपर्छ’ उहाँ भन्नुहुन्छ ।

युवा पर्यटन व्यवसायी तथा जुझारु व्यक्तित्व गौलीले विभिन्न पर्यटकीय संघ संस्था तथा मिडियाहाउसहरुबाट दर्जनौ सम्मान पाईसक्नु भएको छ । त्यसैगरी उहाँले महाभूकम्प पश्चात धादिङलगायत विभिन्न भूकम्प प्रभावित क्षेत्रहरुमा विशेष सहयोग पु¥याउनु भएको थियो ।


गौलीको शब्दमा

आजसम्म आइपुग्दा नेपालको पर्यटनले ठूलो फड्को मारिसकेको छ । पर्यटकको आगमनमा भएको वृद्धिसँगै यस क्षेत्रमा लाग्नेहरूको जमात पनि दिनानु दिन बढ्दो छ । तर दुःखका साथ भन्नुपर्छ आजभन्दा ५/१० वर्ष अगाडि आउने पर्यटकले १५ सय डलर खर्च गथ्र्यो भने आज आउने पर्यटकले पाँच सय डलर भन्दा बढी खर्च गर्न सकेको छैन । त्यसकारण अब हामी नेपालमा आउने पर्यटकको संख्या गन्ति गर्नेतिरमात्रै होइन, विश्वको गुणस्तरीय पर्यटन अवधारणामा जोड दिनुपर्ने आवश्यकता देखिन्छ । अर्कोतर्फ व्यवसायीहरू पनि व्यवसायमुखी हुन सकेका छैनन् । भएका हाम्रा सम्पदाहरू व्यवस्थित गर्न सकेका छैनौं । संरक्षणका नाममा लोभी, पापीहरू हावी भइरहेका छन् । जसले हाम्रा ती ऐतिहासिक एवं पौराणिक धरोहरहरू ध्वस्त हुने अवस्थामा पुगेका छन् । आजको समयमा पर्यटन देश विकासको प्रमुख आर्थिक आधार हो । तर त्यो भनाइमा मात्र सिमित छ । त्यसकारण अब सरकारले पर्यटनको लागि स्पष्ट नीति बनाउनुपर्छ । त्यसभित्र रहेर नेपाल सरकार, पर्यटन बोर्ड र हामी जस्ता व्यवसायीहरूले प्रचार र संरक्षण गर्नुपर्छ ।

नेपाल सरकारको दायित्व धेरै छ । त्यसका साथै व्यवसायीहरू पनि विदेशमा प्रचारका लागि जाँदा आफ्नो ट्रेकिङ कम्पनीको व्यानर राखेर प्रचार गर्छन् । त्यसलाई रोकेर हामीले समग्र नेपालको प्रचार गर्नुपर्छ । राज्यले एउटा छुट्टै निकायको स्थापना गरेर  नेपाल भ्रमणमा आएका पर्यटहरूसँग फिडव्याक लिने गर्नुपर्छ । जसले गर्दा उनीहरूले कहाँ दुःख पाए, कहाँ के अभाव भयो, सबै सहजै बुझ्न सकियोस् ।

 

तपाईंको बिचार