Sunday, June 25, 2017  |    

सफल युवा पर्यटन व्यवसायी कार्की

प्रकाशित मिति: 2016/01/24
हीराबहादुर कार्की– अध्यक्ष, सारङ्गसन ग्रुप
हीराबहादुर कार्की– अध्यक्ष, सारङ्गसन ग्रुप

    परिवारका पाँचमध्ये चार जना छोराहरू पर्यटन व्यवसायमा आवद्ध भइसकेको हुनाले कान्छो छोरो चाँही सरकारी जागिरमा लागोस् भन्ने बाबु आमाको आशा थियो । तर, मान्छेको चाहनालाई कसले रोक्न सक्ला र ? त्यसो त सानै उमेरदेखि पर्यटकसँग घुलमिल भईसक्नु भएका हीराबहादुर कार्कीलाई पर्यटन व्यवसायले मोहनी लगाइसकेको थियो । अन्ततः उहाँले पर्यटन व्यवसायलाई नै अँगाल्नुभयो ।

    कास्की जिल्लास्थित थुम्की गाविस वडा नं. २ मा जन्मनुभएका कार्कीले  पोखरामा आफ्नै दाइको होटलमा स्कुल बिदाको अवसर पारेर पर्यटकसँग कुराकानी गर्नुहुन्थ्यो । स्कुल तहसम्मको अध्ययन सम्पन्न गरिसकेपछि उहाँले उच्च शिक्षा अध्ययनसँगै बाँकी समयमा दाईकै होटलमा काम गर्न थाल्नुभयो । सोही क्रममा उहाँले आवश्यक काम सिक्नुभयो । त्यसपछि उहाँ अध्ययन गर्न विदेश जानुभयो । परिवारका सदस्यहरुको होटल संचालन गरेका कारण उहाँले बिदाको समय नेपाल आएर सन् १९९३ मा ट्राभल कम्पनी संचालन गर्नुभयो र परिवारका सदस्यलाई जिम्मेवारी दिएर पुनः विदेश गएर त्यहाँबाट पर्यटकलाई नेपाल पठाउने काम थाल्नुभएको थियो ।   
विगत २० वर्ष अगाडि सारङ्सन इन्टर्नेशनल टूर्स एन्ड ट्राभल्स ट्राभल कम्पनीको स्थापना गर्नुभएका उहाँको हाल युनिक हिमालयन टूर्स एन्ड ट्राभल्स एन्ड एक्सपिडिसन, होटल काउन्सिल सेन्टर, अर्गानिक खाना तथा क्रिम बनाउने कम्पनी, नक्सालमा कोरियन रेष्टुरेन्ट लगायतका १२ वटाभन्दा बढि कम्पनी संचालनमा रहेका छन् । सयौं नेपाली युवाहरुलाई रोजगारीको सृजना गरेका छन् । पर्यटकहरुको सुविधाका लागि बैलौरामा पनि शाखा स्थापना गरेका छन । त्यस्तै पर्यटकीय केन्द्र पोखरामा पनि उहाँले एक पृथक किसिमको फूलैफूलको रिसोर्ट निर्माण कार्य थालनी गनुभएको छ । अध्ययनशील कार्कीले दुई वटा विषयमा बिएसम्मको अध्ययन गर्नुभएको छ भने कोरिया र अमेरिकाबाट होटल व्यवस्थापनमा डिप्लोमा गर्नुभएको छ ।  

     यसको अलवा उहाँले ग्रीन नेपाल नामक गैरसरकारी संस्थाको देशका ७३ वटा जिल्लामा शाखा स्थापना गरी स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । यस संस्थाले स्वास्थ्य र शिक्षा भन्ने मूल नाराका साथ नेपालको दुर्गम तथा विकट जिल्लाहरुमा स्कुल निर्माण गरी शिक्षाको ज्योतिबाट वञ्चितहरुलाई शिक्षा प्रदान गर्ने अभियान थालनी गरेको छ । कार्कीले  नेपालको हिमाली जिल्लाहरुमा जडिबुटी प्रशोधन केन्द्रको स्थापना गरी त्यस क्षेत्रमा खेर गइरहेका जडीबुटीको प्रयोग बिक्री गर्नुका साथै स्थानीय बासिन्दालाई रोजगारी दिई उनीहरुको जीवनस्तर उकास्न मदत गर्नुभएको छ । नेपालमा यति धेरै कम्पनीहरु संचालन गर्नुभएका कार्कीले अधिकांश समय विदेशमै बिताउनु हुन्छ । नेपालको प्रचार प्रसार र अध्ययनका सिलसिलामा उहाँले अहिलेसम्म करिब ६५ वटा राष्ट्रहरुको भ्रमण गरिसक्नु भएको छ भने नेपालका पनि अधिकांश पर्यटकीय क्षेत्रहरुको भ्रमण गरी व्यावसायिक अनुभव बटुल्नुभएको छ । उहाँको सारङ्गसन ट्रेकिङ कम्पनीहरुले पर्यटकलाई पदयात्रामा लैजाँदा त्यस क्षेत्रका मानिसहरुलाई पनि पर्यटन सम्बन्धि सामान्य प्रशिक्षण गराउने गर्नुभएको छ । जसबाट स्थानीय जनतामासमेत परिवर्तन आउने उहाँको धारणा छ ।  त्यसैगरी पर्यटकको साथमा हिड्ने पर्यटक सहयोगी तथा गाइडहरुलाई पनि विभिन्न किसिमको सुरक्षा सम्बन्धि आवश्यक प्रशिक्षण दिने गरेको छ । आगामी दिनहरुमा ट्राभल तथा ट्रेकिङमा नयाँ नयाँ प्याकेज ल्याउँदै नेपाल आउने पर्यटकलाई सबै कम्पनीबाट अझ राम्रो सेवा प्रदान गर्ने सोचमा उहाँ हुनुहुन्छ । युवा पर्यटन व्यवसायी कार्कीले गत वैशाख १२ गते गएको महाविनासकारी भूकम्पबाट पीडित विभिन्न जिल्लाहरुमा ठुलो मात्रामा आफ्नो संस्थामार्फत सहयोग पुर्‍याउनु भएको छ । उहाँले भूकम्पबाट ध्वस्त भएका स्कुल भवनलगायतको पुर्ननिर्माणमा पनि ठुलो सहयोग गर्दै आउनु भएको छ ।


मेरो सुझाव छः
    नेपालमा पर्यटनको ठूलो सम्भावना छ । तर, पनि आवश्यक पूर्वाधारको निर्माण र प्रचार प्रसारको अभावमा नेपालका सम्पदाहरुलाई देखाएर मात्र पर्यटन व्यवसाय चलेको छ । त्यसकारण हामीले नयाँ नयाँ पर्यटकीय अवधारणा विकास गर्नु जरुरी  छ । अब नेपालको पर्यटन भनेको ठाउँ घुम्ने, हेर्ने मात्रै नभई टेस्टिङ् ट्रेकिङ पनि गराउनुपर्छ, जसले गर्दा पर्यटनमा पनि नयाँ आयाम थपिदैँ जान्छ । नेपालमा आउने पर्यटकहरुलाई नदीहरुमा र्‍याफिटिङ् मात्र नभई अब हामीले फ्लाइङ्ग फिसिङ्ग गराउने पनि गर्नुपर्छ जसले उनीहरुलाई पनि छुट्टै आनन्द हुने र पर्यटन व्यवसायीहरुको पनि व्यवसाय राम्रो हुनेछ । अहिले विश्वमा महङ्गो मानिने खेलहरु जस्तै गल्फ, घोडचढी, फ्लाइङ्ग किसिङ्ग जस्ता खेलहरुलाई  नेपालमा पनि व्यापक विकास र विस्तार गर्नुपर्ने छ । जसको प्रचार गर्न सकेको खण्डमाद मात्र आगामी दिनहरुमा नेपाल आउने पर्यटकको संख्या वृद्धि हुनेछ । मलाई लाग्छ आजको दिनसम्म नेपालको पर्यटन विकासमा पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, सरकार र राजनीतिक दलका नेता र पर्यटकीय संस्थाहरुले पनि पर्यटन विकासका लागि जुन जस्तो काम गर्नुपर्ने थियो त्यस्तो गर्न सकिराखेका छैनन् । पर्यटन विकासलाई सबैले देश विकासको पहिलो आधार त मानेका छन् तर पर्यटन विकासमा काम गरेका छैनन् । तसर्थ, अब देशको पर्यटन विकासमा व्यवसायी, सरकार र राजनीतिक दलहरु एक भएर लाग्नुपर्छ र अन्तमा म के भन्छु भने चुनावी समयमा राजनीतिक दलका नेताहरुले आफ्नो घोषणपत्रमा उल्लेख गरेका पर्यटन विकासका एजेन्डलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।  

 

तपाईंको बिचार