Thursday, April 27, 2017  |    

पर्यटन मोहनी पश्चातको सफल व्यक्तित्व कुमार

प्रकाशित मिति: 2016/01/27
अन्जन थापा (कुमार)-युवा पर्यटन व्यवसायी
अन्जन थापा (कुमार)-युवा पर्यटन व्यवसायी

युवा पर्यटन व्यवसायी अन्जन थापा (कुमार) विगत १७ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । इमान्दार, मिलनसार व्यवसायी थापा सन् १९७७ मा धादिङ जिल्ला त्रिपुरेश्वर ६ मा बुबा प्रेमबहादुर थापा र माता मिठुमैयाको कोखबाट जन्मुन भएको हो । धादिङ जिल्लाको स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाको लागि राजधानी काठमाडौं छिर्नुभएका थापाले रत्नराज्य लक्ष्मी क्याम्पसबाट मानविकी संकायमा आइए उत्तीर्ण गर्नुभएको थियो  । सन् १९९५ बाट पर्यटक पथपर्दशकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको उहाँले हारु ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनी खोलेर आफ्नो पर्यटन यात्रालाई थप सशक्तता प्रदान गर्दै आउनुभएका थापाले हाल राजधानीको दवरबारमार्गमा चार तारे होटल उड्ल्यान्ड, हिमालयन ईन्टरनेसनल योगा रिसोर्ट, होटल होली लच, आसाही ट्रेक्स, ट्रस्ट एन्ड केयर मन्टेश्वरी स्कुल र रेन्ट अ कार सर्भिस संचालन गर्दै आउनु भएको छ । ‘गाउँका धेरै साथीहरु पर्यटन क्षेत्रमा क्रियाशिल भएका कारणले रोजगारीको सिलशिलामा यस क्षेत्रमा हात हालियो समय बित्दै जाँदा देशविदेशका मनोरम गन्तव्यहरुको भ्रमण गर्न पाईने रमाईलो क्षेत्र भएको कारण यस क्षेत्रमा आफुलाई मोहनी नै लगाएको छ थापाको भनाई छ । निजी व्यवसायको अलावा उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को पूर्व कोषाध्यक्ष, पर्यटन सेवा संघको सल्लाहकारलगायत दर्जनौं संघसस्थामा आवद्ध हुनुहुन्छ । साथै ग्रामीण क्षेत्रमा अवस्थित विभिन्न जिल्लाहरुका खानेपानी, एम्बुलेन्स सेवा तथा विद्यालय निर्माणमा समेत उहाँले योगदान पुर्‍याइरहनुभएको छ । साथै उहाँले गत वैशाख १२को विनासकारीभूकम्प पश्चात धादिङ लगायतका विभिन्न ठाउँहरुमा भूकम्पपीडितहरुलाई आवश्यक सामाग्री पनि उपलब्ध गराउनु भएको थियो । हाल उहाँ श्रीमती दिपा थापा, एक छोरी र एक छोरासहित सपरिवार बालाजुमा बसोबास गर्दै आउनुभएको छ ।

यस पर्यटन क्षेत्रलाई धेरै माया गर्ने थापा अहिलेसम्म भारत, चीन, कम्बोडिया, सिंगापुर, जापान, कोरिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, अस्ट्रेलिया, अमेरिकालगायतका विभिन्न देशहरुको भ्रमण गरिसक्नुभएको छ । सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्ने जतिसुकै भाषण गरेपनि समय सापेक्षित नीतिनियमहरु ल्याउन नसक्दा र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न नसक्दा अन्य देशको तुलनामा यहाँका गन्तव्यहरु महंगो हुँदै गएको भन्दै व्यवसायीहरुबीच सहकार्य गरेर पर्यटन विकासमा लाग्नुपर्ने समेत उहाँको भनाईछ । नेपालको विकासका निम्ति पर्यटनमा ठुलो सम्भावना भएकाले यसलाई व्यवस्थित बनाउन सबै निकायहरु एक जुट भएर अघि बढ्नुपर्नेमा उहाँको जोड रहेको छ ।

 

तपाईंको बिचार