Wednesday, August 23, 2017

ग्रीन टी सेवनले शारीरिक चमत्कार ल्याउँछ : केसी

प्रकाशित मिति: 2016/01/28
दिपक केसी –चिया व्यवसायी तथा समाजसेवी
दिपक केसी –चिया व्यवसायी तथा समाजसेवी

दीपक केसी पर्यटन क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । वि.सं. २०२८ असार १३ गते नुवाकोट जिल्लाको बुद्धसिंह, २ मा बुबा कृष्णबहादुर केसी र माता मानकुमारी केसीको कोखबाट जन्मनुभएका केसी विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा उठबस गरिरहनुभएको छ । उहाँले ३ कक्षासम्मको अध्ययन बुद्धसिंहकै चण्डी निमाविमा गर्नुभयो । त्यसपछि थप अध्ययनका लागि राजधानी छिर्नुभएका उहाँले कक्षा ४ देखि त्रिपुरेश्वरको विश्व निकेतन उमाविमा अध्ययन गर्नुभयो । २०४४ सालमा सोही स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभयो । त्यसपछि उच्च शिक्षाका लागि पाटन संयुक्त क्याम्पसमा भर्ना हुनुभयो । जहाँ केसीले मानविकी संकायमा स्नातकसम्मको अध्ययन गर्नुभयो ।

उहाँले ०४६ सालमै पर्यटकीय केन्द्र ठमेलमा आफ्नै लगानीमा हस्तकला व्यवसाय सुरु गर्नुभयो । जसबाट उहाँले नेपाली हस्तकलाका वस्तुहरु विदेशमा निर्यात गर्न थाल्नुभयो । त्यतिबेलै देशमा सशस्त्र युद्धको छनक सुरु भइसकेको थियो । जसको प्रभावले गर्दा उहाँको व्यापार/व्यवसाय पनि फस्टाउन सकेन । त्यसपछि उहाँ विदेश पलायन हुनुपर्‍यो । २००२ देखि २००८ सालसम्म उहाँले यूके, फ्रान्स, जर्मन र क्यानडामा बसेर काम गर्नुभयो । नेपाली हस्तकलाको प्रवद्र्धन गर्न थाल्नुभयो । घरायसी कारणले सन् २००८ मा पुनः नेपाल फर्कनुभएका केसीले फेरि आफ्नै लगानीमा हाइ नेपाल टी नामक कम्पनी सञ्चालनमा ल्याई चिया र अगार्निक व्यवसाय सुरु गर्नुभयो । हाल पोखराको लेकसाइड बैदामको गौरीघाट र दलनचोकमा चिया व्यवसाय गर्दै आउनुभएको छ भने काठमाडौंको ठमेलमा सम्पर्क कार्यालय राखी स्वदेशी तथा विदेशीलाई सेवा प्रदान गर्दैै आउनुभएको छ । उहाँले विशेषगरी अगार्निक, ग्रीन, ब्ल्याक, ह्वाइट र जडीबुटी टीको बिक्रीवितरण गर्दै आउनुभएको छ ।

व्यवसायी केसी मुख्यतः अर्थाेडक्स चियाको दैनिक सेवनले रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्नुका साथै शारीरिक रुपमा चमकता ल्याउने र स्फुर्ति बढाउने बताउनुहुन्छ । ग्रीन टीको सेवनले क्यान्सरसम्मको रोगलाई असर पार्नुका साथै ब्लडप्रेसर, सुगर, गाँठागुठीलाई समेत फाइदा पु¥याउने उहाँको दाबी छ । त्यस्तै, नेपालमा प्रशोधित ह्वाइट टीले शरीरमा आनन्द र नशाबाट छुटकारा दिलाउँछ । नाफा मात्र नभई स्वस्थ रहनका लागि समेत महत्वपूर्ण रहेको कारण आफूले यो व्यवसाय रोजेको उहाँको भनाइ छ । अहिले पर्यटकीय केन्द्रहरुमा रहेर सेवा प्रदान गरिरहनुभएका केसीले आगामी दिनमा यो व्यवसायलाई देशव्यापी बनाउने योजना सुनाउनुभयो ।

पोखराको पर्यटकीय केन्द्र र राजधानीको समेत पर्यटकीय केन्द्रमा दशकको समय बिताइसक्नुभएका उहाँ ठमेलमा अझै पनि आवतजावत व्यवस्थित हुन नसकेकोमा दुःखी हुनुहुन्छ । ठमेलको सडक, ट्राफिक व्यवस्थापन र रात्रि व्यवसायमा देखिएको समस्याबाट उहाँ आजित हुनुहुन्छ । पोखराकै धेरै पर्यटक घुम्ने लेकसाइडमा कमजोर सुरक्षा व्यवस्था, व्यवसायीलाई पुलिसको धरपकड र चरम वेश्यावृत्तिको कारण यस क्षेत्रको नराम्रो सन्देश फैलिरहेको उहाँको गुनासो छ । सरकार र सरोकारवाला निकायले यस क्षेत्रको व्यवस्थापनमा निकै चासो दिनुपर्नेमा उहाँको जोड रहेको छ ।

व्यवसायका अलावा केसीले ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को भगवातीवहाल उपसमितिका अध्यक्ष, सामाजिक सेवामूलक संस्था लायन्स क्लब काठमाडौं होराइजनको अध्यक्षलगायत विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक कार्य गरिरहनुभएको छ । हाल उहाँ श्रीमती पवित्रा केसी, छोरीहरु दृप्ती केसी र प्राप्ती केसीका साथ काठमाडौंमा बस्दै आउनुभएको छ ।

तपाईंको बिचार