Saturday, March 25, 2017  |    

नेपाल टोपीमार्फत देश चिनाउने अभियानमा कुमार

प्रकाशित मिति: 2016/02/10
कुमार वि.सी, संस्थापक –सगरमाथा फिल्म प्रा.लि./नेपाल एयर क्याप
कुमार वि.सी, संस्थापक –सगरमाथा फिल्म प्रा.लि./नेपाल एयर क्याप

कला र गला मान्छेलाई डोर्‍याउने एउटा माध्यम हो । अझ त्यो अरुभन्दा पृथक भयो भने सबैको रुचिको विषय हुन सक्दछ । यस्तै एउटा पृथकता थपेर सबैलाई मोहित पार्न सफल व्यक्तित्व हुनुहुन्छ कुमार वि.सी. । श्री साग्दी प्रावि, साग्दीबाट प्रावि तह र श्री सारदा मावि, किसिमकोटबाट माध्यामिक तहसम्मको अध्ययन सकेर उच्च शिक्षा हासिल गर्न २०६१ सालमा काठमाडौं छिर्नुभएका वि.सीको पछिल्लो प्रगति निक्कै लोभलाग्दो छ । उहाँले अहिले स्वदेशमै थुप्रै नेपालीहरुलाई चाखलाग्दो रोजगारी दिइरहनुभएको छ । बाबु शशीलाल वि.सी. र आमा टिका वि.सी.को माइलो सन्तानका रुपमा गुल्मीको लुङ्खानीमा जन्मिएर बाग्लुङको वाटाकाचौरलाई कर्मभूमि बनाउनुभएका वि.सी.ले काठमाडौं आइसकेपछि आफ्नो दैनिकी चलाउनकै लागि पनि निकै ठूलो संघर्ष गर्नुपर्‍यो ।

उहाँका बाबु भारतीय सेनाका क्याप्टेन हुनुहुन्थ्यो । युद्धमा उहाँले सहादत प्राप्त गर्नुभयो । बाबुको मृत्युपछि समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणबाट उहाँ र उहाँको परिवार निक्कै पीडित बन्नुपर्‍यो । त्यत्तिबेला नै उहाँलाई अब केही नयाँ काम गर्नुपर्छ भन्ने साहस जागिसकेको थियो । पछि काठमाडौं आएर साथीहरुसँग डेरा बस्दासमेत भेदभावपूर्ण व्यवहार सहनुपर्‍यो उहाँले । काठमाडौं बस्दा सहरीयाको अहंकार, धनी गरिब, भेदभावपूर्ण व्यवहार अर्थात् हेपाई प्रवृत्तिबाट आजित हुनुभएका उहाँ अन्ततः छुट्टै कोठा खोजेर बस्ने निर्णयमा पुग्नुभयो । मासिक चार हजार रुपैयाँ भाडा तिर्ने गरी डेरामा बस्नुभएका उहाँलाई सुरु सुरुमा कोठा भाडा तिर्न निक्कै मुस्किल पथ्र्यो । समय र परिस्थितिसँग जुध्दै उहाँले जागिरको खोजी गर्न थाल्नुभयो । पढाइसँगै आफैँ कमाएर दैनिकी चलाउने सोचमा डुब्नुभयो र जागिरको खोजीमा भौतारिनुभयो । हरेक दिन बिहानको खानापछि उहाँ जागिरको खोजीमा निस्किनुहुन्थ्यो । यही क्रममा उहाँले एक दिन एउटा ट्राभल कम्पनीमा काम गर्ने अवसर पाउनुभयो । त्यही जागिरले उहाँलाई कलिलै उमेरमा अमेरिकासम्म पुर्‍याइदियो । रातको समयमा कलेज र दिउँसो काम गर्न थालनुभएका वि.सीले ट्राभल कम्पनीमा काम गर्दैगर्दा एमई कन्सल्टेन्सी आलबामा सम्पर्क हुन पुग्यो । नयाँ काम गर्न रुचाउने उहाँको कुरा सुनिसकेपछि अमेरिकी राजदूतावासले अन्तर्वार्ताको लागि बोलायो । जीवनमा पहिलो पटक डराई डराई आधा घण्टा गोरा छाला भएकाहरुसँगको वरिपरि उभिएर जीवनका दुःख र सुखका कथा सुनाएपछि अन्ततः उहाँलाई दूतावासले अमेरिका जाने भिजा दियो । २० वर्षको अल्लारे उमेरमै खुसी खोज्दै उहाँ अमेरिका उड्नुभयो । सात वर्ष अमेरिका बसेपछि स्वदेशमै केही गर्ने इच्छाशक्ति बोकेर उहाँ स्वदेश फर्किने निर्णय लिनुभयो ।

सानैदेखि उहाँमा एउटा चलचित्रको हिरो बन्ने रुचि थियो । हरेक पल मैले अरुले भन्दा फरक काम गर्नुपर्छ भन्ने सोच उहाँमा आउँथ्यो । त्यही क्रममा नेपाल फर्किएपछि उहाँले सगरमाथा फिल्म प्रालि स्थापना गर्नुभयो । लगत्तै आफ्नै लेखन, निर्देशन र अभिनयमा विश्व शान्तिको सन्देश बोकेको उमंग नामक चलचित्र निर्माण गर्नुभयो । उमंग चलचित्रको सन्देश आध्यात्मिक विज्ञानबाट विश्व शान्ति र आविस्कारक उत्पादन मानव हितको कर्तव्य हुनेछ भन्ने रहेको छ ।  

आध्यात्मिकबाट स्मृति केन्द्र, दृष्टि, स्वाद, श्रवण, संवेदना, वाणी, ब्रह्मयोग, कर्मयोग, ज्ञानयोग, भक्तियोग, योग विद्या, राजयोग, हठयोग, ऋषि यज्ञ, नृयज्ञ, देश यज्ञबाट विश्व शान्ति हुन्छ भन्ने कुरालाई चलचित्रमा उतारिएको छ । उक्त चलचित्र छिट्टै प्रदर्शनीमा आउँदै छ  ।
   
फिल्मको एउटा सिनले क्याप (टोपी) मागेको थियो । तर उहाँले बजारमा पाइनेभन्दा भिन्न टोपी प्रयोग गर्न चाहानुभयो । तीन घण्टा सोचमग्न भएपछि उहाँले चन्द्र, सूर्य, सगरमाथा, डाँफे, लालिगुरास, गौतमबुद्ध, मन्दिर, धरहरा, छहरा, पानी चन्दन, ताल, भादगाउले टोपी, खुकुरी र नमस्तेसहित राष्ट्रका सम्पदाहरु समावेश गरेर टप अफ द वल्ड माउन्ड एभरेष्ट लेखिएको टोपीको मोडेल तयार पार्नुभयो । तर अभाव थियो मेसिन, कच्चा पदार्थ र बनाउने प्राविधिकको । उहाँ यसको खोजिमा फेरी भौतारिन थाल्नुभयो । लामो मिहेनतपछि भारतको कोलकतामा गएर नमुना बनाएर स्वदेश फर्किनुभयो । त्यही नमुना नेपालमै बनाउने प्रयास गर्नुभयो तर सम्भव नभएपछि उहाँले फेरि भारतमै गएर एक सय पिस नमुना बनाएर ल्याउनुभयो । अहिले बंगलादेशी र कोरियन नागरिकलाई सिलाई मास्टरको रुपमा नेपाल झिकाउनुभएको छ र दुई जना नेपालीको साथमा टोपी बनाउने काम भइरहेको छ । फिल्मका लागि बनाएको टोपीलाई अहिले नेपाल एयर क्यापको ब्रान्ड बनाउने अभियानमा जुट्नुभएको छ उहाँ ।
 
ठमेल, सीतापाइला र छाउनीमा रहेको कारखानाबाट अहिले २० हजारको हाराहरीमा टोपी बनाउने काम भइरहेको छ । नेपाल चिनाउने उक्त टापी विश्वभरका मानवको शिरमा पु¥याउने उहाँको लक्ष्य छ । उमंग फिल्ममा समेटिएको कथाअनुसार उहाँले नेपाली नक्साकै बनावटमा ‘नेपाल ७२’ नामक गनसमेत बनाउनुभएको छ । जसमा प्रत्येक जिल्लाको एउटा बटम बनाइएको छ । प्रत्येक जिल्लाको नाममा क्लिक गर्दा सो जिल्लाको विशेषता, भूगोल बनावट, इतिहासका विषयमा जान्न सकिन्छ । जसलाई उमंग फिल्मको प्रदर्शनपछि देशभर बालबालिकाको लागि ज्ञानवद्र्धक हुनेगरी खेलौनाको रुपमा निकाल्ने योजना कुमारको छ ।  सरकारले स्वीकृति दिए ७२ गन ओर्जिनल लन्च गर्ने पनि तयारीमा हुनुहुन्छ उहाँ । भाग २ मा चाहिँ मयूरको रंगबाट लेङगा, डाँफेको रंगबाट सुटको डिजाइन तयारी गरिनेछ । यतिमात्र होेइन लेङगासँगै लगाउने जुत्ता, चुरा, झोला, नेल पोलिस र पुरुषका लागि पनि सुटसँगै लगाउने जुत्ता पनि क्यापकै डिजाइनमा बजारमा ल्याइने छ ।

तपाईंको बिचार