Thursday, April 27, 2017  |    

जिवनको सपना लाङटाङ चढ्नेहरुसँगै साँच्न पुगें :शिव लामिछाने

प्रकाशित मिति: 2016/06/08

जेष्ठ २६, काठमाण्डौ । शिव लामिछाने, पर्यटनमा स्थापित नाम बनेको छ । झण्डै ३ दशकदेखी पर्यटनमा जिवन साँचिरहेका लामिछाने आज  यस क्षेत्रमा सक्रिय उद्यमीको परिचय बनाउन बनाउन सफल भएका छन । पर्यटनका साथसाथै सामाजिक संस्थाहरुमा पनि सक्रिय लामिछानेको परिचय यत्तिमा मात्र सिमित छैन । लाङटाङ फाउन्डेसन नेपालको संस्थापक उपाध्यक्ष, गाँउ पर्यटन प्रर्वद्धन मञ्चको निवर्तमान अध्यक्ष, राष्ट्रिय पर्यटन ब्यावसायी संगठनको सचिव, नेकपा एमालेको केन्द्रिय कृषि तथा भुमिसुधार बिभागको सदस्य, एमाले रसुवा जिल्लाको जिल्ला कमिटीको सचिवालय सदस्यका साथै रसुवा–नुवाकोट पर्यटन समाजको संस्थापक उपाध्यक्ष समेत रहेका लामिछानेका यि केही सामाजिक भुमिका हुन । यद्यपी आजको दिनमा  लामिछानेको जिबन पर्यटनको हाइवेमा जसरी दौडेको छ, यसविचमा उनको जिवन विश्वासको पनि जोकोहिले सम्मान गर्नेछ । सधै उच्च बिचार र निरन्तरको आत्मविश्वासका साथ अगाडि बढेका लामिछानेको जिवन दर्पण भने यस्तो छ ।

बि.स. २०२८ सालमा रसुवा जिल्लाको लहरेपौवास्थित बेत्रावतीमा पिता कृष्णप्रसाद उपाध्याय र माता होमकुमारी लामिछानेको कोखबाट जन्मेका शिव लामिछाने सानै देखी जिज्ञासु र स्वप्नदर्शी स्वभावका थिए । आफुले देखेको र सोचेको कुरा ब्यक्तिगत जिवनमा प्रयोग गर्दै अगाडि बढेका लामिछानेले पाएको सफलताको पछाडि यही उनको अडिग जिबन बिश्वासले काम गरेको बताउँछन । बिद्यालय शिक्षा गाँउकै निलकण्ठ माध्यामिक बिद्यालयबाट पुरा गरेका उनले २०४६ सालमा एसएलसी अध्ययन पुरा गरे । त्यसपछि उच्च शिक्षाका लागि काठमाण्डौ प्रवेश गर्ने योजनासँगै २०४७ सालमा उनी काठमाण्डौ प्रवेश गरे । त्यसपछि पाटनढोकास्थित पाटन मल्टिपल क्याम्पसमा आइए मा भर्ना भए ।
मनमा केवल जोस थियो, परिचीत खासै कोही थिएन, घरबाट अध्ययनका लागि भनेर खर्च पठाईदिने स्थिति नदेखेका लामिछानेले त्यसपछि कामको खोजीमा जुट्न थाले । पढाईको चाप, निष्चीत कोठाको परिधीभित्र रहेको संघर्षपुर्ण जिवन र दिनभरी कामको खोजीमा भौतारिने किसिमको संघर्ष लामिछानेको जिबनमा पनि देखापरे ।
यद्यपी आफ्नो जिबन प्रतिको बिश्वासकै कारण यि कुराहरुबाट बिचलित नभइकन अगाडि बढ्दै गर्दा लामिछानेको जिबनमा पनि घाम लाग्न सुरु भयो । अर्थात यतिखेर उनले गार्मेन्टमा जागिर पाए । यसले केही समयको लागि भएपनि काम खोज्ने काम बाट मुक्तिको अनुभव भएको लामिछाने अझै सम्झन्छन । यद्यपी उनको मन मस्तिष्क यसमा कहाँ थियो र । पाइला टेक्ने ठाँउ जस्तो भएपनि सम्मान गर्नु पर्ने स्थिीतीका बिच त्यस कामलाई पनि सम्मान दिएको बताउने लामिछानले त्यसको केही महिनापछि नै बत्तिसपुतली स्थित सुकेएसयू ट्रेकिङ कम्पनीमा काम पाए । यही उनको पर्यटन यात्राको पहिलो खुड्किीलो बन्न पुग्यो, जुन बिकशित हुँदै आजको दिनमा  उनको परिचय बनेको छ ।
पर्यटनमा सपना साँच्ने लामिछानेको जिबनमा यो बरदान सावित भयो । किनकी यो एउटा खुड्किलो अवश्य थियो । यद्यपी पर्यटनमा उनको सपना भने काठमाण्डौमा कामको खोजीको सिलसिलामा भेटिएको जागिरको कारणले होइन कि, गाउँमा अध्ययन गदैगर्दा नै बिकशित भएको थियो । उनी अहिले पनि सम्झन्छन, घर, बिद्यालयमाथिबाट गणेश र लाङटाङ हिमाल चढ्नका लागि बाटो लाग्दै गरेका बिदेशी पर्यटकहरु र गाइडहरुको रहनसहन, तथा बोलीब्यावहारबाट निकै प्रभाबित भएका लामिछनेले जिबनको सपना त्यतिखेरै साँचिसकेका थिए । भबिश्यमा पर्यटनमा जिबन बिताउँछु । जुन आजको दिनमा सम्मानपुर्वक यथार्थतामा  परिणत भएको छ ।
यसरी ट्रेकिङ कम्पनीमा टुर गाइडको रुपमा काम गर्दै अगाडि बढिरहँदा सन १९९८ मा नेपाल भ्रमण बर्षको अवशर पारेर लामिछानेले साझेदारीमा ठमेलमा माउन्ट अन्नपुृर्ण गेष्ट हाउस सञ्चालन गर्न पुगे । यसबाट उनको भुमिका केही फराकिलो बन्न सहयोग पुग्यो । यही बेला लाङटाङ फाउण्डेसन मार्फत सन २००० मा जापान भ्रमण गर्ने अवशर पाएका लामिछानेले त्यहाँ रहँदा पनि पर्यटन र संस्कृति सम्बन्धी विविध पाटाहरुका बारेमा ज्ञान हासिल गरे । जिबनलाई सधै उचित प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने लामिछानले आफ्नो जिबन बिश्वासको उचित प्रयोग गरिनै रहे । ३ महिनाको जापान बसाइपछि नेपाल फर्किएका उनले त्यसपछिका कालखण्डमा ट्रेकिङ कम्पनी मात्र ३ वटा स्थापना गरिसकेका छन ।
यसरी पर्यटनलाई सेवाको भाव र आफ्नो जिबन साँच्ने क्रममा लामिछानेले २०६९ सालमा पहिलो चोटी एकल लगानिमा ‘ आस्क द नेपाल एड्भेन्चर्स’ नामक ट्रेकिङको स्थापना गर्न पुगे । यही बेला साझेदारीमा काभ्रेको बल्थलीमा ‘बल्थली इको हिल रिर्सोट समेत सञ्चालन गरिरहेका छन । जुन आन्तरीक तथा बाह्य पर्यटकको केन्द्र बन्दै गईरहेको छ ।
यसर्थ जिबनमा यि तमाम परिस्थिीतीका बिच आजको दिनमा लामिछानेको जिवन साँच्चै गर्व गर्न लायक छ । यसअर्थमा हिजो बिद्यालय पढ्दै गर्दा किशोर मानसपटलमा उब्जिएको सपना आज सफल उद्यमी भएर सावित गरिदिए । जिबनप्रति गुनासो गर्नेहरुको जमात कम नभएको आजको दिनमा लामिछाने यस्ता पात्र हुन जो हरदम मुस्कुराउँछन, र भन्छन,– अरुलाई सानो सहयोग गर्न सकेको दिन आफुलाई धन्य महशुश गर्छु । सफलता असफलता मापन गर्ने भौतिकशास्त्रका नियमले पनि लामिछानेको जिबन दर्पणलाई सम्मान नै गर्नेछ । जिबन प्रतिको बिश्वास र सफलतासँग जोडिएका प्रश्नमा लामिछानेले आफु सुखी भन्दा पनि खुसी भएको र जिबनको क्रियाशिलता र धैर्यताले नै सबै मानिसको जिबनमा सफलताको बाटो देखाउने उनको बुझाइ छ ।

तपाईंको बिचार