Saturday, March 25, 2017  |    

फेरीएको सपनाले जगाएको पर्यटन :राजकुमार थापा

प्रकाशित मिति: 2016/08/02

साउन १८,काठमाण्डौ । ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल र बल्थली इको हिल रिर्सोटका सञ्चालक हुन राजकुमार थापा । त्यो भन्दा बढि पर्यटनका अगुवा व्यक्तित्वका रुपमा चिनिन्छन उनी ।  दुई कार्यकाल गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)मा सक्रिय भुमिका निर्वाह गरेका थापा भिटोफ पूर्वमहासचिव समेत हुन ।

पर्यटनमा बाबुवाजेले देखाएको बाटोमा घस्रिनेहरुको जमात भन्दा भिन्न रुपले स्थापित भएका पात्र हुन उनी । 
केही नयाँ सोच र निरन्तरको नविन प्रयासले नै उनलाई आजको दिनमा पर्यटनमा अलग पहिचान बनाउन सहयोग गरेको छ । ललितपुरको लुभूमा जन्मिएका यि तन्नेरीको सपना आजको दिनमा जे गरिरहेका छन त्यो होइन, सत्य यो अवश्य हो, जे गरिरहेका छन राम्ररी गरेका छन ।’ 
सामान्य आर्थिक पृष्ठभुमिको थापा परिवार खेतिपातिमै संलग्न हुँदै आएको थियो ।
सपना के लिनु उडी छुनी चन्द्र एक भनेझै, साँच्चिकै यिनको सपना पुरा भएको हुँदो हो त थापा आजको दिनमा आकाशमा पुतलीझै डुलिरहेका हुने थिए । समकालिन साथीभाईहरुले उनको प्रतिक्षामा आकाश तिर मुन्टो फर्काउदा हुन । अर्थात उनको एक मात्र लक्ष्य थियो पाईलट, जहाज उडाउने ।
सपनामा कुनै कमी थिएन, ईच्छा त्यो भन्दा मजबुत, पढाईमा पनि अव्वल । अरु के नै चाहियो र । केवल कमि थियो त उनको आर्थिक स्थीति, जसका लागि अन्ततः उनले सम्झौता गर्नै पर्ने भयो, पाईलटको सपना त्याग्नुको विकल्प नदेखेका थापा अन्ततः सपनाको विश्राम लिएकै अवस्थामा पनि दुई फरक संकायमा डबल डिग्री लिन सफल भए । एमविए र एमए ।
पाइलटको सपना मोडिएर विश्वविद्यालयको औपचारिक अध्ययनमा फर्किएपछि  त्यही विचमा थापाले अध्ययनसँगै शिक्षण पेसालाई समेत अगाडि बढाउँदै गए । त्यसपछाडि १९९६ मा पर्यटनमा औपचारिक रुपमा पाईला टेकेका थापाले सुरुका दिनमा काठमाण्डौको ठमेल क्षेत्रमा एक पर्यटन संस्थामा रिसेप्सनिष्टको भुमिकामा रहेर काम गरे । तिनबर्षसम्म काम गरिसकेपश्चात उनमा पर्यटनभित्रको संभावना र रुची बढ्दै जान थाल्यो । यसपछाडीका दिनमा ट्रेकीङ कम्पनीमा समेत काम गर्न थाले । जुनक्रम २००६ सम्म जारी रह्यो ।
 सन २००६ पछि देशमा लोकतन्त्रको पुर्नबहाली भएपछाडि उनले आफ्नै एकल लगानीमा टुर्स एण्ड ट्राभल कम्पनी स्थापना गर्न पुगे । जुन आजको दिनमा ‘ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल’ को रुपमा परिचीत छ ।
कुराकानीका क्रममा निकै सन्तुलित र बोलीका क्रममा प्रत्येक वाक्यको लेखाजोख गरेर बोल्ने उनको शैलीले पनि उनलाई पर्यटनमा विशिष्ट रुपमा स्थापित गराएको छ । उच्च शैक्षिक योग्यता सहितको उनको दह्लिो आत्मविश्वास र हक्की स्वभाव उनीसँग जोडीन आउने पात्रलाई स्पर्शिय लाग्ने विषय हो । 
पर्यटनमा लागेर आफुले कुनै कुरा नगुमाएको तर्क गर्ने थापा व्यावसायिक रुपमा आजको दिनमा जति सफल छन, समग्र पर्यटनको भविश्य पनि सफल बनाउन सबै मिलेर लानुपर्नेमा उनको बिशेष जोड रहँदै आएको छ । जुन कुरा उनी स्वयमं आफु पनि भिटोफ नेपालमा कार्यकारीणी भएर काम गर्दा थोरबहुत अनुभुति बाँडेकै छन । 
उनको समृद्ध पर्यटनको सपना आज सम्म पनि जारी नै छ ।

यसै सन्दर्भमा पर्यटन क्षेत्रको प्रवद्र्धन र उथ्थान गर्ने अर्थमा सरकारको निती तथा कार्यक्रममाथी सधै आलोचना गर्ने व्यावसायीहरुको आफ्नै तहबाट चै पर्यटनलाई माथी उकास्न के कस्तो कोशिस भैरहेका छन, यसतर्फ पनि ध्यान दिनु जरुरी देखिएको छ । पर्यटन सँग सम्बन्धीत संस्थाहरुको संख्यात्मक हिसावले जुन खालको बृद्धिको अवस्था छ, बास्तवमै पर्यटन प्रवद्र्धनमा तिनको भुमिका केकति र के कसरी भईरहेको छ भनि उनै थापाको धारणा बुझ्ने कोशिस गरेका छौ । ( जो यस अघि भिटोफको महासचिव समेत रहिसकेका छन )

१. भिटोफले भर्खरै नयाँ कार्यसमिति चयन गरेको छ, तपाई भिटोफको पुर्वमहासचिव रहिसकेको नाताले पर्यटन विकाशमा उनीहरुको कार्यशैली कुन ढंगको हुनुपर्ला ?
 
हेर्नुस, यस्तै गर्नुपर्छ भनेर म जोड गर्न त सक्दिन ।   यद्यपी यहाँले भनेजस्तै पूर्व पदाधिकारी भएर काम गरिसकेको नाताले यसभित्रका थोरबहुत अवयवहरुको जानकारी मलाई अवश्य पनि छ । यस अर्थमा सुधारका पाटा र कार्यशैली जेजसरी अगाडि बढेपनि त्यो सकारात्मक दिशामा अगाडि बढ्नुृपर्यो भन्ने नै प्रथम हो ।
अर्को कुरा भिटोफ निर्देशिका जारी गर्नु नितान्त आवश्यक छ । नेपालका प्रत्येक गाँउहरु पर्यटनमा मजबुत हुँदाहुँदै पनि होमस्टे निर्माण गरेर प्रवद्र्धन गर्ने कुराहरुमा जुन गाँउ क्षेत्रको बढि पर्यटकीय संभावना छ, त्यसलाई जतिसक्दो चाँडो प्रवद्र्धन र विकाश गर्दै अगाडि बढ्नु नितान्त आवश्यक छ ।

२. भिटोफ स्थापनाको २० बर्षमा आईपुग्दा पनि पर्यटन प्रवद्र्धन गर्ने कामको प्रगति हेर्ने हो भने एकदमै निरासाजनक छ, कमजोरी यहाँजस्तै यसविचमा नेतृत्वको कार्यशैली त होला नि ?
हेर्नुस, स्थापनाका हिसावले भिटोफ नेपाल २०५४ सालमा स्थापना भएर अगाडि बढेको संस्था हो । तर यहाँ मुख्य ध्यान दिनुपर्ने कुरा के छ भने सुरुका दिनमा भिटोफको आवश्यक्ता महशुस गरी स्थापना गर्ने अग्रजहरुलाई स्थापना भईसकेको संस्था बचाउनु नै ठुलो कुरा थियो । पर्यटन प्रवद्र्धनका काम सामथ्र्य भन्दा बाहिरको कुरा थियो । अर्को कुरा पर्यटनमा रहेको अन्य ठुला भनिएका संस्थाहरुको चेपुवामा पर्नु र राज्यको निती पनि पर्यटन प्रवद्र्धनका लागि उत्साहप्रद नभएको विगतको स्थीति हो । यसर्थ सुरुका दिनमा झोलामै संस्था भन्ने चलन पनि छ, भिटोफले पनि त्यस किसिमको संकट बेहोरेकै स्थीति हो ।
यसरी अगाडि बढिरहँदा करिव डेढ दशक २०६६ सालयता मात्रै यसको कार्यशैलीमा केही परिवर्तनका रेखा देखिन गएका हुन । कारण २०६६ यता पर्यटन प्रवद्र्धन गर्नकै लागि सरकारले होमस्टेको योजना अगाडि ल्यायो, व्यावसायीहरुमा पनि शिक्षित र उत्साही साथीहरुको आगमन हुँदै गएको स्थीतिले त्यसपछाडिका दिनमा भने यसले आशातित बाटो लिएको अवस्था हो 
अतः बर्ष गन्तीका हिसाबले सुरुका दिनमा उल्लेखनिय काम हुन नसकेपनि पछिल्ला बर्षहरुमा यसले आशातित बाटो लिएको छ ।
३. तपाई भिटोफको महासचिव भैसकेको व्यक्ति तपाई आफैले चै पर्यटन प्रवद्र्धन गर्न के गर्नुभयो ?
संख्यात्मक रुपमा हेर्दा मैलै उत्पातै गरे भन्ने लाग्दैन । तर थोरबहुत सुरुवातीका काम भने अवश्य गरेको छु । आफ्नै लगानीमा पर्यटनका संभावना भएका विभिन्न गाँउहरुको भ्रमण र तिनमा भएका संभावना केलाएर भिटोफको प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छु । अर्को कुरा पर्यटन प्रवद्र्धनकै लागि गन्तव्य गाँउ बर्ष घोषणा, तालिम कार्यक्रम र आफुले पाएका ज्ञानसिप स्थानिय जनता र व्यावसायीहरुमाझ राख्दै अगाडि बढे भन्ने नै मेरो बुझाई हो ।
४. यसभन्दा अगाडि तपाई आफै पनि भिटोफको अध्यक्षमा उठ्ने हल्ला चलिरहँदा अन्त्यमा उमेद्धवारी नदिने घोषणा गर्नुभयो, यो अवस्था किन ?
सर्वप्रथम त सधैभरी एउटै व्याक्तिले पद ओगटेर बस्नु हुँदैन भन्ने सोचाईले नै काम गरेको हो ।
दोस्रो कुरा मैले आफु पदमा रहँदा आफ्नो शिक्षा, ईच्छा, अध्ययन, अनुभवका साथै सहकर्मीहरुको सहयोगमा आफ्नो बाहुबलले भ्याएजति सिमित स्रोतसाधनको सिमाभित्र रही काम गरे । आजको दिनमा साथीभाईहरुलाई पनि पालो दिनुपर्छ र उहाँहरुको अनुरोध र अनुभवको पनि कदर हुनुपर्छ भन्ने बुझाईले नै उमेद्धवारी नदिएको हुँ ।
५. तर सुरुमा अध्यक्षका लागि खुवै हल्ला गर्नुभयो, हार्ने डरले मैदानबाट बाहिरीएको भन्नेहरु पनि छन, नी ?
यो विल्कुल निराधार हो । मैले यसअघि नै भने चुनाव भएकै खण्डमा पनि मेरो जित सुनिश्चीत जस्तै थियो । यो कुरा भिटोफमै रहेका अहिलेका साथीहरुले पनि महशुस गर्नुभएकै होला । तर यतिहुँदा हुँदैपनि किन छोडेको भन्ने तपाईको प्रश्नमा म यति मात्रै भन्न चाहन्छु कि साथीहरुको अनुभव र अनुरोधलाई कदर गर्दै समयानुकुल सहमतिमा जोड दिएर अघि बढेको खण्डमा सम्बन्धमा सुमधुरताको स्थीति बन्ने देखेर नै उमेद्धवारी मनोनयन नगरेको हो ।  हार्ने डरले होइन ।

६. पर्यटनमा प्रवद्र्धनमा भिटोफको अवको गति र दिशा के ?
कार्यक्षेत्रकै हिसावले पनि पहिलो कुरा त गाँउ पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रममै जोड दिनु जरुरी छ । दोस्रो कुरा व्यावसायीहरुले बनाएका प्रवद्र्धनात्मक योजनाहरुलाई सरकारले पनि साथ दिनुपर्दछ । यसको लागि कार्यान्वयन पक्षमा सरकार र व्यावसायी दुवै एकढिक्का भएर लाग्नुको विकल्प छैन ।
 
              

 

 
 
      
 
                         थापा, गाँउ पर्यटन अभियन्ता तथा नेपाल मगर पर्यटन समाजका द्धितिय उपाध्यक्ष हुन
 
                                                                                                               प्रश्तुति :शंकर गौली
 
 
 
 
 
                             
 
 
                 
 

तपाईंको बिचार