Saturday, March 25, 2017  |    

सुवास केसी, प्रबन्धनिर्देशक होटल एक्सेस नेपाल, ठमेलसरल, मृदुभाषी, काममा लगनशील अनि इमानदार । यस्

प्रकाशित मिति: 2015/06/21
सुवास केसी
सुवास केसी

सरल, मृदुभाषी, काममा लगनशील अनि इमानदार । यस्ता विविध गुणले युक्त सुवास केसीको व्यक्तित्व लोभलाग्दो मात्रै होइन, पे्ररणादायी पनि छ । केसीले छोटो समयमै आफूलाई सफल र अब्बल व्यवसायीको रुपमा उभ्याउन सफल हुनुभएको छ । आजभन्दा ३६ वर्षअघि ललितपुर (हालको कार्यविनायक नगरपालिका)मा जन्मनुभएका केसी ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि मिलनसार, इमानदार, अनुशासित अनि पढाइमा तेज हुनुहुन्थ्यो । उहाँ स्कुल, समाज सबैको प्यारो हुनुहुन्थ्यो । गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ सक्नुभएका उहाँले पाटन संयुक्त क्याम्पस पाटनबाट व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । बाल्यकालदेखिका यिनै व्यक्तिगत ‘करिष्मा’ आजपर्यन्त पनि त्यत्तिकै रुपमा कायम रहेको उहाँसँग परिचित जोसुकैले पनि ठम्याउन गाह्रो पर्दैन । यिनै गुणहरुले उहाँलाई व्यावसायिक रुपमा सबैमाझ चिनाएको छ ।

केसीले सन् १९९८ देखि ठमेलस्थित एक साधारण रेस्टुराँबाट आफ्नो करिअर सुरुवात गर्नुभएको हो । ‘मैले आजभन्दा ठीक १७ वर्ष अगाडिबाट आफ्नो जीविकाको लागि जागिर सुरु गरेको थिएँ’, गन्तव्य नेपालसँगको कुराकानीमा आफ्नो जागिरे अनुभव सुनाउँदै केसीले भन्नुभयो, ‘शैक्षिक योग्यता अनि उमेरका हिसाबले पनि अलिक परिपक्व भएपछि अब सधैँ परिवारमा मात्र निर्भर हुनुहुँदैन, आफैँले केही गर्नुपर्छ भन्ने ठानेर ठमेलको एक रेस्टुराँमा क्याम्पसको पढाइसँगै क्यासियरको रुपमा जागिरको सुरुवात गरेको हुँ ।’ तर, उहाँको त्यो जागिर यात्रा करिब तीन वर्षसम्म जारी रह्यो । सायद आफ्नो स्वभाव अनि रुचिले गर्दा हुनसक्छ, जागिरे मानसिकताबाट अलि दूर सोचेर जागिर सुरु गरेको तीन वर्षपछि आफैँले काम गरेको सो रेस्टुराँको स्वामित्व लिई चलाउन थाल्नुभयो ।

भनिन्छ ‘अवसर सधैँ आउँदैन’, कहिलेकाँही आउने अवसरहरुलाई समात्न सक्नुपर्छ । उहाँ एकातिर आफ्नै मातहतमा रेस्टुराँ संचालन गर्दै हुनुहुन्थ्यो भने अर्कातिर क्याम्पसको अध्ययन पनि जारी थियो । यसै सिलसिलामा एकपटक दुर्लभ अवसरकै रुपमा होटल हयात रिजेन्सीमा काम गर्ने अवसर जु¥यो । आफूलाई नपुग्दो केही नभएको बखत पनि केही जानूँ, सिकूँ भन्ने जिज्ञासु स्वभावका कारण उहाँले सो अवसरलाई पनि चुक्न दिनुभएन र होटल हयातमा काम सुरु गर्नुभयो । ‘हयातमा मैले झण्डै एक वर्ष काम गरेँ’, उहाँले थप्नुभयो, ‘सो अवधिमा मैले होटल क्षेत्रको व्यावहारिक धेरै ज्ञान हासिल गरेँ ।’ यतिबेलासम्म उहाँलाई धेरै व्यावहारिक ज्ञान प्राप्त भइसकेको थियो भने शैक्षिक योग्यताका हिसाबले पनि स्नातक तह उत्तीर्ण गरिसक्नुभएको थियो । अझ भनौं, उहाँ परिपक्वताको एउटा चरणमा प्रवेश गरिसक्नुभएको थियो ।

जीवन एउटा प्रयोग पनि हो । सँगै जीवन सधैँ सरल रेखामा मात्र हिँड्छ भन्ने छैन । पाइलापाइलामा विविध वक्ररेखा पनि पार गर्नुपर्ने हुनसक्छ । यही कुरा उहाँमा पनि लागू भएको देखिन्छ । सन् २००४मा आएर उहाँले एक ट्रेकिङ कम्पनीको स्थापना गर्नुभयो । एक्साइटिङ नेपाल टूर्स एण्ड एक्स्पिडिसनको नाममा संस्था दर्ता गराएर प्रत्यक्ष पर्यटन व्यवसायमा हात हाल्नुभयो । जहाँबाट उहाँ एक पर्यटन व्यवसायीको रुपमा पनि चिनिन थाल्नुभयो । यसबाट उहाँको व्यक्तित्वमा पर्यटन व्यवसायीको अर्को नयाँ आयाम थपियो । त्यहाँबाट उहाँले पर्यटन व्यवसायलाई अत्यन्तै निकटबाट नियाल्ने मौका प्राप्त गर्नुभयो । सोही कम्पनीबाट आफूलाई पर्यटन व्यवसायीको रुपमा चिनाउने अवसर पाउनुभएका केसी भन्नुहुन्छ, ‘त्यही एक्स्पिडिसन संचालन गरेदेखि नै मैले पर्यटन व्यवसायलाई नजिकबाट चिन्ने मौका पाएको हुँ ।’ यसक्रममा उहाँले प्राप्त गरेका अनुभवले पर्यटन क्षेत्रका विविध पक्ष र पाटा, राम्रा र नराम्रा कुराहरुप्रति उहाँलाई भुक्तभोगी र जानकार बनाएको छ । उहाँले पर्यटकलाई गाइडिङसमेत गर्नुहुन्छ ।

जीवनमा उतारचढाव आइरहन्छन्, यो अनिवार्य प्रक्रिया हो । कोही समस्यामा अवसर देख्छन् त कोही अवसरमा समस्या देख्छन् । अन्ततः चुनौतीमा पनि अवसर देख्ने र सो अवसरलाई उपयोग गर्ने नै सफल हुन्छन् । यस्तै मोड एकपटक केसीमा देखियो । सन् २०१२ को कुरा हो । उहाँले विविध चुनौतीका बीच पनि होटल खोल्ने निर्णय गर्नुभयो । पर्यटकीय केन्द्र ठमेलमा एउटा अन्तर्राष्ट्रियस्तरको होटल खोल्ने कुरा असम्भव नभए पनि सजिलो त पक्कै पनि छैन । तर, सजिलो नहुनुका बावजुद पनि ठूलै लगानीमा स्ट्यान्डर्ड होटल खोल्ने दृढ अठोट केसीले गर्नुभयो र ‘होटल एक्सेस’ सञ्चालनमा ल्याउनुभयो । ठमेलको केन्द्रमा स्थापना गरिएको सो होटलको अवस्था हाल निराशाजनक नभए पनि सन्तोषजनक पनि नभएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘पर्यटकीय केन्द्र भएको हिसाबले व्यापारिक प्रतिस्पर्धा त निश्चय नै हुन्छ, यो खुला बजारमा प्रतिस्पर्धा हुनु अनौठो पनि होइन ।’ तर, आफ्नो होटलले जायज रुपमा व्यापारिक प्रतिस्पर्धा गर्न सेवा र सुविधामा कुनै पनि कसर बाँकी नराखेको केसीको भनाइ छ । ‘मैले यो होटलमा सेवा र सुविधाको मामिलामा सबै परिपूर्ण तरिकाले व्यवस्था मिलाएको छु । हामीकहाँ अन्तर्राष्ट्रियस्तरको सेवा र सुविधा प्रदान गरिन्छ’, उहाँले भन्नुभयो । अरु होटलको तुलनामा शुल्क केही महंगो भए पनि सेवा लगानी अनि सेवासुविधाका दृष्टिले अरुभन्दा फरक र राम्रो सेवा उपलब्ध गराएको उहाँको दाबी छ ।

आफ्नो होटल एक्सेसको अवस्थाबारे प्रकाश पार्दै केसी भन्नुहुन्छ, ‘अहिले यो होटलमा जम्मा ३१ वटा सुविधासम्पन्न कोठाहरु छन् । प्रत्येक कोठाहरु वातानुकूलित र ध्वनि प्रमाणित रहेका छन् । विद्युत् आपूर्ति नभएको समयमा पनि जेनेरेटरबाट हामीले आपूर्ति सहज गराएका छौँ । त्यस्तै प्रत्येक कोठामा प्लाज्मा टिभी अनि बाथटवको पनि व्यवस्था मिलाइएको छ । सबै रुममा सिटि भ्यू बालकोनीको व्यवस्था पनि हामीले मिलाएका छौँ भने प्रत्येक बिहान निःशुल्क ब्रेकफास्ट पनि हामी उपलब्ध गराउँछौँ । हाम्रो आफ्नै रुफटप रेस्टुराँ पनि छ । सिँढी चढ्न नसक्नेलाई लिफ्टको व्यवस्था पनि मिलाएका छौँ ।’ यसरी सेवा र सुविधामा सम्झौता नगरेको बताउँदै उहाँ सेवाअनुसार सुहाउँदो शुल्क लिएको बताउनुहुन्छ । हाल उक्त होटलमा उहाँले ३० जनालाई रोजगारी दिलाउनुभएको छ । यसरी हेर्दा ३६ वर्षको उमरमै एउटा सफल व्यवसायीको छवि बनाउन सफल भइसक्नुुभएको छ, केसी । उहाँका बुबा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको जागिरे (अहिले रिटायर्ड भइसक्नुभएको) हुुनुहुन्छ भने मुमा गृहिणी हुनुहुन्छ । हाल उहाँ छोरा र श्रीमतीका साथ काठमाडौंमा बस्दै आउनुभएको छ ।

 

उहाँको अनुभव उहाँकै शब्दमा ः

मुलुकको पर्यटन अहिले निकै संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । देशमा राजनीतिक अस्थिरता हुँदा सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रलाई नै परेको छ । पटकपटकको बन्दहडताललेपर्यटनलाई अपूरणीय क्षति पु¥याइरहेको छ । राज्यको समृद्धि र विकाससँगै जोडिएको पर्यटन क्षेत्रलाई सरकारले गम्भीरताका साथ लिएको देखिएको छैन । पर्यटनलाई अर्थतन्त्रको तीनखम्बे नीतिको रुपमा स्वीकारे पनि यसको विकासमा खासै ध्यान दिनसकेको अवस्था छैन । यसमा सरकारले सहजीकरण गर्नु आवश्यक छ ।

पछिल्लो समय चाइनिज व्यापारीहरुको हस्तक्षेप देखिएको छ । घरबेटीहरुलाई लोभलालच देखाएर, प्रलोभनमा पारेर अनुचित फाइदा लिने कार्य देखिएका छन् । त्यसले व्यापारमा अस्वस्थ प्रतिस्पर्धा निम्तिरहेको छ । नेपालीहरुसँग बरु प्रतिस्पर्धा गर्न सजिलो छ तर उनीहरुसँग निकै गाह्रो छ । यसका लागि सरकारले पहल गर्नु जरुरी छ ।

त्यस्तै सरकारले पर्यटन क्षेत्रलाई अत्यन्त गम्भीर ढंगले लिनुपर्ने जरुरी भइसकेको छ । पर्यटनमा थप लगानी र व्यावहारिक पहल अत्यावश्यक छ । जे होस् मलाई पर्यटन क्षेत्रमा लागेर सन्तुष्टि मिलेको छ । यही नै मेरो सबैभन्दा ठूलो खुसी हो ।

तपाईंको बिचार