Saturday, March 25, 2017  |    

सफल युवा पर्यटन व्यवसायी गोविन्द दाहाल

प्रकाशित मिति: 2016/08/25

गोविन्द दाहाल एक सफल युवा पर्यटन व्यवसायी हुनुहुन्छ । कानुन विषय अध्ययन गर्नुभएका दाहालले पर्यटन व्यवसायमा जम्ने सपना सायदै देख्नुभएको थियो । तर कुनैबेला नदेखेको सपना पनि फलिफाप हुन्छ भनेझैं उहाँका लागि सोचेको भन्दा नसोचेको क्षेत्रबाट अतुलनीय सफलता मिलेको छ । चितवनमा हुर्कनुभएका दाहालले आफ्नो माध्यमिक तहको शिक्षा त्यहीँ नै पूरा गर्नुभयो । त्यसपछि उच्च शिक्षाको लागि नारायणगढको बालकुमारी कलेजमा भर्ना हुनुभयो ।
त्यहीँबाट उहाँले आइएल गरी कानुन विषय नै पढ्न सपना बोकेर सन् २०४६ साल अन्तिमतिर काठमाडौं छिर्नुभएको थियो ।
    काठमाडौं आइसकेपछि उहाँ नेपाल ल क्याम्पसमा बीएल अध्ययनको लागि भर्ना हुनुभयो । सन् १९९० तिरको कुरा हो, बीएल अध्ययन गर्दागर्दै उहाँले सन्नी ट्राभल नामक कम्पनीमा जागिर सुरु गर्नुभयो । त्यसपछि उहाँले बाबा ट्राभलमा करिब ४ वर्ष काम गर्नुभयो । सन् १९९५ मा ग्रीन होराइजन ट्राभल दर्ता गरेर चलाउन थाल्नुभयो । त्यसपछि उहाँको अधिकांश समय टुर गर्नतर्फ केन्द्रित भयो । विशेषगरी उहाँले इन्किमिङ टुरिष्ट (नेपाल घुम्न आउने पर्यटकलाई टुर गराउने काम गर्नुभयो । आफ्नो व्यवसायको प्रवद्र्धन गर्ने क्रममा उहाँले ५ पटक युरोपियन मुलुकको भ्रमण गरिसक्नुभएको छ ।
    विदेश बसाइको क्रममा ६ महिना जापान बसेपछि उहाँलाई टुरिष्ट बस चलाउन मन लाग्यो । ‘सोही क्रममा ग्रीन होराइजनको नाममा एक वर्ष टुरिष्ट बस चलाइयो’, उहाँले गन्तव्य नेपाल न्यूजसँगको कुराकानीकै क्रममा विगतलाई सम्झनुभयो, ‘त्यस सँगसँगै पर्यटन क्षेत्रसँगको उठबस अझ प्रगाढ बन्दै गयो र आजको अवस्थासम्म आइपुगिएको छ ।’
    पर्यटन व्यवसायमा लाग्ने क्रममा उहाँले पहिला आफू कार्यरत रहेको बाबा ट्राभलसमेत खरिद गरेर सञ्चालन गरिरहनुभएको छ । ‘मैले पहिला काम गरेको बाबा ब्राण्डको विभिन्न क्षेत्रमा लगानी भयो । मलाई विश्वास गरेर नबेच्ने शर्तमा बाबा ट्राभलचाहिँ मलाई दिनुभयो’, उहाँले भन्नुभयो ।  
    आफू योजनाबद्ध रुपमा अघि बढेकै कारणले गर्दा व्यावसायिक रुपमा एकपछि अर्को गर्दै सफलता प्राप्त भइरहेको उहाँ बताउनुहुन्छ । ट्राभल व्यवसायको
अलावा उहाँले सन् २०१० सालमा चितवनको सौराहामा सफारी क्बल रिसोर्टको स्थापना गर्नुभएको थियो । रिसोर्ट क्षेत्रमा हात हालिसक्नुभएका उहाँले पुनः अर्को होटलतर्फ हात बढाउने क्रममा अहिले पर्यटकीय केन्द्र ठमेलको मुटु नर्सिङचोकमा होटल बुबो हिमालयन सञ्चालनमा ल्याउनुभएको छ । पर्यटन क्षेत्रलाई मजबुत पार्नको निम्ति औपचारिक अध्ययनसँगसँगै व्यावहारिक अनुभव आवश्यक रहेको उहाँको बुझाइ छ ।
दाहाल आफ्ना निजी व्यवसायको अलावा विभिन्न व्यावसायिक एवं सामाजिक संघसंस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ ।
आफ्नो व्यवसायलाई अगाडि बढाउँदै आगामी दिनमा समाज सेवामा लाग्ने योजना रहेको उहाँले सुनाउनुभयो । विशेषगरी शिक्षा क्षेत्रमा लाग्ने अन्तरआत्मादेखि नै इच्छा रहेको पनि उहाँले बताउनुभयो ।
    पर्यटन के हो भन्ने प्रश्नको जवाफमा दाहालले भन्नुभयो, ‘हर क्षण नयाँ चीजको खोज अन्वेषण गर्न चाहनु मानवीय स्वभाव हो । पर्यटन भनेको नयाँ ठाउँ अर्थात् चिजहरुको, दृश्यहरुको अवलोकन गरेर जान्ने हो ।’ कुराकानीकै क्रममा दाहालले राज्यले पर्यटन क्षेत्रको राम्रोसँग अध्ययन नै नगरेको र नेपालको पर्यटन विकासका निम्ति राज्य संयन्त्र चलायमान हुन नसकेको उहाँले जिकिर गर्नुभयो । ‘राज्यसंयन्त्रले
यहाँको स्रोतसाधनको सही रुपमा परिचालन गर्न नसकेको उहाँको भनाई छ ।

तपाईंको बिचार