Friday, October 20, 2017

हिजोका प्रकाश, आजका गणेश सिंखडा

प्रकाशित मिति: 2017/01/26

काठमाण्डौ १३, काठमाण्डौ । पार्टीमा लोभीपापीको संख्या बढ्दा नागरिकले दुःख पाउने स्थीति बन्दो रहेछ, केही महिनाअघि पार्टी एकीकरण त भयो, तर त्यो पनि जनताको सेवा गर्ने भन्दा पनि सत्ता र नेतृत्वमा कसरी स्थापित हुने भन्ने सपना पाल्नेहरुको भिड मात्रै हो, अन्य कुरा छाँयामा बिलाए, यसै भन्दै थिए ।

गणेश सिंखडा । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य । त्यो भन्दा बढि उनी बरिष्ठ पर्यटन व्यावसायी, सोह्खुट्टेमा द एभरेष्ट होलिडे सिंखडालाई चिनाउने पर्यटनको ब्राण्ड हो, भने पार्टीमा बिभिन्न ईकाईहरुमा रहेर पनि काम गरिरहेका छन ।
धादिङको गुम्दी ७, साल्दुङमा २०२५ सालमा जन्मिएका सिंखडा परिवारमा कान्छा छोरा हुन । २१ जना भन्दा बढि जम्बो परिवारमा हुर्केबढेका सिंखडा परिवार आफैमा चेतनाको श्रोत थियो ।
गाँउमा बाबुसाहेब थिए, सिंखडा । छिमेकी त्रिपुरेश्वर गाबिसको अचेनी बिद्यालयबाट २०४२ ताका एसएलसी दिएपश्चात उनी काठमाण्डौ हानिए । काठमाण्डौको म्ह्ैपीमा हजुरआमासँगै बस्थे उनी, त्रिचन्द्र क्याम्पस र प्रदर्शनी मार्गमा उनका धेरै दौतरी हरु भेला भएर गफिने गर्थे सिंखडा । उनी सम्झन्छन । साथीहरुकै सल्लाहमा नेपाल ल क्याम्पसमा सिंखडा पनि भर्ना भए । नेकपा मसालका माध्यमबाट बिद्यार्थी राजनीति सुरु गरे ।
तेस्रो सार्क सम्मेलन ताका हुँदो हो, कलेज भर्नाको सुरुवाती समय २०४३ ताका पहिलो पटक केन्द्रीय जेलमा थुनामा परे । शान्ति सुरक्षा खलल बनाएको अभियोगमा । जतिबेला बर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली, राधाकृष्ण मैनाली, कृष्णसेन ईच्छुक लगायतका व्यक्तिहरु कालो कोठेरीमा झोक्राएर कुनामा बसिरहेका हुँदाहुन, उनी सम्झन्छन ।
पहिलो पटक थुनामा लामो बस्नु परेन उनलाई । केही दिनमै छुटीहाले । फेरी राजनीतिक सरगर्मी र पार्टीले दिएको जिम्मेवारी पुरा गर्न खट्ने बिचार गर्दैगर्दा २९ दिनपछि पुनः थुनामा परे ।
यसरी पटकपटक जेलपर्ने र निस्कने उनका लागि सामान्य भयो । ०४८ सालमा रंगशाला काण्डमा पनि सिंखडा थुनामा परेका थिए । जिबनका ४ बर्ष जेल जिबन नै बिताएँ, २०५२ सालमा पार्टीले नाम फेर्यो, नेकपा मसालबाट नेकपा माओबादीमा रुपान्तरण भयो ।
त्यतिबेलै केही साथीहरु भुमिगत रुपमा लडाकु भएरै गए । केही साथी खुल्ला राजनीतिमा बसेर पार्टीले खटाएका निर्देशनहरु पालना गर्दै अगाडि बढे, सिंखडा पनि त्यही भिडमा होमिएका थिए ।
उतिबेला जनअधिकार सरकार अभियानको केन्द्रिय सचिवालयको सचिवालय सदस्य थिए, सिंखडा । माओबादी आन्दोलनमा राज्यपक्षबाट हुने मानबअधिकार हननका घटना बाहिर ल्याउनु उक्त संस्थाको मुख्य काम थियो, अध्यक्ष थिए, डा. केबि रोकाय । खिमलाल देबकोटा, कृष्णसेन ईच्छुक लगायतको उनीहरुको समुह थियो ।
३१ जना जति हुँदा हुन सचिवालय सदस्यका रुपमा । १३ जनालाई तत्कालिन सेनाले माओबादीलाई सघाएको आरोपमा हत्या गर्यो, त्यसपछि हामी पनि भुमिगत भयौ, उनले बेलिबिस्तार लगाए । माओबादी द्धन्द्धकै क्रममा उनी काठमाण्डौका अतिरिक्त रोल्पा, दैलेख, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट लगायत धेरै स्थानमा भुमिगत रुपमा सक्रिय थिए ।
यही बेला अमेरिकी पत्रकार लि अर्नेष्टो नेतृत्वमा नेपालका बिभिन्न राजनीतिक दलका नेता तथा मानबअधिकारबादी समेत संयोजन गरी माओबादी युद्धले पारेका प्रभावपारे अध्ययन गर्न गाँउ गाँउ पुगेका थिए, पछि अमेरिका फर्केपछि नेपालको माओबादी आन्दोलनको बारेमा पुस्तक प्रकाशित गरे, यसबाट पनि माओबादी आन्दोलन उत्कर्षमा पुर्याउन भुमिका खेलेको उनको बुझाई छ ।
युद्धताका ‘प्रकाश’ नामले चिनिन्थे सिंखडा । प्रदर्शनीमार्ग बाट सुरु भएको उनको मसालको राजनीति पार्टीले जुनजुन भुमिका दियो त्यसैलाई सफल रुपमा निर्वाह गरे । पार्टीले ०५२ सालमा नाम फेरेर युद्धमा होमियो, उनी पनि सँगै होमिए । थुप्रै सुरुङमा उनका नग्रा र कुईना खिईए, पटकपटक थुनामा पर्नु र निस्कनु उनको लागि उतिबेलै सामान्य भैसकेका थिए ।
०६२÷०६३ मा समयक्रमले माओबादी खुल्ला राजनीतिमा आईपुग्यो । त्यतिबेला पनि गणतान्त्रिक मञ्चका नाममा पार्टीलाई बलियो बनाउने र जनताको भरोसा र बिश्वास बढाउने कोशिस भएका थिए ।
माओबादी खुल्ला राजनीतिमा आएका सुरुका दिनमा मानिसहरुको सद्भाव पनि अद्भुत थियो । पहिलो संबिधानसभामा जनताले मन खोलेर सहयोग गरे । गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा सुप्रिम कमाण्डरबाट प्रधानमन्त्री बनेका प्रचण्डले जुन परिस्थीतिमा सरकार छोड्न पुगे र त्यसपछिको राजनीति जसरी माओबादीको हातबाट टाढा पुग्दै धुमिल हुँदै गयो, जनताको भरोसा पनि माओबादीले जोगाउन सकेन ।
दोस्रो संबिधान सभाले जेजस्तो परिणाम दियो, जनआकांक्षालाई सम्बोधन गर्न नसक्नुकै परिणामको रुपमा बुझ्न गाह्रो पर्दैन ।

 

हिजोका दिनमा जेलमा बस्दा पनि गर्ब लाग्थ्यो, राज्यले दुःख दिएपनि पार्टी सम्झदा आदरभाव अझ बढ्थ्यो । जसका लागि राजनीति भनियो, उसकै बिश्वास नरहेपछि पार्टीको हाल पनि कमजोर भयो, नेतृत्व पनि लोभीपापी बन्दै गए, समस्या यहीनेर भएजस्तो लाग्छ, उनले भने ।
हिजोका दिनमा सबै एउटै मोर्चामा अटाउने माओबादीहरु आज फरक फरक गुट र पार्टीमा बिभाजित छन । फुट्दा पनि स्वार्थ र जुट्दा पनि स्वार्थ देख्ने र खोज्ने हरुको भिडकै नयाँ रुपमा बाबुरामको नयाँ शक्तिलाई उनले अथ्र्याए ।
भन्छन, नयाँ बोतलमा पूरानै रक्सी हालेर भट्टराई स्वार्थमा घेरिए । पार्टी अध्यक्ष प्रचण्डकै कार्यशैलीप्रति उनको खास चित्त बुझेको रहेनछ, भन्छन, जनताको पिरमर्का नेतृत्वले बुझेन की भने जस्तो लाग्छ, तर आपत्तिजनक चै छैन ।
लोभीपापीहरुहरुलाई पदको फिक्री हुने भएपनि आफु भने पार्टीले दिएको भुमिकामा सक्रिय भएको उनले बताए । हाल केन्द्रिय सदस्यका रुपमा पार्टीगत जिम्मेवारी पुरा गरेको छु, पार्टीलाई परेको बखत ज्यान दिलो दिएकै छु , उनी भन्दै थिए । यसका अलवा पार्टीका तर्फबाट पर्यटन बिभागमा समेत उनको महत्वपुर्ण भुमिका रहेको छ ।

धादिङको साल्दुङबाट जुँगाको रेखी नबस्दै काठमाण्डौ प्रवेश, त्यसपछिको बिद्यार्थी राजनीति, पटकपटकको जेल जिबन, जिबनमरण सँगाल्दै खुल्ला राजनीतिमा समेत पार्टीप्रति आस्था अझै मरेको छैन, सिंखडाको । भन्छन, सास रहुन्जेल पार्टीकै लागि योगदान दिन्छु । जिबनको सुरुवात पनि यसैमा भएको थियो, भने बिचमा छोडेर हिड्न आत्माले दिने रहेनछ, नेतृत्व गलत हुन सक्ला तर आफु बसेको घर प्यारै हुने रहेछ, उनी यसै भन्दै थिए ।
 

 

 

तपाईंको बिचार