Monday, June 26, 2017  |    

पोखरा पर्यटन पुनर्जागरण समिति थप सशक्त बन्दै

प्रकाशित मिति: 2015/08/02

पर्यटन पुनरुत्थानका लागि विभिन्न गतिविधि गर्दै आएका पोखरेली पर्यटन व्यवसायीहरु पर्यटन प्रवद्र्धनको शिलशिलामा भारत भ्रमणमा जाने भएका छन् । पर्यटन पुनर्जागरण समिति, पोखराको आयोजनामा एक टोली भारत भ्रमणमा जान लागेको हो । एक महिनाभित्रै सो भ्रमणमा जाने गरी कार्यक्रम तय गरिएको समितिका मिडिया संयोजक टिकाराम सापकोटाले जानकारी दिनुभयो ।
‘चलिए पोखरा’ अर्थात पोखरा जाऔँ भन्ने नाराका साथ नेपाल–भारत सिमा आसपासका लखनउ, बराणशी, कानपूरलगायतका विभिन्न शहरहरुमा पोखरा सुरक्षित रहेको सन्देश दिँदै घुम्न आउनका लागि उत्प्रेरित गर्न विविध प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्ने समितिको  योजना रहेको सापकोटाले बताउनुभयो । ‘भूकम्पले कत्ति पनि असर नगरे पनि पर्यटक आगमन स्वाक्तै घटेपछि यस्तो अभियान चालेका हौँ ।’ सापकोटाले भन्नुभयो, ‘पोखराको पर्यटन प्रवद्र्धनका लागि यसले ठूलो सहयोग मिल्ने विश्वास छ ।’  पोखराको पर्यटनको प्रमुख आधार भारतीय पर्यटक भएपनि पछिल्लो समय भारतबाट आउने पर्यटकको संख्यामा भारी गिरावट आएको छ ।
  पर्यटन पुनर्जागरण समितिको समन्यवमा हुने भ्रमणको पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष हरि शर्माको संयोजकत्वमा झण्डै तिनदर्जन व्यवसायीहरुको टोली भारत जाने संयोजक सापकोटाले बताउनुभयो । भारतबाट फर्किएलगक्तै अर्को एक टाली चीनको भ्रमणमा निस्कने जानकारी पनि सापकोटाले दिनुभयो । समितिकै समन्वयमा नाट्टा पोखरा च्याप्टरका अध्यक्ष पोमनारायण श्रेष्ठको संयोजकत्वको टोली चीनका विभिन्न शहरहरुमा गएर पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा  पुनर्जागरण समितिले हवाई प्रदशर्नी गर्ने तयारी गरेको पनि समितिले जनाएको छ । पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय स्तरका दक्ष पाईलटहरुद्धारा प्याराग्लाईडिङ, अल्ट्रालाईटलगायतका हवाई प्रदशर्नी गर्ने समितिले बताएको छ । सोही दिन रेष्टुराँ तथा बार एसोसियसन पोखरा च्याप्टरले पनि ‘मिनी स्ट्रिट फेस्टिबल’ सञ्चालनको तयारी गरेको छ ।

तपाईंको बिचार