Sunday, December 17, 2017

अरु त, त्यस्तै हो, टाउकोमा किताब राखेर नाङ्गै त्रिशुली नदी तरेको अझै याद आउँछ : मगर

प्रकाशित मिति: 2017/07/06

असार २२, काठमाण्डौ । हो, हामी पनि स्कुल जान्थ्यौ । तर नलेखिएका ईतिहास जस्ता लाग्ने म र मेरा समकालिन साथीहरुको स्कुल जाने र आउने शैलीलाई अझैपनि कर्णाली अञ्चलका दुरदराजमा बस्ने नानीबाबुहरुले बिद्यालय जान अपनाउने गरेकै छन ।

निमबहादुर मगर । २०३३ ताका जन्मिएका उनको पुर्खौली घर नारायणघाट मुगलिन सडकखण्डबिचको त्रिशुली नदी पारीको डाँडापट्टि ।
अप्ठेरो भौगोलिक अवस्थीतिकै कारण होला, अघिपछि जताहेर्दा पनि देखिने त्रिशुली नदिसँगै उनको पौडीसिप पनि बिकशीत भएकै थियो ।
सुरुवाती सिकाईका क्रममा रहरमा सिमित उनको पौडीने चाहना पछि बाध्यतामा परिणत हुँदै गयो ।
बिगत सम्झदै भन्छन, बिद्यालय जान सधै एकहुल तयार भएर हिड्थ्यौ । घण्टौको पैदलयात्रा त छँदै थियो, त्यो भन्दा बढि त्रिशुली नदि पार गर्नुपर्ने सकस । कारण नत पक्की, नत कच्ची कुनै पनि बिकल्प थिएन उनलाई । हातभरी छरपष्ट किताब बोकेर निमको हुल जब बिद्यालय जानको लागि त्रिशुली नदि किनारामा पुग्थ्यो, सुरु हुन्थ्यो, नयाँ श्रृंखला ।

लगाएका लुगा सबै खोल्ने, त्यही स्कुले ड्रेसमा छरपष्ट किताब पोको पारी टाउकोमा बाँधेर पौडिदै त्रिशुली पारी पुगेर ड्रेस लगाएर स्कुल जाने उनको नित्य कर्म थियो । अहिलेका बाबुआमाको बच्चाहरु जस्तो सुरुवाती दिनमा खोलामा पौडी खेल्न जाँदा पानीमा डुब्ने चिन्ताले उनले गाली नखाएका पनि होईनन, तर जब उमेर बढ्दै गयो र पौडी खेल्न नजान्ने स्कुल जान नसक्ने अवस्था श्रृजना भयो उनको तारिफ हुन थाल्यो रे, पौडी खेल्न जानेकोमा । स्कुल पुग्दा कहिले किताब सबै लत्याक लुतुक्क त, कहिले टाउकोमा बाधेका लुगा सबै पानीमा । पौडी खेल्न नआउने साथीहरु केराको सुत्लो र काठमा पौरिएर काम चलाउँथे, तर कसोकसो गर्दा धेरैजसो समयमा कहिले किताब भिज्ने त कहिले आफैले समेत पानी खाईने अवस्था श्रृजना हुन्थ्यो । त्यसमाथि सरमिसले होमवर्क टार्ने बहाना भन्दै दिने सकस । अहिले सम्झेर ल्याउँदा पिडा नै सही, साह्रै याद आउँछ ति पल । उनी भन्दै थिए, आखिर बाध्यताको उपज जो थियो ।
परिवारमा जेष्ठ छोरा हुन निमबहादुर मगर । पौडीसिपले पाएको बिद्यामा उनले २०४९ ताका एसएलसी पास पनि गरे । जन्मेहुर्केको संस्कृति सबैभन्दा बढि केही थियो भने त्यो त्रिशुली नदी र पौडी बन्न गयो । उनका पिताजी लगायत गाँउका अन्य व्यक्ति पनि अहिलेको जस्तो व्यवसायिक राफ्टिङ नभएपनि मानिसहरुलाई नदि वारपार गराउने कर्म गर्थे । एसएलसी दिएपछि केही समय परिष्कृत भईनसकेको राफ्टिङमा समावेश भए, थोरबहुत आम्दानी पनि भयो । यसको केही समयपश्चात उनमा ब्रिटीस लाहुरे बन्ने सपना सुरु भयो, दौडने पौडने र अन्य बलका कार्य गर्न उनलाई कसैले सक्दैनथे । प्रयास निरन्तर थियो, तर एक समय यस्तो आयो अब ब्रिटीस लाहुरे बन्न नसकिने निष्कर्षपछि उनी काठमाण्डौ हानिए ।
काठमाण्डौमा रिभर गाईडको ट्रेनिङ सुरु गरे । नाम ‘ओष्ट्रे वाटर वेज’  । त्यतिबेला कान्तिपथमा थियो, अहिले अन्तै सर्या छ, ट्रेनिङ सँगसँगै सुरुवाती दिनमा हेल्पर र त्यसको केही समयपछाडी सहायक गाईडको रुपमा काम समेत पाए । यसबखत टंगामा बस्थे उनी । त्यससमयमा अष्ट महर्जन नामका व्यक्तिले रिभर ट्रेनिङको क्षेत्रमा धेरै काम सिकाएको उनी सम्झन्छन ।
त्यसपछि ‘वेष्ट हिमालयन आउड डोर’ तर्फ हानिए । यस क्रममा राफ्टिङकै लागि सुनकोसी, त्रिशुली, कालीगण्डकी र त्रिशुलीसम्म पुग्ने गर्थे । काठमाण्डौमा वेष्ट्रे बाट वेष्ट हिमालयनको यात्रा सन १९९२ बाट सुरु भएर १९९६ बिच रह्यो । 
खोलासँगको मितेरीले उनलाई पेशागत सुरक्षा त प्रदान गरेकै थियो, जलक्षेत्रमा हुने प्रतियोगितामा समेत उनको बलियो उपस्थीति थियो । फलस्वरुप सन १९९८ मा पहिलोपटक राफ्टिङ साहसिक खेलभित्रकोे ‘कायाकिङ गाउन रिभर’मा नेपाली साहसिक खेलाडिको प्रतिनिधीत्व गर्दै फ्रान्स पुगे । यो उनको पहिलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिता अनुभव थियो । त्यसपछि त उनले पछाडि फर्केर हेर्नै परेन । सन १९९९ मा युरोपियन च्याम्पीयन्समा भाग लिन इंग्ल्याण्ड, सन २०००मा जर्मनी, २००१ मा अस्ष्ट्रीया र सन २००२ मा कायाकिङ च्याम्पीयन्ससिपकै लागि फ्रान्स पुगे ।
यसपछिका श्रृंखलाहरुमा भने उनी रिभर अपरेशन म्यानेजरका रुपमा काम गर्नका लागि जापान पुगे । खेलजिबन भने अन्तिमपटक सन २०१४ मा दक्षिणकोरियामा आयोजित प्रतियोगिता सम्म रह्यो । 
आधासमय खेलजिबन र आधा नेपालमा नेपालमै व्यस्त हुन्थे उनी । यो क्रम सन २००८ सम्म इक्वायटर एक्पेडिसनमा ट्रिप लिडरको रुपमा काम गर्दासम्म जारी थियो ।
सन २००९ मा आफ्नै नामको प्याडल नेपाल’ नामको राफ्टिङ कम्पनी दर्ता गरे, जुन आजसम्म पनि नेपाली राफ्टिङ क्षेत्रमा ब्राण्डको रुपमा स्थापित छ, कर्णाली देखी सुनकोसी, तमोर, कालीगण्डकी, त्रिशुली, भोटेकोसी सबै नदीकिनारमा उनको कम्पनीको राफ्टिङ सेवा पुगेकै छ, गाईड र कायाकिङ एक्सपर्ट पुगेकै छन ।
भन्छन, भौगोलिक परिवेश र बिकासको पछौटेपनाले दिएको उपज नै मेरो राफ्टिङ सभ्यतासँग जडिएको छ । सुरुवाती उनको पुर्खौली सँग जोडिएको यो पेशा आजको दिनमा पर्यटनको ब्राण्ड बन्दै गर्दा उनीमा खुसी भरिएकै छन ।
नेपालमै बसेर जलक्षेत्रका कामदारहरुलाई रोजगारी दिनकै लागि आफुले राफ्टिङ कम्पनी खोलेको बताउने निम नेपालमा राफ्टिङ कायाकिङको प्रशिद्ध प्रशिक्षक पनि हुन । जिबन रहुञ्जेल सम्म खोला किनारको बिकास र प्रवद्र्धनमा बिताउने सोच छ उनको । भर्खरै राफ्टिङ कायाकिङको स्कुल खोल्ने तयारीमा लागेको बताउने निम भन्दै थिए,‘ स्कुल भन्न नपाईने रहेछ हजुर एकेडमी राख्नुपर्ने रैछ, खै केके जाति बिधानले जो छेक्छ रे, जेहोस सिकाउन पाए भैगो । यसो भन्दै गर्दा उनको मुहारमा कालान्तरको सपना छचल्कीरहेको थियो ।
त्रिशुलीको अबिचलीत आवाज, वरीपरी जताहेरेपनि पानीपानी र डाँडापाखा बिच जिबन सुरु भयो, स्कुल जाँदा र फर्कदा स्कुले ड्रेसमा किताब पोको पारेर टाउकोमा बाँधी नभिजाई पार गर्दाको आनन्दमय पिडाका बिच आज जेजति प्राप्त गरे, फर्केर हेर्दा कुनै पश्चताप छैन । अझ रमाईलो काउकुती लाग्दो रहेछ । जुन भौगोलिक अवस्थामा जन्मिए, त्यसमा कहिल्यै बनावटी थिएन, त्यस्तै नेपालका खोलानामा पनि थिएनन, छैनन ।
जिबनको अन्तीम प्रहरसम्म पनि यस क्षेत्रलाई केही गर्न सके बालापनको बहादुरीपुर्ण स्कुले यात्रा अझ सिद्ध हुनेछ । आखिर अन्र्तमनको आवाज न हो, यो । उनी भन्दै थिए ।

तपाईंको बिचार