Saturday, November 18, 2017

पर्यटनका डायनामिक फिगर मोहन लम्साल

प्रकाशित मिति: 2017/10/26

मोहन लम्साल पर्यटनमा चिरपरिचित नाम हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वमहासचिव समेत रहनुभएका लम्साल मकालु एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि उहाँले पर्यटनमा क्रियाशिल हुनुहुन्छ । 

वि.सं. २०२४ साल मंसिर ८ गते मध्यपश्चिमाञ्चलको दाङस्थित तुलसीपुर नगरपालिका वडा नं. ६ मा निम्नवर्गीय किसान परिवारमा मोहन लम्सालको जन्म भएको होे । बुबा निलकण्ठ लम्साल र आमा पार्वती लम्सालका सात सन्तातमध्ये छैटौँ सन्तानको रुपमा जन्मनुभएका लम्सालले गाउँकै स्थानीय महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी सक्नुभयो । दुःखसुख झेल्दै खेतीपातीबाट आर्थिक जोहो गर्दै वि.सं. २०४३ सालमा विद्यालय तहको पढाइ पूरा गर्नुभयो । यसलगत्तै उहाँ राजधानी प्रवेश गर्नुभयो । अतिरिक्त अध्ययनको सिलसिलामा राजधानी प्रवेश गर्नुभएका लम्सालले त्यसयता विभिन्न चुनौतीहरुको सामना गर्दै अगाडि बढ्नु भएको छ र आज आफूलाई एक सफल व्यवसायीको रुपमा उभ्याउन सफल हुनुभएको छ । त्यो उहाँको कर्म र संघर्षको उपज हो ।

झण्डै तीन दशकअगाडि राजधानी छिरेर संघर्ष थाल्नुभएका लम्सालले काठमाडौंको पिपल्स क्याम्पसबाट सो समयको आइकम (अहिलेको प्लस टू बराबर) को अध्ययन सुरु गर्नुभएको थियो । क्याम्पसको पढाइसँगै आर्थिक जोहो गर्ने क्रममा उहाँ निकै समय भौँतारिनु भयो । जागिरका क्रममा २०४४ सालमा सांस्कृतिक संस्थानमा उहाँले दुई वर्ष नाटक खेल्नुभयो ।

समकालिन परिस्थितिमा निरंकुश पञ्चायती शासनको विरुद्धमा उठेको राजनीतिक आन्दोलनमा सहभागी हुँदा लम्साल ५ दिन हनुमानढोका जेलमा समेत पर्नुभयो । यही जेल पर्नुको चुनौती नै लम्सालको लागि अवसर बनेर उदायो । जेल पर्नुले छोडिएको संस्थानको उहाँको जागिरले नयाँ दिशानिर्देश ग¥यो । अन्ततः उहाँ पर्यटन क्षेत्रसँग जोडिन आइपुग्नुभयो ।

आफ्नो अध्ययनको क्षेत्रसँग पनि कतै मेल खाने भएकाले उहाँलाई पर्यटन क्षेत्रमा अलिक बढी नै चाह थियो । तसर्थ, यही इच्छाअनुरुप उहाँले २०४७ सालदेखि ठमेलको रिगल एक्स्कर्सनबाट आफ्नो पर्यटनको यात्रा सुरु गर्नुभयो । ट्रेकिङ गाइडबाट सुरु गर्नुभएको पर्यटन यात्रा नै उहाँको व्यवसायको प्रारम्भिक बिन्दु हो । सो एक्स्कर्सनमा रहेर उहाँले तीन वर्ष ट्रेकिङ गाइड गर्नुभयो । वि.सं. २०५६ सालसम्म उहाँ सोही कम्पनीमा आबद्ध रहनुभयो ।

यस अवधिसम्म प्राप्त ज्ञानका आधारमा २०५६ सालमा उहाँले मकालु ट्रेक्स संचालनमा ल्याउनुभयो, सो संस्था संचालनका लागि उहाँले दुईवर्ष अगाडिदेखि नै संस्था दर्ता गरिसक्नुभएको थियो ।

लम्साल पर्यटन क्षेत्रमा एक उदाहरणीय व्यवसायी त हुन नै यसबाहेक उहाँ सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै परिचित हुनुहुन्छ । हाल उहाँ स्विस नागरिकहरुको आर्थिक सहयोगमा नुवाकोटस्थित तारकेश्वरमा झण्डै अढाई करोडको योजनाअन्तर्गत ३ वटा विद्यालय निर्माणका लागि  उहाँकै संयोजनमा सम्पन्न भैसकेको छ   भने सो स्थानमा स्वास्थ्य समस्यालाई मध्यनजर गदै हस्पिटल को भवन  निमार्ण  पनि सम्पन्न भैसकेको छ । लम्साल यहि कातिक १२ गते हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ३९ औं साधारण सभा सहितको निर्वाचनको लागि प्रजातान्त्रिक  र स्वतन्त्र व्यवसायीहरुको गठवन्धन वाट अध्यक्षको प्रत्यासीको रुपमा उभिएका छन् ।

तपाईंको बिचार