Tuesday, May 21, 2019

प्रशिक्षक लाक्पा शेर्पाको संर्घषशील जीवन यात्रा

प्रकाशित मिति: 2018/04/23
लाक्पा शेर्पा
लाक्पा शेर्पा

दृढ इच्छाशक्ति र निरन्तर परिश्रम गरे जीवनमा सफलता भन्ने कुरा धेरै टाढा छैन । सफल पर्वतारोही लाक्पा शेर्पाको संघर्षशील जीवन भोगाईबाट प्राप्त सफलताको कथाले यही भन्छ । ओखलढुङगाको खिजीदेम्बा गाँउपालिकामा जन्मेका लाक्पा सानैदेखि घुमफिर गर्न र जोखिमपूर्ण काममा रमाउनुहुन्थ्यो । त्यही जोखिम मोल्नसक्ने साहसकै कारण आज उहाँको परिचय नेपाली पर्यटन बजारमा मात्र होइन अन्तर्राष्ट्रिय पर्वतारोहीहरुको समेत छनोटमा पर्ने गरेको छ । घुम्न निकै रुचाउने लाक्पाले कलिलै उमेरमा सोचेका थिए कि कुन पेशा अपनायो भने धेरै घुम्न पाइएला ? र पछि उनले पर्वतारोहणलाई पेशा बनाउने मनसाय बनाउनुभयो । 

हुनत ओखलढुङ्गास्थित उनको घरबाट अधिकांश हिमालको दृष्यावलोकन गर्न पाइन्छ । त्यही हिमाल हेरेर हुर्किनुभएका उहाँ अहिले आफुमात्रै हिमाल चढिरहनुभएको छैन, अरुलाई पनि कसरी सुरक्षित तरिकाले हिमाल चढ्ने भनेर प्रशिक्षण दिइरहनुभएको छ ।  सुरुमा विना प्रशिक्षण यस क्षेत्रमा होमिनुभएका उहाँले निकै दुःख झेल्नु प¥यो । हुन त हिमाल आरोहण आफैमा जोखिमपूर्ण कार्य हो भन्नुहुन्छ उहाँ । उहाँले प्रशिक्षण लिने निधो गर्दै सन् १९९८ मा पर्वतारोहणको आधारभूत प्रशिक्षण लिनुभयो । त्यसपछी १९९९ मा एड्भान्स पर्वतारोहणको प्रशिक्षण लिनुभएका लाक्पा सन् २००० मा नेपाल पर्वतारोहण संघको सहायक पर्वतारोहण प्रशिक्षकको रुपमा छनौट हुन सफल हुनुभयो । त्यसलगत्तै उहाँले फ्रान्सको इन्साबाट पनि प्रशिक्षण लिनुभयो र आफ्नो पेशामा आफुलाई थप अब्बल बनाउनुभयो ।  
 
त्यसपश्चात् पर्वतारोहण प्रशिक्षण संघको स्थापना गर्दै यसलाई अझ व्यवसायिक र व्यवस्थित बनाउने अभियानमा लाग्नुभयो लाक्पा । यसको अर्को उद्देश्य पनि थियो, नेपाललाई अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण पथप्रर्दशकको मान्यता दिलाउने । उक्त संस्थाको संस्थापक सदस्यसमेत हुनुहुन्छ उहाँ । अन्तर्राष्ट्रिय पथप्रर्दशककै सल्लाहमा यसबाट मान्यता नपाउने भएपनि उहाँहरुकै पहलमा सन् २००५ मा फेरी राष्ट्रिय पथप्रर्दशक संघ स्थापना भयो । सो संस्थाको पनि उहाँ संस्थापक सदस्य नै हुनुहुन्छ । त्यसपश्चात भने व्यवसायिक रुपमा विदेशी प्रशिक्षकहरु बोलाएर प्रशिक्षण गराउन थालियो । सन् २००६, २००७ र २००८ मा लगातार प्रशिक्षण कार्यक्रम संचालन भयो । सन् २००९ मा  अन्नपूर्ण बेशक्याम्पमा अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशकको प्रशिक्षण दिएपछि सन् २०११ मा अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशकको मान्यता प्राप्त भयो । त्यसमा उहाँको निकै महत्वपूर्ण भूमिका रहेको थियो । 

पर्वतारोहण प्रशिक्षण संघको नवनिर्वाचित अध्यक्षसमेत रहनुभएका उहाँले यो बीचमा सन् २००३, २००५, २०१२, २०१३ र २०१६ गरी ५ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । पर्वतारोहण प्रशिक्षण संघले नेपाल पर्वतारोहण संघले संचालन गर्ने हरेक प्रशिक्षण कार्यक्रमहरुमा प्रशिक्षक उपलब्ध गराउने गर्दछ । यसका साथै संस्थाले हिमाली क्षेत्रमा उद्धार, स्र्पोटर्स, क्लाइम्बिङ लगायतका प्रशिक्षण कार्य समेत संचालन गर्दै आएको छ । उहाँ भन्नुहुन्छ ‘नेपाल संसारकै एड्भेन्चरस् गन्तव्य हो । त्यसका लागि हामीलाई थुप्रै जनशक्ति चाहिन्छ  । त्यसपछि मात्र नेपाल सुरक्षित गन्तव्य हो भनेर विश्वभर चिनाउन सक्छौं ।’  

पर्यटनबाट मुलुकमा रोजगारी सृजना हुन्छ । एउटा पर्यटकले सगरमाथा चढ्नका लागि मात्र सरकारलाई ११ हजार डलर रोयल्टी तिर्छ । तसर्थ यो राजस्व संकलनको पनि एउटा गतिलो माध्यम हो । त्यसकारण यस क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेको बुझाई लाक्पाको छ । लाक्पा पर्वतारोहण क्षेत्रमा यसरी विभिन्न भूमिकामा रहेर सक्रिय रुपमा काम गर्नुको अलावा सामाजिक सेवामासमेत उत्तिकै सक्रियताका साथ लागिरहनुभएको छ ।

 विशेषगरी दुःख दुखि, अनाथ, असक्तहरुको सहयोगमा उहाँले काम गर्दै आउनुभएको छ । 

तपाईंको बिचार