Monday, October 23, 2017

ठमेलको माइ क्याफे डट्को छुट्टै मज्जा

प्रकाशित मिति: 2015/08/17
राममणी सापकोटा, प्रबन्धनिर्देशक, क्याफे दि डट, ठमेल
राममणी सापकोटा, प्रबन्धनिर्देशक, क्याफे दि डट, ठमेल

    व्यवसायीक प्रयोजनले खोलिएका हजारौँ रेष्टुराँ राजधानीमा छन् । पछिल्लो समय विभिन्न आधुनिक सुविधासहित थुप्रै रेष्टुराँहरु खोलिएका पनि छन् । तर अझै पनि राम्रो रेष्टुराँको खोजीमा मानिसहरु भौँतारिएको देखिन्छ । उनिहरु स्वच्छ, सफा र शान्त वातावरणको साथमा गुणस्तरिय सेवाकै लागि बरु महगो मूल्य तिर्न पनि पछि पर्दैनन् । तर, औँलामा गन्न सकिने जतिले मात्र ग्राहकको सेवा र सन्तुष्टिलाई व्यापारिक नाफाको समानान्तर सोच्ने गरेको पाईन्छ । यसैअन्तर्गत पर्छ राजधानीको पर्यटकीय ‘हब’ ठमेलमा अवस्थित माई क्याफे डट ।
    समयको हिसावले कान्छो रेष्टुराँ भन्दा पनि हुन्छ, क्याफे दि डटलाई । तर, सेवाका हिसावले यो रेष्टुराँ  अब्बल दर्जाको देखिन्छ । क्याफे दि डट लामो समय होटल क्षेत्रमै काम गरेका राममणी सापकोटाले खोल्नुभएको हो, आजभन्दा करिव अढाई वर्षअघि अर्थात सन् २०१३ मा । 
    बाहिरबाट सर्सती हेर्र्नेले रेष्टुराँको बारेमा लख काटन पनि सक्छन– क्याफे दि डट पनि अन्य रेष्टुराँ जस्तै होला ! पहिलो तल्लामा तुलनात्मक रुपमा सानो क्षेत्रफलमा अवस्थित यो रेष्टुराँ बाहिरबाट हेर्दा शका गर्ने ठाउँ भए पनि भित्र त्यस्तो छैन् । आरामदायी बसाइँ, गुणस्तरिय सेवासहितका फरक विशेषता लोभलाग्दो गरी आकर्षक छ । 
    क्याफे खासगरी कफी आईटमका लागि विशिष्ट छ । यद्यपी, कफीबाहेकका अन्य खाद्य तथा पेय पदार्थहरु पनि उपलब्ध छन् । ‘हाम्रो विशेषता भनेको हाम्रा अतिथिहरुलाई गुणस्तरिय कफी सेवा प्रदान गर्नु हो ।’ कफी सेवा प्रदान गर्नैका लागि आफुले क्याफेको सचालन गरेको बताउँदै सापकोटा भन्नुहुन्छ, ‘हामी क्याफेमा विभिन्न घरेलु र अन्तर्राष्ट्रिय स्तरका गुणस्तरिय कफी सेवा  प्रदान गर्छौँ ।’ सापकोटाले भन्नुभए जस्तै क्याफेमा मिल्क कफी, ब्ल्याक कफी, क्यापचिनो, मेकियातो, क्याफे लाते, यस्प्रेसो, अमेरिकाने, कोल्ड कफी, अर्बल टी, आइस टी, पिच टीलगायत मिल्क सेक, लस्सीलगायतका डेरी  आईटमहरु पनि उपलब्ध छन् । 
    तथापी, रेष्टुराँमा विभिन्न खाद्य आईटमहरु पनि उपलब्ध छन् । यसमा ब्रेकफास्ट, लन्च, डिनर र स्न्याक्स पर्छन । ब्रकफास्ट अन्तर्गत अमेरिकन, बेकन, इङ्गिलस ब्रेकफास्ट, वर्गर, स्यान्डविच जस्ता परिकार ग्राककको ईच्छाअनुसार तयार गरिन्छ । त्यस्तै मम, चाउमिन, फ्राईड राई, सुप, सलाद, पिज्जा, स्ट्रगनफलगायतका स्न्याक्स परिकारका साथमा नेपाली खाना सेटको स्वाद पनि लिन सकिन्छ । यसबाहेक घरेलु तथा अन्तर्राष्ट्रिय ब्रान्डका ‘हार्ड ड्रिक्स’, कक्टेल, मक्टेलहरु रसस्वादन गर्न सकिन्छ । 
    क्याफेले स्वच्छ र गुणस्तरिय परिकारहरुका साथमा व्यवस्थित बसाइँको चाँजोपाँजोमा पनि उक्तिकै ध्यान दिएको देखिन्छ । जम्मा ३५ जनाको सिट क्षमता भएको क्याफेमा भित्री कोठा, बालकोनी र मिटिङ हल गरि तिन ‘सेक्सन’ छन्, जहाँ आफ्नो इच्छा र आवश्यकताअनुसार ग्राहकहरु बस्न सक्छन् । क्षेत्रफलको हिसावले सानो देखिए पनि उत्तम सजावटका कारण ‘चिट्टिक्क’ देखिन्छ । आरामदायी बसाइँका लागि सोफा सेट, फ्रि वाईफाई सुविधा, ठूलो प्लाज्मा टिभीलगायतका सुविधा र उत्तम सर्भिसले थप आकर्षण थपेका छन्, क्याफेमा ।  
    अहिले राजधानीमा पार्किङको समस्या अधिकाशको टाउको दुखाईको विषय बनेको छ । यसबाट सबैभन्दा बढी मारमा यहि होटल÷रेष्टुराँ परेका छन् । ठमेल यसबाट अछुतो रहने कुरै रहेन । तर, माई क्याफे डट यो समस्याबाट पूर्णत मुक्त छ किनकी यहाँ पर्याप्त र व्यवस्थित पार्किङको व्यवस्था छ । 
    हाल विहान १० बजेदेखि बेलुकी १० बजेसम्म नियमित सञ्चालनमा आइरहेको छ,  क्याफेमा दक्ष र अनुभवी कर्मचारीहरुले गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेका छन् । नियमित ३० देखि ४० हजारको हाराहारीमा ‘सेल्स’ गर्दै आएको क्याफे बैशाखमा गएको विनासकारी भूकम्पपछाडी अन्य क्याफेझै नराम्रोसँग प्रभावित भएको सञ्चालक सापकोटा बताउनु हुन्छ । ‘हुनत यो अफसिजन हो’ सापकोटा भन्नुहुन्छ, ‘तैपनि पोहोर/परारका तुलनामा सेल्स निकै खस्केको छ, हामी केवल सर्भाईभको स्थितिमा छौँ ।’ तथापी सापकोटा सन्तुष्ट नै हुनुहुन्छ । ‘असन्तुष्ट हुनुपर्ने कारण नै छैनन्, निजी÷व्यवसायीक जिवनमा यस्ता उतारचढाव त आइ नै हाल्छन नी !’ उहाँ भन्नुहुन्छ । 
    
व्यवसायीक जीवनमा सापकोटाको यात्रा  
    आजभन्दा ३८ वर्षअगाडी काभ्रेको महादेवस्थानमा निम्नवर्गिय किसान परिवारमा जन्मिनुभएको हो, राममणी सापकोटा । स्थानिय विद्यालयबाटै विद्यालयीय तहको अध्ययनपश्चात उहाँ राजधानी  कागठमाडौँ छिर्नुभएको थियो । राजधानीमा रहँदा रोजगारीको शिलशिलामा अध्ययनको क्रमलाई उहाँले सँगै लग्नुभयो । चावहिलको एक क्याम्पसमा पढदै गर्दा उहाँले एक होटलमा काम थाल्नुभयो, फ्रन्टअफिसरको रुपमा । फ्रन्ट अफिसरको रुपमा चार वर्ष काम गरेपछि उहाँले दुई वर्ष असिस्टेन्ट म्यानेजर भएर काम गर्नुभयो । त्यसपछि अर्को कम्पनीमा गई चार वर्ष म्यानेजरको रुपमा काम गर्नुभयो । 
    दश वर्षसम्म होटल क्षेत्रमा काम गरिसकेपछि आफ्नै पहलमा उहाँले २००४ सालमा हिमालयन रक ट्रेक्स एण्ड एक्स्पेडीसन नामको एक ट्रेकिङ कम्पनीको स्थापना गर्नुभयो ठमेलमा । ‘स्थानियहरुलाई रोजगारी सृजना गर्नेसँगै मुलुकको पर्यटन प्रवद्र्धनको साथमा आफैँ पनि स्वरोजगार बनौँ भन्ने उद्देश्यले यो कम्पनी स्थापना गरेको थिएँ ।’ कम्पनी खोल्नुको निहितार्थ खोल्दै सापकोटा भन्नुहुन्छ । एक्स्पेडीसनले पर्यटनअन्तर्गतका सास्कृतिक पर्यटन, शाहसिक पर्यटन, धार्मिक, वाइल्डलाईफ पर्यटनलगायतका पर्यटन गतिविधि गर्ने गर्दछ । एडभेन्चर खासगरी भुटान टुरका लागि प्रख्यात छ । सुरुवाती समयमा राजनीतिक कारणले कम्पनी चलाउन निकै गाह्रोको अवस्था भए पनि सोपछाडी उहाँले कम्पनीलाई राम्रैसँग व्यवस्थापन गर्दै आउनु भएको छ । उसो त गतवर्षमात्रै उहाँले चितवनको मेघौलीमा ‘मेघौली वाईल्डलाईफ रिसोर्ट’ सञ्चालनमा ल्याउनु भएको छ । यसबाहेक सुविधासम्पन्न एक पर्यटक होटलको निर्माण कार्य चल्दैछ, उहाँको लगानीमा । 
    विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनु भएका राममणी सापकोटा अहिले यो क्षेत्रमा राम्रैसँग जम्नु भएको छ । उहाँलाई पर्यटन क्षेत्र एकदमै मन परेको क्षेत्र हो । नेपालको सन्दर्भमा सबैभन्दा बढी सम्भावना भएको र विभिन्न देशी÷विदेशीहरुसँग घुलमिल हुन पनि पाईने भएबाट पनि उहाँ यस क्षेत्रमा लागेर पूर्ण सन्तुष्ट हुनुहुन्छ । 
    धैर्य मानिसमा नभई नहुने महत्वपूर्ण गुण हो । हामीले आफुलाई समयानुकुल पर्खन सकेनौँ भने परिणाम हाम्रो हात नलाग्न पनि सक्छ । तर, राममणी सापकोटाले सधैँ आफुलाई धैर्यवान राखिरहे । ‘हतार गरे भन्न सकिन्न ढिला भए अवश्य पुगिन्छ’ चलनचल्ती नेपाली आहान सम्झिन्छन, उनी । यहि सहनशिलता र धैर्यवान स्वभावले उनलाई सफलता दिलाएको छ । 
    

 

तपाईंको बिचार