Saturday, March 25, 2017  |    

नाम जस्तै काम अर्थात् प्रतिष्ठा

प्रकाशित मिति: 2015/08/28
प्रतिष्ठा अमात्य (विष्ट)
प्रतिष्ठा अमात्य (विष्ट)

प्रतिष्ठा अमात्य (विष्ट) नामै जस्तै उँचो प्रतिष्ठा कायम गर्न सफल हुनुहुन्छ । प्रतिष्ठा संसारमै कुनै अद्धितीय क्षमता भएकालाई प्रदान गरिने ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल एक नेपाली नारी हुनुहुन्छ । बौद्धिक विधाअन्तर्गत अदभुत स्मरण क्षमता प्रदर्शन गरेर उहाँले सन् २००४ मार्च २५ मा गिनिज वल्र्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त गर्नुभएको छ । छ्यासमिस विभिन्न ७५ वटा बस्तुहरु एकैपटकमा सम्झेर तत्कालै दोहोर्‍याई उहाँले विश्व रेकर्ड कायम गर्नुभएको थियो । बेलायती नागरिक जस्टिन हार्डलेले कायम गरेको अद्धितिय मष्तिस्क क्षमतालाई उछिनेर सो रेकर्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो । विगत झण्डै डेढ दशकयता उहाँ होटल व्यवसायमा आवद्ध हुनुहुन्छ । 
सन् १९७७ सालमा चितवनमा जन्मिनु भएको हो, प्रतिष्ठा । उहाँ एउटा सुसिक्षित मध्यमबर्गीय पारिवारिक पृष्ठभूमिमा र सामान्य सामाजिक परिवेशमा जन्मिनु भएको थियो । अध्ययनस्तरमा उहाँको स्थान सामान्य नै थियो । रामपुर कृषि क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहँदासम्म पनि उहाँ सामान्य शैक्षिक स्तर कायम गर्ने छात्राको रुपमा गनिन्थिन् । तर, सो क्याम्पसमै अध्ययन गरिरहँदाको बखत एक टेलिभिजन कार्यक्रम हेरेपछि उहाँको जिन्दगीका गोरेटो नै फेरियो ।  कुनै अन्तर्राष्ट्रिय एक टेलिभिजन च्यानल एक्स एनको उक्त कार्यक्रम विश्व रेकर्ड कायम गर्ने सम्बन्धि थियो । कार्यक्रम हेरिसकेपछि उहाँलाई लाग्यो –मेरो पनि स्मरण शक्ति उच्च छ, म पनि विश्व रेकर्ड कायम गर्न सक्छु । प्रतिष्ठा भन्नुहुन्छ, ‘यहि कार्यक्रम हेरेर म निकै उत्साहित भएको थिएँ ।’  
यसभन्दा अघि आफ्नो असाधारण क्षमता प्रतिष्ठा स्वयंलाई पनि थाहा थिएन ।  ‘स्कुल, क्याम्पसमा अध्ययन गर्दाका समय अरु साथीहरुको तुलनामा मेरो स्मरण क्षमता उच्च छ भन्ने त लाग्थ्यो’ भन्नुहुन्छ, ‘किनकी म सामान्य मानिसहरुको तुलनामा कुनै पनि कुराहरु धेरै सम्झिने क्षमता राख्थेँ ।’ उहाँ कैयाँै शब्दहरुलाई एकैपटक ‘क्याच’ गर्नुहुन्थ्यो । पहिले त उहाँलाई लाग्थ्यो –सबैमा यस्तै हुन्छ होला ! तर, सो कार्यक्रम नै उनलाई यस्तो ‘कोसेढुंगा’ बन्यो जसको लगत्तै कसरी विश्व रेकर्ड कायम गर्न सकिन्छ, भन्नेतिर सोधखोज गर्न थाल्नुभयो । कम्प्युटरमा यससम्बन्धि सामग्रीहरका बारेमा खोज्न थाल्नुभयो । ‘म सन् २००२ देखि नै विश्व रेकर्ड कायम गर्ने चक्करमा लागेँ ।’ उहाँ भन्नुहुन्छ । यसैविचमा सन् २००३ मा उहाँको विवाह भयो । त्यसपछी श्रीमानकोसमेत सहयोगमा यस कार्यमा उहाँ दत्तचित्त भएर लाग्नुभयो । यसपछि प्रतिष्ठा आफ्नो स्मरण क्षमता प्रदर्शनका लागि विभिन्न कार्यक्रममा सहभागी बन्न थाल्नुभयो । सन् २००४मा रोयल नेपाल एकेडेमी हलमा एकेडेमीका उपकुलपति मोहन कोइराला र नोबेल एकेडेमीका डा.जयराज आर्चायको पहलमा उहाँले आफ्नो अद्धितिय क्षमता प्रदर्शन गर्ने अवसर पाउनुभयो । यसकै आधारमा उहाँले कागजात तयार गरेर विश्व रेकर्डका लागि प्रकृया सुरु गर्न थाल्नुभयो । 
तर, विश्व रेकर्ड कायम गर्न कहाँ सजिलो हुन्थ्यो र ! आफु सक्षम भएर पनि त्यसको पुष्टि गर्नका लागि निकै हम्मे पर्‍यो उहाँलाई । खासगरी प्रक्रियागत हिसावमा उहाँले धेरै कठिनाई भोग्नुपर्‍यो । तर, उहाँको दृढसंकल्प थियो – म जसरी पनि रेकर्ड कायम गरीछाड्छु । तसर्थ अनेक बाधाअड्चन खेपेर रेकर्ड राख्न दौडधुप गर्नुभयो । यसक्रममा सरकारबाट कुनै पनि सहयोग प्राप्त नहुँदा उहाँलाई दावी गर्न निकै अप्ठ्यारो परेको थियो । आवश्यक सबै कुराहरुको ‘डिटेल’ सम्बन्धित केन्द्रमा पठाउँदा पनि उहाँलाई सरकारको सहयोग नपाउँदा धेरै गाह्रो भएको थियो । यसपछि उहाँ आफैँले दूतावासमा पत्र पठाउनुभयो । गिनिज वल्र्ड रेकर्ड केन्द्रबाट आधिकारीक प्रमाणपत्र पाउन निकै समय र मेहेनत खर्चिनुपरेको अमात्यको अनुभव छ । लामो प्रतिक्षापछि अन्ततः सन् २००४ मै अमात्यले आधिकारीक पत्र प्राप्त गर्नुभयो ।  रेकर्ड कायम गर्नका लागि व्यक्तिगत मेहेनतका अतिरिक्त पारिवारीक अनि मोहन कोईराला र जयराज आर्चायको सहयोगप्रति उहाँ अनुग्रिहित हुनुहुन्छ । 
आफुले रेकर्ड कायम गरेपश्चात पनि सरकारले आफुलाई उचित सम्मान नगरेको गुनासो छ । बौद्धिक वृतमा विश्व रेकर्ड कायम गर्ने नेपाली आफु नै रहेको उहाँको दावी छ । ‘नेपालबाटै विश्व रेकर्ड कायम गर्ने म पहिलो नागरिक हो, यसमा पनि बौद्धिक जस्तो जटिल विधामा मैले रेकर्ड कायम गरेको छु’ यहाँ भन्नुहुन्छ, ‘रेकर्ड कायम गर्नु अघि त सरकारले सहयोग गरेन नै रेकर्ड आएपश्चात पनि सरकारले मलाई उचित सम्मान दिएको छैन् ।’ प्रतिष्ठामा बौद्धिक क्षमता धेरै क्षेत्रमा रहेको उहाँका प्रतिभाहरुलाई हेर्दा पनि थाहा हुन्छ । उहाँ संगित, खेललगायतका विधामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । 
विश्व रेकर्ड कायम गरेपश्चात विकसित मुलुकमा बस्ने थुप्रै अवसरहरु भए पनि प्रतिष्ठा नेपालमै व्यवसाय गर्दै आउनु भएको छ । ‘मलाई युरोप, अमेरिका बस्नका लागि अहिले पनि केही समस्या छैन’ उहाँ भन्नुहुन्छ, ‘तर, मलाई नेपाल नै प्यारो लाग्छ ।’ कुनै मुलुक गएर दास्रो दर्जाको नागरिक बन्न भन्दा ससम्मान नेपालमै बस्न उहाँलाई प्रितिकर लाग्छ । ‘म नेपालमै बसेर देशका लागि योगदान गर्न चाहन्छु ।’ 
हाल उहाँ आफ्ना पति संघर्ष विष्टका साथमा होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । ठमेल, लाजिम्पाट, दरबारमार्गलगायतका क्षेत्रमा विष्ट दम्पतीले होटल तथा रेष्टुराँ  सञ्चालन गर्दै आइरहेको छ । जसमा झण्डै दुई सयको हाराहारीमा कर्मचारी आवद्ध रहेका छन् । 
आफु पर्यटनमा आवद्ध रही व्यवसाय गर्दै आउनुभएकी प्रतिष्ठा पर्यटन विकास अपेक्षा र सम्भावनाको अनुपातमा अत्यन्तै कम रहेको धारणा राख्नुहुन्छ । ‘नेपाल सुन्दर पर्यटकीय मुलुक भएर पनि यहाँ अत्यन्तै कम मात्रामा पर्यटक आउँछन् ।’ यसलाई प्रवद्र्धन गर्न सके नेपालको विकास र समृद्धि टाढा छैन’ यसका लागि सरकारले कहिल्यै पनि ध्यान दिन नसकेको उहाँको तर्क छ ।  
गत बैशाखमा गएको विनासकारी भूकम्पका कारण आंशिक क्षति भए पनि प्रचारित जति नभएको उहाँको भनाइ छ । आवश्कता भन्दा बढी मात्रामा प्रचार गरिएको उहाँ बताउनु हुन्छ । फरक पारिवारीक पृष्ठभूमि र क्षमता भएर पनि उहाँ पर्यटन क्षेत्रमा रहेर मुलकको हितका लागि तत्पर हुनुहुन्छ । 

 

तपाईंको बिचार