Friday, September 22, 2017

ओली प्रधानमन्त्रीमा पक्का

प्रकाशित मिति: 2015/10/10

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने पक्का भएको छ । व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । ओलीका लाग प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने निश्चित भएको छ ।
यद्यपी, ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एमालेको एक सय ८३, एमाओवादीको ८३ र राप्रपा नेपालको २५ सभासद छन् । तीन दलको कुल मत दुइ सय ९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ । जसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देखिएको छ ।
संसद सचिवालयमा उम्मद्वारी दर्ता गर्दा ओलीको समर्थनमा एक स्वतन्त्रसहित १२ दलका नेताले हस्ताक्षर गरेर सहमति जनाएका छन् ।
ओलीलाई समर्थन जनाउनेहरुमा एमाओवादी र राप्रपा नेपालसहित नेकपा माले, राप्रपा, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टी, मधेस समता पार्टी, नेपा पार्टी, बहुजन समाज पार्टी लगायत रहेका छन् ।
अध्यक्ष केपी ओलीले शनिबार नै उम्मेदवारी दर्ता गरिसकेका छन् ।

 

तपाईंको बिचार