Thursday, November 21, 2019

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति: 2019/11/01

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उहाँलाई ग्राण्डी अस्पतालबाट बिहीबार डिस्चार्ज गरिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री ओलीलाई बुधबार र बिहीबार गरी दुई पटक डायलाइसिस गरिएको थियो । 

प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेर पिसाबमा समस्या देखिन थालेपछि डायलासिस गरिएको अस्पतालले जनाएको थियो ।

बुधबार डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो तर साँझ भने उहाँलाई क्याबिनमा सारिएको थियो। शरीरमा चाहिने आवश्यक भन्दा बढी पानी मृगौलाले छानेर पिसाबमार्फत बाहिर पठाउनपर्नेमा प्रधानमन्त्रीको मृगौंलाले काम गर्न छाडेपछि उहाँको शरीरमा पानीको मात्रा धेरै देखिएको थियो जसले अचानक श्वासप्रश्वासमा कठिनाइ भएको थियो । रगतमा रहेको हानिकारक तत्व कम गराउन दोस्रो डायलाइसिस गरेको अस्पताले जनाएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि फेरिएको मिर्गौलाको काम गर्ने क्षमता घट्दै गएको कारण नै यस बर्ष उहाँ धेरै पटक अस्पताल नै भर्ना हुनेगरी बिरामी पर्नुभएको हो । प्रत्यारोपण गरेको मृगौला मै समस्या देखिएपछि दुई महिना अघि मात्र प्रधानमन्त्री ओलीले सिंगापुरबाट ‘प्लाज्माफेरेसिस’गरेर फर्किनुभएको थियो ।प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाईंको बिचार