Saturday, August 19, 2017  |    

नेपालले मागे जति तेल दिने चीनको आश्वासन

प्रकाशित मिति: 2015/10/16

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
उत्तरी छिमेकी चीनले नेपालले मागे जति इन्धनलगायतका आपूर्ति गर्न तयार रहेको बताएको छ । विगत केही सातादेखि भारतले नेपाली सिमामा लगाएको अघोषित् नाकाबन्दीका कारण इन्धन अभावले जनजिवन प्रभावित भईरहेको सन्दर्भमा चीनको यस्तो आश्वासन आएको छ । 
बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नेपाललाई इन्धनलगायतका सामग्री आपूर्तिमा चीनले सहयोग गर्ने बताएकी हुन् । 
सिमामा इन्धन आपूर्ति रोकेपछि नेपालले औपचारिक आग्रह गरे पेट्रोलियम पदार्थ दिन तयार रहेको जानकारी चीनले दिएको थियो । तर एक महिना बित्न लाग्दा पनि सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको लागि चीनलाई सामान्य पत्र समेत पठाउन सकेको छैन् । 
अघिल्लो सरकारले भारतले पेट्रोलियम पदार्थ कटौती हुनेबितिकै वैकल्पिक व्यवस्था गरेर भए पनि आपूर्ति सहज बनाउने निर्णय गरेको थियो । यो निर्णयसँगै वाणिज्य मन्त्रालयले नेपाल आयल निगमलाई अल्पकालीन र दीर्घकालीन योजना बनाउन निर्देशन दिएको थियो । 
यो निर्णय अनुसार अल्पकालीन रुपमा एयरलिफ्टमार्फत पेट्रोलियम पदार्थ ल्याउने र दीर्घकालिन रुपमा चीनबाट तेल ल्याउने प्रस्ताव वाणिज्य मन्त्रालयलाई निगमले पठाइसकेको छ । तर वाणिज्य मन्त्रालयमा  निगमले पठाएको प्रस्ताव अनिर्णयको बन्दी बनेर अलपत्र परेको छ । 

यद्यपी कतिपयले सरकार आफैँ चीनबाट तेल ल्याउने बारेमा सकारात्मक नदेखिएको बताउँछन् । 
चीनबाट तेल ल्याउने निर्णय अघि बढाउँदा दक्षिण रिसाउने डरले कुनैपनि सचिवहरुले यो निर्णयलाई अघि बढाउन नचाहेका पनि अर्काथरीको विश्लेषण छ । चीनबाट तेल ल्याउँदा महँगो पर्ने र ल्याउन कठिनाई हुने भन्दै उनीहरु पन्छिरहेका छन् । 
नेपाल आयल निगमका अधिकारीहरु नयाँ सरकार आएपछि चीनको विकल्प सोच्ने अपेक्षा गरेका थिए तर नयाँ सरकारले पनि भारततर्फ बढी झुकाव राख्दै उत्तरी नाकालाई महत्व कम दिएपछि निगमका अधिकारीहरु निराश छन् । 
स्रोतका अनुसार चीनबाट तेल ल्याउने बारेमा वाणिज्य मन्त्रालय नै इच्छुक छैन । वाणिज्य मन्त्रालयको सक्रियता नभएकोले प्रक्रिया अघि नबढेको ती अधिकारीले बताए ।

तपाईंको बिचार