Thursday, October 19, 2017

बैद्य माओवादीद्वारा भारतीय नाकाबन्दीविरुद्व आन्दोलनको घोषणा

प्रकाशित मिति: 2015/11/18

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नाकाबन्दीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । माओवादीको केन्द्रीय सचिवालयको बैठकले अघोषित नाकाबन्दीका साथै इन्धनको अभाव, कालाबजारीदेखि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासम्बन्धी समस्यालाई लिएर आन्दोलन गर्ने निर्णय गरेको हो ।
आन्दोलनको पहिलो चरण अन्तर्गत माओवादीले आगामी ७ गते दिउँसो भारतीय दूतावासमा ज्ञापनपत्र दिने र १ बजेदेखि ३ बजेसम्म दुई घण्टा धर्ना, ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने, सिंहदरबार अगाडि १ बजेदेखि ३ बजेसम्म दुईघण्टा धर्ना दिने र ११ गते देशका प्रमुख सहर तथा विभिन्न भागहरूमा विरोध प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरु छन् । 
पहिलो चरणको कार्यक्रम सकिएपछि संघर्षका अन्य कार्यक्रमहरूको घोषणा गर्ने बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।
बैद्य माओवादीले सच्चा देशभक्त, जनवादी र वामपन्थी शक्तिहरूलाई संयुक्त सङ्घर्षका लागि आहृवान समेत गरेको छ । साथै माओवादी शक्तिहरूका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन आवश्यक पहल गर्ने निर्णय भएको बैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईंको बिचार