Thursday, October 19, 2017

प्याकेजमा समस्याको समाधानका लागि कांग्रेसलाई संघिय समावेशी मधेशी गठबन्धनको आग्रह

प्रकाशित मिति: 2015/12/01

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
संघीय समावेशी मधेसी गठबन्धनले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक अपूर्ण रहेको भन्दै प्याकेजमा समस्याको समाधान खोज्नका लागि पहल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आग्रह गरेको छ ।
चार दलीय गठबन्धनका नेताले मंगलबार विहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उनकै निवासमा भेटेर विधेयकमा छलफलका लागि अड्डी लिनुभन्दा प्याकेजमा समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरेका हुन् ।
कांग्रेसको भोट बैंक मधेस भएकाले मधेसका समस्या सम्बोधनका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्ने र मधेस आन्दोलनबारे प्रमुख तीन दलले समान धारणा बनाउनुपर्ने सुझाव आफूहरुले दिएको गठबन्धनका नेता जयप्रकाशप्रसाद गुप्ताले जानकारी दिए ।
कांग्रेस सभापति कोइरालालाई बुझाइएको ९ बुँदे माग पत्रमा तराईमधेसमा दुई प्रदेश हुनुपर्ने, समानुपातिकरसमावेशी प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको सीमांकन हेरफेरको विषयमा एकैपटक समाधान खोजिनु बुद्धिमानी हुने उल्लेख छ । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले तयार पारेको विधेयक पारित गरेको भरमा मधेस आन्दोलन नरोकिने स्पष्ट पारिएको छ ।
गठबन्धनका नेताहरुले मधेसवादी दल, थारु समुदाय र आदिवासी जनजातिका मागलाई एकै ठाउँमा राखी गम्भिररुपमा अध्ययन गरेर मात्र वार्तामा बस्न पनि सुझाव दिएका छन् ।

 

तपाईंको बिचार