Friday, July 28, 2017  |    

चार विमान ल्याउने सरकारको अन्तिम तयारी

प्रकाशित मिति: 2016/01/21

काठमाडौं । सिन्ह्वा न्यूज एजेन्सी काठमाडौँ ब्युरोले प्रकाशन गर्दै आएको एसिया प्यासिफिक डेलीले बुधबार ‘उड्डयन क्षेत्रमा चीन र नेपालको सहकार्य चुनौति र अवसरहरु’ बिषयक सेमिनार आयोजना गर्‍यो । नेपाल र चीनबीच पर्यटन तथा उड्डयन क्षेत्रमा सहकार्य अझ मजबुत बनाउने उद्देश्यले उक्त सेमिनार आयोजना गरिएको थियो । सेमिनारका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोख्रेल रहेका थिए । मन्त्री पोख्रेलले विगतमा भएको सम्झौता अनुसार चीनबाट चारवटा नयाँ विमान भित्र्याउन सरकारले अन्तिम तयारी गरिरहेको बताए ।

‘चीन सरकारसंग तीनबर्ष अघि भएको सम्झौता अनुसार एक्जिम बैंकलाई आबश्यक रकम समेत दिइसकिएको छ । चारवटा विमानहरु चीनमा तयारी अवस्थामा छन् । अब हामीसंग ती विमानहरु ल्याउनु बाहेक अर्को विकल्प छैन’ मन्त्री पोखरेलले भने ।

मन्त्री पोख्रेलले चीनले दुई बर्ष अघि नेपाललाई दुईवटा विमानहरु एमए—६०० र वाई—१२० अनुदास्वरुप उपलब्ध गराइसकेको उल्लेख गर्दै सहुलियतपूर्ण ऋणमा नया चारवटा विमान ल्याउने प्रक्रिया अघि बढिसकेको उल्लेख गरे ।

पोख्रेलले सरकारले चीनबाट पर्याप्त मात्रामा पर्यटकहरु भित्र्याउने लक्ष्य लिएको बताए । ‘चीन हाम्रो अत्यन्तै निकट छिमेकी हो । चीन र हाम्रो बीचमा सुमधुर र मजबुत द्विपक्षिय संबन्ध छ । यो संबन्ध निर्विवाद पूर्ण रहेको छ । आगामी दिनमा पर्यटन क्षेत्रमा दुई देशबीच महत्वपूर्ण सहकार्य हुनेछ पोख्रेलले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अलावा निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम जारी रहेको पोख्रेलको भनाई थियो । छिमेकी चीनको ऋण सहयोगमा पोखरामा क्षेत्रीय विमानस्थलको उद्घाटन यहि माघ महिना भित्र गर्नसकिने बिषयमा कुराकानी भइरहेको बताए । ‘चीनको सहयोगमा विस्तार हुन लागेको गौतमबुद्द विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्ने काम भइरहेको छ उनले भने । मन्त्री पोख्रेलले सरकारले १८ वटा घरेलु विमानस्थललाई आगामी बैशाखसम्म पूर्ण रुपमा सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताए ।

कार्यक्रममा नेपालका लागि चिनियां राजदूत ऊ चुन्ताईले भूकम्प पछिको राहत तथा उद्वारका बेला तथा इन्धन संकटका बेला नेपाललाई चीनले सहयोग गरेको बताए । चीनले आफ्नो बिदेश नीतिमा छिमेक नीतिलाई प्राथमिकतामा राखेको राजदूत नेपालले चाहे अनुशार विकास प्रक्रियामा सहयोग उपलब्ध गराउन चीन तयार रहेको उनले बताए । उनले वन बेल्ट वन रोड नीति मार्फत् चीनले एसिया र अन्य क्षेत्रको आर्थिक विकासका लागि काम गरिरहेको बताए ।

त्यस्तै चीनको मुख्य लगानीमा स्थापित एसियाली पूर्वाधार लगानी बैंकमा नेपाल संस्थापक सदस्य तथा उक्त बैंकको सञ्चालक समितिमा समेत निर्वाचित भएको राजदूतले उल्लेख गरे ।

नेपाल पर्यटन नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव गौतमले चिनियां नागरिक उड्डयन निकायसंग क्यानले चिनियां विमानहरु सहज रुपमा सञ्चालन गर्न नियमित रुपमा सहकार्य र परामर्श गरिरहेको बताए ।

नेपाल वायुसेवा निगम (एनएसी) का म्यानेजिङ् डाइरेक्टर सुगत रत्न कंसाकारले एनएसिले पर्यटन मन्त्रालयले चिनियां विमान आयात गर्ने संबन्धमा दिएको प्रतिवेदन अनुशार बांकी चार वटा विमानहरु ल्याउने बिषयमा निर्णय हुने बताए । ‘विमानहरुको संख्या थोरै हुनु हाम्रो अहिलेको समस्या हो । वायु सेवा निगमको ब्यबस्थापनमा कुनै समस्या होइन’ उनले भने ‘चीनबाट नयां विमानहरु ल्याउन लागिएको छ । यसले पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोग हुनेछ ।’
कंसाकारले वायु सेवा निगमले चीनका मुख्य सहरहरु ग्वान्जाओ, सांघाई र कुन्मिङ्मा सिधा उडान गर्ने सोच बनाएको बताए ।

एयरलाइन एसोसिएसन अपरेटर्श अफ नेपालका अध्यक्ष रामेश्वर थापाले चीन र नेपालबीचको कुटनीतिक संबन्ध मजबुत रहेको बताए । उनले चिनियां लगानी नेपालको उड्डयन क्षेत्रमा तालिम तथा लजिस्टिक्स र नयां घरेलु तथा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि महत्वपूर्ण हुने धारणा राखे ।

चीनियां सरकारी संस्था एभिक इन्टरनेशनलका उपाध्यक्ष सु बो ले एभिक इन्टरनेशनलले नेपाल वायु सेवा निगमलाई प्राबिधिक सहयोग गरिरहेको बताए ।

सो अवसरमा क्यानका पूर्व महानिर्देशक हरि भक्त श्रेष्ठले नेपालको उड्डयन क्षेत्रमा बिदेशी लगानीका बिषयमा जानकारी गराए । त्यस्तै पाटाका अध्यक्ष सुमन पान्डेले चिनियां पर्यटकहरुको बृद्दिले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए । एसिया प्यासिफिक डेलिका उपाध्यक्ष लिउ जियानले एसिया प्यासिफीक डेलिका बिषयमा जानकारी गराए ।

काठमाडौस्थित सिन्ह्वा न्यूज एजेन्सिका ब्युरो प्रमुख चौ सेनपिङ्ले नेपाल र चीनबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको बताए ।

तपाईंको बिचार