Saturday, September 23, 2017

बाबुरामको नयाँ शक्तिमा नायिका देखि पूर्व सचिव सम्म

प्रकाशित मिति: 2016/01/24

माघ १०, काठमाडौं । नयाँ शक्ति अभियानले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा पैंतीस सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी चार महिना अघि एकीकृत नेकपा माओवादी त्यागेका भट्टराईले पहिलो सांगठनिक संरचना अन्तर्गत पैंतीस सदस्यीय केन्द्रीय परिषद् घोषणा गरेका हुन् । पैंतीस जनाबाट सुरु गरिएको परिषद्लाई २ सय ६५ सदस्यीय बनाइने बताइएको   छ । पत्रकार सम्मेलनमा परिषद् सदस्य भनिएका पैंतीस जनाकै उपस्थिति भने  थिएन । कार्यक्रममा ंसंयोजक भट्टराईले बैकल्पिक राजनीतिक शक्ति बनाउने अभियानले सार्थक आकार ग्रहण गर्दै गएको बताएका थिए ।

परिषद् सदस्यमा पूर्वअर्थसचिव रामेश्वर खनाल, नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल, निर्देशक अशोक शर्मा, राजनीतिक विश्लेषक मुमाराम खनाल, नेपाल प्रहरीका पूर्वएआईजी गणेश राई, सशस्त्र प्रहरीका पूर्व एआइजीद्वय ऋषवदेव भट्टराई र नारायण पाण्डेलगायत छन् । पत्रकार सम्मेलनमा चैतन्य सुब्बा नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी नयाँ शक्ति अभियानमा गाँभिएको घोषणा पनि गरिएको थियो । नयाँ शक्तिको केन्द्रीय परिषद्मा सामाजिक लोकतान्त्रिक पार्टीका चैतन्य सुब्बा, पासाङ शेर्पा, दलमर्दन कामी, विसन राईलगायत परेका छन् । नेपाः पार्टीका केशवमान शाक्य पनि परिषद् सदस्य छन् । उद्योगपति विनोद चौधरीसमेत नयाँ शक्ति अभियानमा लाग्ने चर्चा चलाइएका बेला पत्रकार सम्मेलनमै उपस्थित भएर उनले नयाँ शक्तिमा नलागेको तर, विकासको राजनीतिलाई संधै साथ दिने बताएका थिए ।

 

तपाईंको बिचार